बूढीगण्डकीमा शिलान्यास र मोडालिटीकै खेल जारी कार्यालय उद्घाटन र शिलान्यासमै बित्यो पाँच दशक
5 पटक पढिएको
केशव अधिकारी
धादिङ/ राष्ट्रिय गौरवको १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणको चर्चा सुरु भएको झन्डै पाँच दशक बितिसक्दा पनि मुख्य बाँध र विद्युत्गृह निर्माण सुरु हुन सकेको छैन। यसबीच सरकार फेरिएपिच्छे आयोजना निर्माणको मोडालिटी परिवर्तन हुने, नयाँ संरचना बनाउने घोषणा हुने र कार्यालय उद्घाटन तथा शिलान्यासका कार्यक्रम दोहोरिने क्रम भने रोकिएको छैन। पछिल्लो पटक २०८३ मंसिर ९ गते गोरखाको सिउरेनीटारमा आयोजनाको कार्यालय भवन, कर्मचारी आवास र पुलको शिलान्यास गरिएको छ। यसलाई आयोजनाको पूर्वाधार निर्माणतर्फको अर्को सुरुवातका रूपमा हेरिएको छ।
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले गण्डकी गाउँपालिका–८ सिउरेनीटारमा बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय भवन, कर्मचारी आवास भवन र बूढीगण्डकी नदीमाथि निर्माण हुने पक्की पुलको शिलान्यास गर्नुभएको हो। कार्यक्रममा भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, लगायत स्थानीय जनप्रतिनिधि र सरोकारवालाको उपस्थिति थियो।
कम्पनीका अनुसार सिउरेनीटार र धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ३ को कल्लेरी जोड्ने पुल तथा आयोजनाको स्थायी कार्यालय र कर्मचारी आवास निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ। पुल निर्माणको जिम्मेवारी एसबीए निर्माण सेवाले र कार्यालय तथा आवास निर्माणको जिम्मेवारी विष्ट–सिन्धुली जेभीले पाएको छ। यी संरचना निर्माण सम्पन्न गर्ने समय २०८५ जेठ १७ गतेसम्म तोकिएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत अरुण रजौरियाका अनुसार मुख्य बाँध र विद्युत्गृह निर्माण सुरु गर्नुअघि आवश्यक प्रशासनिक तथा प्राविधिक जनशक्तिलाई आयोजनास्थलमै राख्न स्थायी कार्यालय र आवाससहितको क्याम्प निर्माण गर्न लागिएको हो। कम्पनीले मुख्य भौतिक निर्माण कार्य सन् २०२८ जनवरीदेखि सुरु गर्ने लक्ष्य राखेको छ। तर कार्यालय, आवास र पुलको शिलान्यासलाई मुख्य बाँध तथा विद्युत्गृह निर्माण सुरु भएको अर्थमा मान्न नसकिने स्थानीय सरोकारवालाहरुको भनाई छ ।
बूढीगण्डकी आयोजनाको इतिहास हेर्दा कार्यालय स्थापना र उद्घाटनका कार्यक्रम नयाँ होइनन्। वि.सं. २०६९ मंसिरमा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना विकास समिति गठन गरेको थियो। त्यसपछि आयोजनाको कार्यालय स्थापना गरी अध्ययन, मुआब्जा तथा पुनर्वाससम्बन्धी काम अघि बढाइएको थियो। तर वि.सं. २०७३ मा विकास समितिको कार्यालय खारेज गरी बूढीगण्डकी वातावरण, मुआब्जा, पुनर्वास तथा पुनःस्थापना इकाई गठन गरियो। अर्थात् आयोजना निर्माणका लागि छुट्टै विकास समिति बनाइएको केही वर्षमै संस्थागत संरचना फेरियो र कार्यालयको स्वरूप पनि परिवर्तन भयो।
वि.सं. २०७९ मा बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेड स्थापना भएपछि फेरि कम्पनी मोडलबाट आयोजना अघि बढाउने निर्णय गरियो। त्यसपछि २०८० असार ३१ गते तत्कालीन ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले काठमाडौंस्थित कम्पनीको प्रधान कार्यालय उद्घाटन गर्नुभयो। साउन ३ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको सिउरेनीटारमा ताम्रपत्र अनावरण गरी कम्पनीको फिल्ड कार्यालय उद्घाटन गर्नुभयो। त्यस अवसरमा उच्चस्तरीय राजनीतिक तथा सरकारी टोलीले हेलिकोप्टरमार्फत धादिङ र गोरखाको डुबान क्षेत्रको अवलोकनसमेत गरेको थियो।
यसरी २०६९ मा विकास समिति, २०७३ मा मुआब्जा तथा पुनर्वास इकाई र २०७९ मा जलविद्युत् कम्पनी गठन हुँदै २०८० मा प्रधान तथा फिल्ड कार्यालय उद्घाटन गरिएको थियो। अहिले २०८३ मा फेरि स्थायी कार्यालय र कर्मचारी आवासको शिलान्यास गरिएको छ। कार्यालय र संस्थागत संरचना परिवर्तन हुँदै जाँदा पनि आयोजनाको मूल निर्माण भने सुरु हुन सकेको छैन। यही क्रमले बूढीगण्डकी आयोजना राजनीतिक घोषणा, प्रशासनिक पुनर्संरचना र औपचारिक कार्यक्रममै लामो समय अल्झिझै आईरहेको छ ।
आयोजना निर्माणको मोडालिटीमा भएको परिवर्तन पनि उत्तिकै लामो छ। सुरुमा सार्वजनिक–निजी साझेदारी र विदेशी कम्पनीको सहभागितासहित आयोजना अघि बढाउने प्रयास गरिएको थियो। वि.सं. २०७४ जेठ २१ गते तत्कालीन सरकारले चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप कम्पनीलाई इन्जिनियरिङ, खरिद, निर्माण र लगानी (ईपीसीएफ) मोडलमा आयोजना निर्माणको जिम्मेवारी दिने सम्झौता गरेको थियो। तर संसदीय समितिले प्रतिस्पर्धाबिना आयोजना जिम्मा दिन नहुने निर्देशन दिएपछि सोही वर्ष कात्तिक २७ गते मन्त्रिपरिषद्ले गेजुवासँगको सम्झौता खारेज गर्यो। त्यसपछि मंसिर ८ गते स्वदेशी लगानीमा ईपीसी मोडलबाट आयोजना अघि बढाउने निर्णय भयो।
वि.सं. २०७८ चैत २४ गते सरकारले आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने निर्णय गर्यो। त्यसपछि २०७९ असारमा कम्पनी मोडलमा आयोजना अघि बढाउने निर्णय भयो र असार २१ गते बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेड स्थापना गरियो। लामो समयदेखि विकास समिति र सरकारी निकायमार्फत अघि बढाइएको आयोजनालाई कम्पनीमार्फत निर्माण गर्ने योजना बनाइए पनि लगानीको स्रोत र वित्तीय व्यवस्थापन टुंगो नलाग्दा मुख्य निर्माण सुरु हुन सकेन।
कम्पनी स्थापना भएको एक वर्षपछि २०८० साउनमा तत्कालीन प्रधानमन्त्री प्रचण्डले फिल्ड कार्यालय उद्घाटन गर्दा आयोजनाले अब गति लिने अपेक्षा गरिएको थियो। तर त्यसपछि पनि लगानी ढाँचा स्वीकृत हुन लामो समय लाग्यो। २०८० कात्तिक २३ गतेको मन्त्रिपरिषद् बैठकले लगानी ढाँचा तय गर्न निर्देशन दिएको थियो। कम्पनीले विभिन्न विकल्पसहित प्रस्ताव तयार गरे पनि अर्थ मन्त्रालयको सहमति नजुट्दा आयोजना फेरि अन्योलमा परेको थियो।
सरकार परिवर्तनसँगै आयोजनाको निर्माण मोडालिटी फेरिने गरेको छ । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत बूढीगण्डकी आयोजना सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गर्ने घोषणा गर्नुभयो। त्यसअघि कम्पनी मोडलमा अघि बढाउने निर्णय भइसकेको भए पनि नयाँ सरकारले निजी क्षेत्रको सहभागितासहित आयोजना निर्माण गर्ने नीति अघि सारेको थियो।
त्यसपछि भदौ २०८२ मा गठित अन्तरिम सरकारले आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्यो। २०८२ माघ २ र फागुन १२ गतेका मन्त्रिपरिषद् निर्णयपछि २०८२ चैत ९ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रवर्द्धक कम्पनीलाई आयोजना अघि बढाउन औपचारिक पत्र पठाएको थियो। यससँगै कम्पनी मोडलमा निर्माण अघि बढाउने वित्तीय आधार तयार भएको थियो।
तर त्यसपछि बनेको नयाँ सरकारले फेरि आयोजनालाई अधिकारसम्पन्न प्राधिकरण मोडलमा अघि बढाउने नीति ल्यायो। २०८३ जेठ १५ गते अर्थमन्त्री स्वर्णिम वाग्लेले संसद्मा प्रस्तुत गरेको बजेटमा बूढीगण्डकी विकास प्राधिकरणमार्फत आयोजना निर्माण गर्ने उल्लेख गरियो। २०८३ असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले बूढीगण्डकी विकास प्राधिकरण विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएपछि कम्पनी मोडलमा अघि बढिसकेको आयोजना फेरि संस्थागत पुनर्संरचनाको प्रक्रियामा प्रवेश गरेको छ।
यसरी केही वर्षको अन्तरालमै विदेशी कम्पनीलाई जिम्मेवारी दिने ईपीसीएफ मोडल, स्वदेशी लगानीको ईपीसी मोडल, कम्पनी मोडल, पीपीपी मोडल र अहिले अधिकारसम्पन्न प्राधिकरण मोडलको चर्चा भएको छ। प्रत्येक सरकार र बजेटसँगै आयोजना निर्माणको ढाँचा परिवर्तन हुँदा दीर्घकालीन लगानी व्यवस्थापन र कार्यान्वयनको स्थायित्वमा प्रश्न उठ्दै आएको छ।
कान्तिपुर दैनिकले २०८३ कात्तिक ९ गते प्रकाशित गरेको समाचारमा पनि सरकार फेरिएपिच्छे बूढीगण्डकीको निर्माण मोडालिटी परिवर्तन हुँदा आयोजना अन्योलमा परेको उल्लेख गरेको छ। वित्तीय लगानी ढाँचा स्वीकृत भइसकेपछि फेरि प्राधिकरण गठनको प्रक्रिया अघि बढाउँदा निर्माणको गति प्रभावित हुन सक्ने चिन्ता ऊर्जा मन्त्रालयका अधिकारीहरूले व्यक्त गरेका छन्। यद्यपि कम्पनीका प्रमुख कार्यकारी अधिकृत रजौरियाले प्राधिकरणसम्बन्धी विधेयकको प्रक्रिया अघि बढे पनि हालका ठेक्का र निर्माणका काम नरोकिने तथा नयाँ संरचना बनेपछि कम्पनीका दायित्व हस्तान्तरण गर्न सकिने बताउनुभएको छ।
आयोजनाको कुल अनुमानित लागत निर्माण अवधिको ब्याजसहित ४ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ। आधारभूत निर्माण लागत करिब ३ खर्ब ७४ अर्ब रुपैयाँ र निर्माण अवधिको ब्याज करिब ३२ अर्ब रुपैयाँ अनुमान गरिएको छ। स्वीकृत वित्तीय ढाँचाअनुसार कुल लगानीको ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीबाट जुटाउने योजना छ। नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको लगानी रहने कम्पनीमार्फत आयोजना निर्माण गर्ने व्यवस्था गरिएको छ।
वित्तीय ढाँचाअनुसार सरकारका तर्फबाट ९७ अर्ब ४७ करोड रुपैयाँ स्वपुँजी र १ खर्ब ५० अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण लगानी गर्ने प्रस्ताव छ। नेपाल विद्युत् प्राधिकरणले २४ अर्ब ३७ करोड रुपैयाँ स्वपुँजी लगानी गर्नेछ। बाँकी रकम ऊर्जा बन्ड, बैंक तथा वित्तीय संस्थाको ऋण, सार्वजनिक कोष, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष तथा सर्वसाधारण र विदेशमा रहेका नेपालीको लगानीबाट जुटाउने योजना छ। सरकारले यसअघि आयोजनामा खर्च गरेको करिब ४६ अर्ब रुपैयाँलाई कम्पनीको सेयर लगानीमा रूपान्तरण गरिएको विवरण सार्वजनिक भएको छ।
तर वित्तीय ढाँचा स्वीकृत हुनु मात्रै निर्माणका लागि आवश्यक सबै स्रोत सुनिश्चित हुनु होइन। आयोजनाका लागि ठूलो परिमाणमा थप रकम जुटाउनुपर्ने छ। त्यसैले लगानी परिचालन र निर्माणको जिम्मेवारी कुन संस्थाले कसरी निर्वाह गर्ने भन्ने विषयलाई स्पष्ट पार्नु आवश्यक छ।
आयोजनाको अर्को महत्त्वपूर्ण चुनौती विद्युत् उत्पादन अनुमतिपत्र हो। सार्वजनिक विवरणअनुसार कम्पनीले अनुमतिपत्रका लागि प्रक्रिया अघि बढाए पनि आवश्यक शुल्क तथा भुक्तानीसम्बन्धी विषय टुंगिन बाँकी छ। यसका अतिरिक्त निर्माणका लागि आवश्यक प्राविधिक तयारी, ठेक्का व्यवस्थापन र कानुनी प्रक्रिया पनि पूरा गर्नुपर्नेछ।
धादिङ र गोरखाको सीमामा निर्माण हुने यस आयोजनाबाट दुवै जिल्लाका विभिन्न बस्ती, खेतीयोग्य जमिन, सडक, बजार तथा सांस्कृतिक सम्पदा प्रभावित हुनेछन्। आयोजनाको अध्ययनअनुसार करिब ६३ वर्ग किलोमिटर क्षेत्रफलमा जलाशय निर्माण हुनेछ। बाँधको उचाइ २६३ मिटर रहनेछ। आयोजनाबाट करिब ८ हजार ११७ घरपरिवार प्रभावित हुने र तीमध्ये ३ हजार ५६० घरपरिवार पूर्ण रूपमा विस्थापित हुने अनुमान छ।
जग्गा अधिग्रहण, घरगोठ, संरचना, रूखबिरुवा तथा अन्य सम्पत्तिको मुआब्जामा सरकारले ४३ अर्ब रुपैयाँभन्दा बढी खर्च गरिसकेको सार्वजनिक विवरण छ। तर मुआब्जा वितरणसँगै प्रभावित परिवारको पुनर्वास, पुनःस्थापना, जीविकोपार्जन र व्यवस्थित बस्ती विकासका विषय अझै महत्त्वपूर्ण छन्। आयोजना निर्माणको नाममा वर्षौंदेखि अनिश्चिततामा रहेका स्थानीय बासिन्दाले अब मुआब्जा र पुनःस्थापनाका बाँकी समस्या समाधानसहित वास्तविक निर्माणको काम सुरु भएको देख्न चाहेका छन्।
बूढीगण्डकी आयोजनाको सम्भाव्यता वि.सं. २०३० को दशकमा गण्डकी नदी बेसिनको अध्ययनका क्रममा पहिचान भएको थियो। वि.सं. २०४०/४१ मा ६०० मेगावाट क्षमताको प्रारम्भिक सम्भाव्यता अध्ययन गरिएको थियो। पछि फ्रान्सेली कम्पनी ट्र्याक्टेबेलले विस्तृत अध्ययन तथा डिजाइनको काम गरी वि.सं. २०७२ मा १२०० मेगावाट क्षमताको विस्तृत अध्ययन प्रतिवेदन तयार पारेको थियो। वि.सं. २०६९/७० मा राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि सारिएको यस आयोजनालाई आर्थिक वर्ष २०८३/८४ भित्र सम्पन्न गर्ने लक्ष्यसमेत राखिएको थियो। तर निर्धारित लक्ष्यको समय आउँदासमेत मुख्य निर्माण सुरु हुन सकेन।
आयोजना सम्पन्न भएपछि वार्षिक करिब ३ अर्ब ३८ करोड युनिट विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ। जलाशययुक्त आयोजना भएकाले वर्षायाममा संकलित पानी उपयोग गरी हिउँदयाममा पनि विद्युत् उत्पादन गर्न सकिनेछ। यसले नेपालको हिउँदयामको ऊर्जा माग व्यवस्थापन, औद्योगिक विकास र ऊर्जा सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। साथै पर्यटन, सिँचाइ, रोजगारी, मत्स्यपालन र तल्लो तटीय क्षेत्रमा पानीको बहाव व्यवस्थापनमा समेत लाभ पुग्ने अपेक्षा गरिएको छ।
बूढीगण्डकीको इतिहासले एउटा प्रश्न बारम्बार उठाएको छ-सरकार फेरिएसँगै आयोजना निर्माणको मोडालिटी किन फेरिन्छ? एउटै आयोजनाका लागि पटकपटक नयाँ समिति, इकाई, कम्पनी र प्राधिकरणको चर्चा तथा कार्यालय उद्घाटन र शिलान्यास भइरहँदा मुख्य निर्माणको काम किन अघि बढ्न सकेन? राष्ट्रिय गौरवको आयोजना कुनै एक सरकार वा राजनीतिक दलको परियोजना नभई राज्यको दीर्घकालीन दायित्व हो। त्यसैले सरकार परिवर्तनसँगै निर्माणको आधारभूत नीति र संस्थागत संरचना परिवर्तन भइरहने अवस्थाको अन्त्य आवश्यक देखिन्छ।
२०८३ मंसिर ९ गतेको शिलान्यासले आयोजनास्थलमा कार्यालय, आवास र पुल निर्माणको काम अघि बढाएको छ। तर अबको वास्तविक परीक्षा मुख्य बाँध र विद्युत्गृह निर्माण सुरु गर्नु, लगानी सुनिश्चित गर्नु, विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त गर्नु र प्रभावित नागरिकका समस्या समाधान गर्नु हो। पाँच दशकसम्म आयोजना बन्ने आशामा बसेका धादिङ र गोरखाका नागरिकलाई अब अर्को कार्यालय उद्घाटन वा नयाँ मोडालिटीको घोषणा होइन, निर्माणको निरन्तरता र प्रत्यक्ष परिणाम चाहिएको छ।







