हाईवे बचत तथा ऋण सहकारीको २१औँ स्थापना दिवसमा रक्तदान, ७६ जनाले गरे रक्तदान
31 पटक पढिएको
धादिङ — धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ बैरेनीमा मुख्य कार्यालय रहेको हाईवे बचत तथा ऋण सहकारी संस्था लि.को २१औँ स्थापना दिवसको अवसरमा शुक्रबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। गल्छी ६ स्थित बैरेनी बजारमा आयोजना गरिएको उक्त कार्यक्रममा ७६ जनाले रक्तदान गरेका छन्।
रक्तदान गर्नेहरूमा ६४ जना पुरुष र १२ जना महिला रहेका छन्। पछिल्लो समय देखिएको रगतको अभावलाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको सहकारीले जनाएको छ।
कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न प्राविधिक सहयोग पुर्याउने नेपाल रेडक्रस सोसाइटी भृकुटीमण्डप काठमाडौँ तथा नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाप्रति संस्थाले विशेष धन्यवाद ज्ञापन गरेको छ। साथै कार्यक्रममा सहभागी भई रक्तदान गर्ने सम्पूर्ण रक्तदाताहरू, सहयोग पुर्याउने स्थानीय सरकार लगायत विभिन्न संघ-संस्थाहरू प्रति संस्थाले हार्दिक आभार व्यक्त गरेको छ।







