सिद्धलेकमा बेथिति र विवादको शृङ्खला : वडाध्यक्ष गिरीद्वारा अध्यक्ष खतिवडाको कार्यशैलीप्रति कडा आपत्ति
53 पटक पढिएको
धादिङ । धादिङको सिद्धलेक गाउँपालिकाको प्रशासनिक, शैक्षिक तथा विकास निर्माणका कामहरू भद्रगोल बनेको भन्दै वडा नम्बर ७ का वडाध्यक्ष सानु गिरीले गाउँपालिका अध्यक्ष परशुराम खतिवडाको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमार्फत लामो ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै वडाध्यक्ष गिरीले गाउँपालिकाको वर्तमान अवस्था र विगतका विभिन्न विवादित निर्णय तथा गतिविधिप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका हुन् ।
वडाध्यक्ष गिरीले गाउँपालिकाको आधिकारिक फेसबुक पेजमार्फत ३९ सामुदायिक विद्यालयमा प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक छनोट गर्ने भनी जारी गरिएको सूचनाप्रति कडा आपत्ति जनाएका छन् । विगतमा पनि शिक्षक सरुवा र नियुक्तिमा अनियमितता भएको आरोप लगाउँदै उनले नयाँ शैक्षिक सत्र सुरु हुनुअघि गर्नुपर्ने काम अहिले बेमौसममा गरिनुले शैक्षिक सुधारभन्दा दीर्घकालीन समस्या निम्त्याउने दाबी गरेका छन् ।
गाउँपालिकामा १३ वटा माध्यमिक विद्यालय रहेकोमा स्थायी माध्यमिक तहको दरबन्दी जम्मा आठ जना मात्र रहेको तथ्य औँल्याउँदै गिरीले कुन विधि र प्रक्रियाबाट प्रधानाध्यापक नियुक्ति गर्न खोजिएको हो भनी अध्यक्ष खतिवडालाई प्रश्न गरेका छन् । स्वार्थ सिद्ध गर्न यस्तो कदम चालिएको भए तत्काल फिर्ता लिन आग्रह गर्दै उनले शैक्षिक बेथिति अब ताजा जनादेश लिएर आउने स्थानीय सरकारले सुधार्ने उल्लेख गरेका छन् ।
सिद्धलेकमा शिक्षक सरुवाको विवाद भने अहिले मात्रै सुरु भएको होइन । २०७९ सालमा स्थानीय तहको निर्वाचनपछि अध्यक्ष परशुराम खतिवडाको नेतृत्वमा गाउँपालिका सञ्चालन हुन थालेदेखि नै शिक्षक सरुवा, दरबन्दी मिलान र विद्यालय समायोजनका विषय पटकपटक विवादमा पर्दै आएका छन् ।
२०८० साल साउनमा गाउँपालिकाले शिक्षा ऐन तथा स्थापित प्रक्रियाविपरीत शिक्षक सरुवा गरेको भन्दै व्यापक विरोध भएको थियो । साउन २५ गतेको निर्णयअनुसार गाउँपालिकाभित्रका १० वटा विद्यालयका ११ जना शिक्षकलाई सरुवा तथा विद्यालय साटफेर गरिएको विषय सार्वजनिक भएको थियो । सम्बन्धित विद्यालय र शिक्षकको सहमतिबिना सरुवा गरिएको भन्दै शिक्षक, अभिभावक तथा राजनीतिक दलहरूले आपत्ति जनाएका थिए ।
२०८० साउन ३० गते धादिङ न्यूज, वागमती कलम,न्युज अफ नेपाल लगायत सञ्चारमाध्यमले विद्यालयको अनुमति नलिई दरबन्दी नै खाली हुने गरी शिक्षक सरुवा गरिएको समाचार प्रकाशित गरेका थिए । सुन्दरी माध्यमिक विद्यालयलगायत विद्यालयको दरबन्दी खाली हुने गरी गरिएको सरुवाले शैक्षिक सत्रकै बीचमा पठनपाठन प्रभावित भएको विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले बताएका थिए । त्यसबेला विद्यालय व्यवस्थापन समितिले दरबन्दी शून्य हुने गरी शिक्षक सरुवा नगर्न गाउँपालिकालाई लिखित आग्रह गरेको समाचारमा उल्लेख छ ।
शिक्षक सरुवाको विषयलाई लिएर नेकपा एमाले सिद्धलेक गाउँ कमिटीले समेत आपत्ति जनाउँदै जिल्ला शिक्षा विकास तथा समन्वय इकाइमा ज्ञापनपत्र बुझाएको थियो । नियमविपरीत गरिएको शिक्षक सरुवा रोक्न र शिक्षण सिकाइ अनुदान वितरणमा देखिएको भनिएको अनियमितता सच्याउन माग गरिएको थियो । यसैबीच सिद्धलेक–३ स्थित पञ्चमुखी माध्यमिक विद्यालयमा दरबन्दी नै खाली हुने गरी शिक्षक सरुवा गरिएको भन्दै अभिभावकले वडा कार्यालयमा तालाबन्दी गरेको विषयसमेत सार्वजनिक भएको थियो ।
२०८२ सालमा शिक्षक सरुवा र विद्यालय समायोजनको विवाद फेरि बल्झियो । गाउँपालिकाको शिक्षा समितिको २०८२ साउन २९ गतेको निर्णयअनुसार नौवटा विद्यालय समायोजन तथा खारेजी, २८ जना शिक्षक सरुवा र विद्यालय वर्गीकरणको विषय सार्वजनिक भएपछि विवाद चुलिएको थियो । भदौ ३ गते धादिङ न्यूज डटकमले ‘सिद्धलेकका ९ वटा विद्यालय बन्द गरिने’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।
त्यसक्रममा सिद्धलेक–७ को भालडाँडास्थित जाल्पादेवी आधारभूत विद्यालयमा अंग्रेजी विषयको शिक्षक दरबन्दीसहित सरुवा गरिएको भन्दै स्थानीयले विरोध गरेका थिए । शिक्षक सरुवापछि विद्यालयमा अंग्रेजी विषयको पठनपाठन प्रभावित भएको भन्दै स्थानीयले विद्यालयमा तालाबन्दी गरेका थिए । विद्यालयको दरबन्दी नै खाली हुने गरी गरिएको सरुवाले विद्यार्थीको पढाइ प्रभावित भएको भन्दै स्थानीयले निर्णय सच्याउन माग गरेका थिए ।
यस विषयमा समाचार प्रकाशित भएपछि गाउँपालिका अध्यक्ष खतिवडाले समाचार लेख्ने पत्रकारहरूलाई गाउँपालिका प्रहरीमार्फत कार्यकक्षमा उपस्थित गराई धम्की दिएका थिए । नेपाल पत्रकार महासंघलगायत पत्रकारसम्बद्ध संस्थाहरूले घटनाप्रति आपत्ति जनाउँदै प्रेस स्वतन्त्रताको सम्मान गर्न माग गरेका थिए । उक्त घटनाबारे इन्सेक अनलाइनले २०८२ भदौ ११ गते समाचार प्रकाशित गरेको थियो ।सोही समाचार छापिएपछि आप्नो कमीकमजोरी मिडियामा ल्याएर वदनाम गरिदिएको प्रतिशोधमा गाउँपालिका अध्यक्ष खतिवडाले धादिङ न्यूजका केशव अधिकारी, वागमती कलमका अनिल अछामी र नेपाल पत्रकार महासंघ धादिङका सीताराम अधिकारी बिरुद्ध २०८१ भदौ १२ गते कपोलकल्पित,तथ्यहिन र मनगढन्ते आरोप लगाउँदै प्रेस काउन्सिलमा उजुरी दिएका थिए ।
२०८३ साल वैशाखमा शिक्षक सरुवाको विवाद पुनः चर्कियो । गाउँपालिकाले वैशाख १ गतेदेखि लागू हुने गरी गरेको शिक्षक सरुवा तथा दरबन्दी मिलानको निर्णय वैशाख १० गतेसम्म पनि कार्यान्वयन हुन नसकेको विषय सार्वजनिक भएको थियो । गाउँ शिक्षा समितिको बैठकमा भएको सहमति र स्थापित कार्यविधिलाई बेवास्ता गर्दै एकलौटी निर्णय सार्वजनिक गरिएको आरोप शिक्षा समितिका सदस्यहरूले लगाएका थिए ।
यसै विषयमा शिक्षा समितिका सदस्य एवं महाकाली माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण गिरीले राजीनामा दिएका थिए । वडा नम्बर ७ का अध्यक्ष सानु गिरी, वडा नम्बर ४ का अध्यक्ष झकबहादुर थापामगर र सदस्य झंकनाथ अर्यालले समेत निर्णय प्रक्रियाप्रति असहमति जनाएका थिए । फागुन २९ गतेको बैठकमा उपस्थिति जनाउन गरिएको हस्ताक्षरलाई पछि निर्णय तयार पार्न दुरुपयोग गरिएको उनीहरूको आरोप थियो । चार शिक्षक पेशागत संगठनले समेत निर्णय पुनर्विचार गरी सहमति र विधिसम्मत प्रक्रियाबाट अघि बढ्न माग गरेका थिए ।
शिक्षक सरुवाकै विवादले त्यसपछि अर्को रूप लियो । २०८३ जेठमा गाउँपालिकाले आयोजना गरेको शिक्षक सम्मान कार्यक्रममा सरुवा निर्णयअनुसार रमाना वा नयाँ दरबन्दीमा हाजिर नगर्ने प्रधानाध्यापक तथा शिक्षकलाई सम्मान कार्यक्रममा सहभागी नगराउने भनी आधिकारिक निमन्त्रणापत्रमै उल्लेख गरेपछि शिक्षक संगठन र सरोकारवालाले आपत्ति जनाएका थिए । शिक्षकको शैक्षिक योगदानको सम्मान गर्ने कार्यक्रममा प्रशासनिक विवादलाई जोडेर शिक्षकलाई निषेध गरिएको भन्दै आलोचना भएको थियो ।
यसरी तीन वर्षदेखि निरन्तर उठ्दै आएको शिक्षक सरुवा र दरबन्दी मिलानको विवाद समाधान हुन नसकिरहेका बेला अहिले फेरि ३९ सामुदायिक विद्यालयमा प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक छनोट गर्ने सूचनाले नयाँ विवाद निम्त्याएको छ ।
यसैगरी, विगत पाँच महिनादेखि गाउँकार्यपालिकाको बैठक बस्न नसकेकोमा वडाध्यक्ष गिरीले चिन्ता व्यक्त गरेका छन् । बाढी र पहिरोले गाउँपालिकामा अकल्पनीय क्षति पुर्याउँदा समेत स्थानीय सरकारको नेतृत्व प्रभावित समुदायमा पुगेर राहत र पुनर्स्थापनामा सार्थक अगुवाइ गर्न नसकेको उनको आरोप छ ।
बजेट निर्माण र कार्यान्वयनमा समेत मनोमानी भएको वडाध्यक्ष गिरीको दाबी छ । गत असार ८ गते सम्पन्न १९औँ गाउँसभाबाट करिब ६० करोड रुपैयाँको बजेट पारित भएकोमा भदौको दोस्रो हप्तामा अध्यक्षले एकलौटी रूपमा ६ करोड रुपैयाँका योजना थपेर बजेटको आकार ६६ करोड पुर्याएको उनले बताएका छन् । आर्थिक वर्ष २०८३/८४ मा गाउँपालिकाको आन्तरिक स्रोत जम्मा एक करोड ७३ लाख रुपैयाँ मात्र संकलन हुने अनुमान गरिएको अवस्थामा ६ करोड रुपैयाँका योजना आन्तरिक स्रोतबाटै भुक्तानी गर्ने भनी रातो किताबमा उल्लेख गरिनु अव्यावहारिक रहेको उनको भनाइ छ । बाँकी चार करोड २७ लाख रुपैयाँको भुक्तानी कहाँबाट हुन्छ भन्ने प्रश्नसमेत उनले उठाएका छन् ।
मंसिर ८ गते बितिसक्दा समेत गाउँपालिकामा कुनै पनि योजनाको सम्झौता हुन नसकेको र कार्यान्वयनको अवस्था शून्य रहेको वडाध्यक्ष गिरीले औँल्याएका छन् । हाल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत, प्रशासन, कृषि, प्राविधिक, सामाजिक विकास र लेखा शाखाका अधिकृतहरू तथा वडा सचिवलगायत महत्त्वपूर्ण पदहरू रिक्त रहनुमा अध्यक्षकै कार्यशैली जिम्मेवार रहेको संकेत गर्दै उनले तत्काल कार्यपालिका बैठक आह्वान गर्न अध्यक्षसमक्ष माग गरेका छन् ।
सिद्धलेक गाउँपालिकामा जनप्रतिनिधिबीचको टकराव, कर्मचारी सरुवा र प्रशासनिक विवाद पनि पटकपटक सार्वजनिक हुँदै आएका छन् । यसअघि गत साउन २५ गते वडा नम्बर ७ मै कार्यरत कर्मचारी शान्ति मगरातीको म्याद थप नगरी सेवाबाट हटाइएको विरोधमा स्थानीय बासिन्दाले वडा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गर्दा सर्वसाधारणको दैनिक प्रशासनिक सेवा प्रभावित बनेको थियो ।
त्यस्तै, पालिकामा अनियमितता बढेको र प्रमुख प्रशासकीय अधिकृतहरू छिटोछिटो फेरिएको भन्दै विगतमा उपाध्यक्षसहित बहुमत कार्यपालिका सदस्य तथा स्थानीय राजनीतिक दलहरूले अध्यक्ष खतिवडाविरुद्ध छानबिनको माग गर्दै आन्दोलनसमेत गरेका थिए । अध्यक्ष निर्वाचित भएपछि अहिले सम्म १० जना प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भएको भईसकेका छन् । भर्खरै मात्र प्रमुख प्रशासकीय अधिकृत अनिशा आचार्यको सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा सरुवा भईसकेको छ ।
यसका अतिरिक्त प्रशासनिक भवन निर्माणका लागि जग्गा छनोटसम्बन्धी विवाद र कृषि अनुदानअन्तर्गत हाते ट्याक्टर खरिदमा बजार मूल्यभन्दा बढी रकम तिरेर अनियमितता गरिएको भन्ने आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको विषयले समेत सिद्धलेक गाउँपालिकाको सुशासनमाथि प्रश्न उठाउँदै आएको छ ।
शिक्षक सरुवादेखि विद्यालय समायोजन, कर्मचारी व्यवस्थापन, बजेट कार्यान्वयन र प्रशासनिक नेतृत्वसम्म पटकपटक विवादमा पर्दै आएको सिद्धलेक गाउँपालिकामा पछिल्लो समय वडाध्यक्षकै सार्वजनिक असन्तुष्टिले आन्तरिक मतभेद थप सतहमा ल्याएको छ । स्थानीय सरकार सञ्चालनमा पारदर्शिता, सामूहिक निर्णय प्रक्रिया र जवाफदेहिताको माग उठिरहेका बेला अध्यक्ष खतिवडाले वडाध्यक्ष गिरीले उठाएका प्रश्नको कसरी सम्बोधन गर्छन् भन्ने चासो बढेको छ ।







