प्रयास नेपालको व्यवस्थापनमा १७३ विद्यार्थीलाई शैक्षिक सामग्री र बाढी प्रभावित परिवारलाई राहत वितरण
32 पटक पढिएको
धादिङ । सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनासहित प्रयास नेपाल धादिङको व्यवस्थापन तथा सहयोगी दाताहरूको सहकार्यमा धादिङका दुई विद्यालयका १ सय ७३ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। यसका साथै, भोटेकोशी बाढीबाट प्रभावित पाँच परिवारलाई समेत आवश्यक राहत सामग्री सहयोग गरिएको छ।
धादिङ जिल्लाको गजुरी गाउँपालिका–२ पुर्ख्यौली घर भई हाल आयरल्यान्ड निवासी टीका कँडेलका छोरा निर्माण कँडेलको नेतृत्वमा विभिन्न सहयोगी महानुभावहरूको आर्थिक तथा भौतिक सहयोगमा उक्त राहत सामग्री जुटाइएको हो। प्राप्त विवरण अनुसार सिद्धलेक गाउँपालिका–६ स्थित गोल्मारानी आधारभूत विद्यालयका ७८ जना र गजुरी गाउँपालिका–२ स्थित जनजागृति आधारभूत विद्यालयका ९५ जना गरी कुल १ सय ७३ जना विद्यार्थीहरूलाई कापी, कलमलगायतका आवश्यक शैक्षिक सामग्रीहरू हस्तान्तरण गरिएको छ। यस किसिमको सहयोगले बालबालिकाको पठनपाठनमा उत्साह थप्नुका साथै उनीहरूको शैक्षिक निरन्तरतामा समेत महत्त्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ।

यसैगरी, कार्यक्रम अन्तर्गत गजुरी गाउँपालिका–१ का भोटेकोशी बाढीबाट प्रभावित भएका पाँच वटा विपन्न परिवारलाई पनि दैनिक जीवनयापन तथा आवश्यक सामग्रीहरू सहयोग गरिएको प्रयास नेपालले जनाएको छ। विपद्का कारण असहज परिस्थित J झेलिरहेका परिवारहरूलाई राहत प्रदान गर्दै उनीहरूको जीवनशैली सहज बनाउन यो सहयोगले सानै भए पनि मद्दत पुग्ने अपेक्षा गरिएको छ।
शैक्षिक सामग्री तथा राहत वितरण कार्यक्रममा स्थानीय प्रतिनिधिको समेत सक्रिय उपस्थिति रहेको थियो। कार्यक्रममा सिद्धलेक गाउँपालिका–६ का वडाध्यक्ष सुरेन्द्र मगर, गजुरी गाउँपालिका–१ का वडा प्रतिनिधि तारा भण्डारी, वडा नं. २ का डोर्ना कँडेल, मुख्य सहयोगदाताद्वय टीका कँडेल र निर्माण कँडेल तथा विदेशी दाताहरू जोन डोयल र जेम्स डोयललगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै सिद्धलेक गाउँपालिका–६ का वडाध्यक्ष सुरेन्द्र मगरले यस प्रकारका परोपकारी सहयोगले विद्यार्थीहरूको सिकाइ र शैक्षिक निरन्तरतामा प्रत्यक्ष रूपमा बल पुग्ने बताए। साथै, बाढी प्रभावित परिवारहरूलाई कठिन घडीमा प्रदान गरिएको यस किसिमको मानवीय सहयोगले उनीहरूको दैनिकीलाई सहज बनाउन ठूलो राहत पुग्ने उनले स्पष्ट पारे।







