एनपीएलमा आज दुई रोमाञ्चक भिडन्त : कर्णाली र सुदूरपश्चिम तथा चितवन र पोखरा आमनेसामने हुँदै

58 पटक पढिएको

२१ कार्तिक २०८३, शुक्रबार ०७:५२ सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शुक्रबार दुई महत्वपूर्ण तथा रोमाञ्चक खेलहरू हुँदैछन्। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा सञ्चालन भइरहेको प्रतियोगितामा आज पहिलो र दोस्रो चरणका खेलहरूमा चार टोलीहरू आमनेसामने हुन लागेका हुन्।
आज अपराहन्न साढे १२ बजेदेखि शुरू हुने पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्। जारी प्रतियोगितामा कर्णाली याक्सले ३ खेलमध्ये २ खेलमा जित र १ खेलमा हार व्यहोर्दै ४ अंकका साथ तालिकाको तेस्रो स्थानमा आफूलाई उभ्याएको छ। अर्कोतर्फ, सुदूरपश्चिम रोयल्सले ४ खेल खेल्दै २ जित र २ हारको नतिजासहित ४ अंक बटुलेर अंक तालिकाको पाँचौँ स्थानमा रहेको छ। दुवै टोली आजको खेल जित्दै तालिकाको माथिल्लो स्थानमा उक्लने लक्ष्यका साथ मैदान प्रवेश गर्दैछन्।
यसैगरी, आजै साँझ ५ बजेदेखि सञ्चालन हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स बिच प्रतिस्पर्धा हुनेछ। जारी प्रतियोगितामा चितवन राइनोजले खेलिएका ३ खेलमध्ये १ जित र १ हार व्यहोरेको छ भने १ खेल वर्षाका कारण रद्द भएको थियो। पोखरा एभेन्जर्सको लागि भने जारी प्रतियोगिता सुखद रहन सकेको छैन, जहाँ उसले खेलेका लगातार तीनवटै खेलमा हारको सामना गर्नुपरेको छ। Pokhara Avengers आजको खेल जित्दै प्रतियोगितामा पहिलो अंक जोड्ने दाउमा रहनेछ भने चितवन राइनोज जितको यात्रालाई निरन्तरता दिन चाहन्छ।