गल्छीमा विपद् संवेदनशील सामाजिक सुरक्षासम्बन्धी अभिमुखीकरण सम्पन्न
29 पटक पढिएको
धादिङ । विपद्का समयमा जोखिममा रहेका नागरिक तथा समुदायलाई समयमै सामाजिक सुरक्षा सेवा उपलब्ध गराउने उद्देश्यले धादिङको गल्छी गाउँपालिकामा विपद् संवेदनशील सामाजिक सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
मंसिर ८ गते मंगलबार गल्छी गाउँपालिकाको कार्यालय बैरेनीमा आयोजित कार्यक्रममा पूर्वमन्त्री एवं विपद् विज्ञ डा. गंगालाल तुलाधरले विपद्का प्रकार, विपद्बाट हुने क्षति, विपद् प्रभावित नागरिकको अवस्था तथा विपद्को समयमा सामाजिक सुरक्षा प्रणालीलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा सहजीकरण गर्नुभएको थियो।
सामाजिक सुरक्षा नागरिक समाज नेटवर्कको आयोजना, सेभ द चिल्ड्रेनको सहयोग तथा गल्छी गाउँपालिकाको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो। गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री डा. तुलाधर प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा सामाजिक सुरक्षा नागरिक समाज नेटवर्कका कार्यकारी निर्देशक राजेन्द्र चौलागाईंले कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पार्दै सञ्चालन गर्नुभएको थियो।
कार्यक्रमका स्रोत व्यक्ति डा. तुलाधरका अनुसार विपद् संवेदनशील सामाजिक सुरक्षाको मुख्य उद्देश्य विपद्का समयमा जोखिममा रहेका व्यक्ति तथा समुदायलाई समयमै आर्थिक, भौतिक र सामाजिक सुरक्षा सेवा उपलब्ध गराउन सरोकारवालाको क्षमता विकास गर्नु हो। विपद्बाट बढी प्रभावित हुने सम्भावना भएका तथा विपद्सम्बन्धी सहायता कार्यक्रमको पहुँचभन्दा बाहिर रहेका नागरिकलाई सामाजिक सुरक्षा प्रणालीमा समेटेर प्रभावकारी सेवा उपलब्ध गराउने विषयमा कार्यक्रममा छलफल गरिएको उहाँले बताउनुभयो।
उहाँका अनुसार विपद् संवेदनशील सामाजिक सुरक्षा प्रणालीले विपद् प्रभावित नागरिकको पहिचान, पूर्वतयारी, राहत वितरण तथा पुनःस्थापनालाई सहज र व्यवस्थित बनाउन सहयोग पुर्याउँछ। यसले जोखिममा रहेका व्यक्ति तथा समुदायको संरक्षण, आर्थिक सुरक्षाको व्यवस्था, समावेशी तथा न्यायपूर्ण विकास र मानव जीवनको सम्मान सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।
कार्यक्रममा गल्छी गाउँपालिकामा विपद् संवेदनशील सामाजिक सुरक्षाको वर्तमान अवस्था, यसलाई थप प्रभावकारी बनाउने उपाय तथा स्थानीय तहले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा जनप्रतिनिधि र शाखा प्रमुखहरूसँग छलफलसमेत गरिएको थियो।
नेपाल सरकारले विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१ लागू गरेपछि संघ, प्रदेश र स्थानीय तहमा विपद्का समयमा सामाजिक सुरक्षा प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले यस्ता अभिमुखीकरण तथा क्षमता विकासका कार्यक्रम सञ्चालन हुँदै आएका छन्।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले विपद् संवेदनशील सामाजिक सुरक्षा कार्यक्रमले विपद् पूर्वतयारी तथा व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुर्याउने बताउनुभयो। समुदायस्तरमै विपद्को जोखिम र सम्भावित क्षतिको पहिचान गरी बढी प्रभावित हुन सक्ने नागरिकलाई समयमै पहिचान गर्न तथा राहत र पुनःस्थापनाका कामलाई सहज बनाउन यस्ता कार्यक्रम आवश्यक रहेको उहाँको भनाइ थियो। उहाँले स्थानीय सरकारले पनि आगामी दिनमा यस्ता कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।
त्यसैगरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले कार्यक्रमको उपयोगितामाथि प्रकाश पार्दै विपद् व्यवस्थापन र सामाजिक सुरक्षालाई एकीकृत रूपमा अघि बढाउन यस्ता अभिमुखीकरण कार्यक्रम उपयोगी हुने बताउनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्न आयोजक संस्थालाई आग्रह गर्नुभयो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भाइकाजी तिवारी, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विषयगत शाखाका कर्मचारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।







