धादिङ र नुवाकोटका विभिन्न स्थानमा आज ९ घण्टा विद्युत् आपूर्ति बन्द हुने
80 पटक पढिएको
धादिङ-नेपाल विद्युत् प्राधिकरण, धादिङ वितरण केन्द्रले धादिङ र नुवाकोटका विभिन्न क्षेत्रमा आज (शनिबार) बिजुली कटौती गर्ने भएको छ।
प्राधिकरणले एक सूचना प्रकाशित गरी मलेखु १३२/३३ के.भि. सबस्टेशनबाट कुम्पुर हुँदै धादिङबेसी आएको ३३ के.भि. डबल सर्किट लाइनको निलकण्ठ नगरपालिका वडा नं. ८, साधुटार खण्डमा तार विस्तार, विच्छेदक स्विच जडान तथा लाइन नजिक रहेका रुखका हाँगाबिँगा काट्ने काम गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुन लागेको जनाएको छ।
मौसम अनुकूल रहेमा आज मिति २०८३/०७/२१ गते शनिबार बिहान ७:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म ९ घण्टा लाइन कटौती हुनेछ।
प्राधिकरणका अनुसार धादिङबेसी सबस्टेशन, जहरे सबस्टेशन, नुवाकोटको रातमाटे सबस्टेशन तथा सल्यानटार सबस्टेशनबाट वितरित सम्पूर्ण फिडर क्षेत्रहरूमा बिजुली कटौती हुनेछ। यस अन्तर्गत निलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिका, बेनीघाट रोराङ गाउँपालिका, गजुरी गाउँपालिका, गल्छी गाउँपालिका, ज्वालामूखी गाउँपालिका, नेत्रावती डबजोङ गाउँपालिका, गंगाजमूना गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, खनियावास गाउँपालिका, रुबीभ्याली गाउँपालिका र आरुघाट गाउँपालिकाका सम्पूर्ण क्षेत्रहरूका साथै नुवाकोटको रातमाटे सबस्टेशनबाट वितरित सम्पूर्ण क्षेत्र र त्रिशूली वारीको केही क्षेत्रहरूमा विद्युत् आपूर्ति बन्द रहनेछ।
विद्युत् आपूर्ति बन्दका कारण ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमाप्रार्थी रहेको जनाएको छ। साथै, तोकिएको कार्य निर्धारित समयअगावै सम्पन्न भएको खण्डमा सो समयभन्दा अगावै लाइन सुचारु हुन सक्नेसमेत सूचनामा उल्लेख छ।







