१८२ सिट पायो भन्दैमा भुइँमा खुट्टा छैन, मात्तिएर मान्छे गन्न छाडियो : रवि लामिछाने
26 पटक पढिएको
चितवन -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी पंक्तिलाई अत्यधिक सिट वा चुनावी सफलता प्राप्त हुँदैमा घमण्ड नगर्न कडा चेतावनी दिनुभएको छ। चितवनमा आयोजित पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टीभित्र बढ्दै गएको अहङ्कार र स्वेच्छाचारिताप्रति तीव्र आत्मसमीक्षा गर्नुभएको हो।
सभापति लामिछानेले चुनावमा जनताले अत्यधिक बहुमत दिएपछि नेता तथा कार्यकर्ताहरूको धरातल गुम्दै गएको यथार्थ स्पष्ट पार्नुभयो। “जनताले १८२ सिट दिए, हाम्रो भुइँमा खुट्टा छैन, मात्तिएका छौँ, टुप्पिएका छौँ हामी, हो कि होइन? यसरी हुँदैन, यसरी हुँदैन! माथिदेखि तलसम्म हामी यति मात्तिएका छौँ, हामी यति चढेका छौँ कि हामीले मान्छेलाई मान्छे गनेका छैनौँ,” उहाँले कार्यक्रममा आक्रोश पोख्नुभयो।
सुरुवाती दिनहरूमा पार्टी एक्लो घण्टी बोकेर हिँड्दा भोग्नुपरेका अपमान र कठिनाइहरूलाई स्मरण गराउँदै उहाँले हिजोका पीडا देखाएर अहिले राज्य संयन्त्रमाथि दबाब नबनाउन आग्रह गर्नुभयो।
“हिजो कोही नहुँदा एक्लै घण्टी बोकेर हिँड्दा हामीमाथि धेरै अपमान भयो, साथीहरूलाई कैयौँ मुद्दाहरू लागे, व्यापार–व्यवसाय गर्ने साथीहरूको पसल बन्द गराउने र अनुगमनको नाममा दुःख दिने काम भयो,” उहाँले भन्नुभयो, “तर त्यसको बदला लिनका लागि आज हामीले ‘म त घण्टीको मान्छे हुँ, म त राष्ट्रवादीको मान्छे हुँ’ भन्दै प्रशासन–प्रहरीलाई राजनीतिक दबाब दिने काम गर्यौँ भने त्यो चरित्रले पार्टीलाई धेरै पर लैजाँदैन।”
नेता र कार्यकर्ताहरूलाई आफ्नो धरातल कहिल्यै नबिर्सन उहाँले विशेष जोड दिनुभयो। कुनै ग्रहबाट नभई चुनाव जितेर आएका प्रतिनिधि भएको भन्दै उहाँले भन्नुभयो, “त्यसकारणले हामीले भुइँ टेक्नपर्छ, भुइँ छोड्नु हुँदैन साथी हो, कुनै हालतमा पनि भुइँ छोड्नु हुँदैन! हामीले एउटा चुनाव जितेका हौँ, कुनै ग्रहबाट खसेर आएका मान्छे होइनौँ।”
चितवनको भूमिबाट आफूले लुकाएर वा जिब्रो चपाएर कुरा गर्न नचाहेको बताउँदै उहाँले समाजले दलहरूको गतिविधि र तौरतरिका सूक्ष्म ढङ्गले विश्लेषण गरिरहेको उल्लेख गर्नुभयो। समाजले औंल्याएका विषयमा जाइलाग्नुभन्दा पनि अब मुलुकको जिम्मा जनताले सुम्पिसकेपछि उच्च राजनीतिक चरित्र र परिपक्वता देखाउनुपर्नेमा लामिछानेले जोड दिनुभयो।








Thank you for sharing an article that feels carefully considered. I enjoyed the ideas and the way you connected them.