गल्छीमा भलिबलको रोमाञ्चक भिडन्त: पुरुषतर्फ वडा नं. ६ र महिलातर्फ वडा नं. ३ च्याम्पियन

67 पटक पढिएको

२१ कार्तिक २०८३, शुक्रबार २१:५२ सम्पादक: धादिङ न्यूज

गल्छी, धादिङ-“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ गल्छी गाउँपालिकाको आयोजनामा सञ्चालित वडास्तरीय खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता–२०८३ सम्पन्न भएको छ। गल्छी-६ बैरेनी बजारमा कात्तिक १८ गतेदेखि सुरु भएको उक्त प्रतियोगिता कात्तिक २० गते शुक्रबार भव्य रूपमा सम्पन्न भएको हो।

प्रतियोगितामा पुरुषतर्फ ८ वटा र महिलातर्फ ६ वटा टोलीबीच कडा प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा पुरुषतर्फ ९३ जना र महिलातर्फ ६७ जना गरी कुल १६० जना खेलाडीहरू मैदानमा उत्रिएका थिए। प्रतियोगिताको तेस्रो तथा अन्तिम दिन सम्पन्न रोमाञ्चक प्रतिस्पर्धामा पुरुषतर्फ वडा नं. ४ लाई पराजित गर्दै वडा नं. ६ ले उपाधि हात पारेको छ। त्यसैगरी, प्रतियोगिता अन्तर्गत महिलातर्फको प्रतिस्पर्धामा वडा नं. ३ विजयी हुन सफल भएको छ भने पुरुषतर्फ वडा नं. २ तृतीय स्थान हासिल गर्न सफल भएको छ।

स्थानीय स्तरमा खेलकुदप्रतिको उत्साह र प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजित यस प्रतियोगितामा गाउँपालिकाका विभिन्न वडाबाट खेल टोलीहरूको सहभागिता रहेको थियो। स्थानीय युवा तथा खेलप्रेमीहरूको बाक्लो उपस्थितिमा सम्पन्न प्रतियोगिताले आपसी सद्भाव र खेल भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले नगद ५० हजार रुपियाँ, द्वितीय हुने टोलीले नगद २५ हजार रुपियाँ र तृतीय हुने टोलीले नगद १५ हजार रुपियाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए। विजयी तथा उपविजेता टिमहरूलाई पुरस्कार वितरण गरिएको थियो।

गल्छी गाउँपालिकाका अध्यक्ष केदार खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न समापन समारोहमा गाउँपालिका उपाध्यक्ष भाइकाजी तिवारी, प्रमुख प्रशासकीय अधिकृत पूर्ण प्रसाद दुलाल, विभिन्न वडाका वडा अध्यक्षहरू लगायत स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा खेलप्रेमीहरूको विशेष आतिथ्य रहेको थियो।