धादिङ सिद्धलेकका मौरीपालक उद्यमी गोमा सिंखडालाई ७५ हजार रुपैयाँसहित बागमती प्रदेशको ‘उत्कृष्ट नवप्रवर्तन उद्यमी पुरस्कार’

52 पटक पढिएको

१० मंसिर २०८३, बुधबार २०:३७ सम्पादक: धादिङ न्यूज

हेटौँडा, मंसिर ९ । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयद्वारा आयोजित १२ औँ उद्योग दिवस तथा नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रममा धादिङका उद्यमी गोमा सिंखडा पुरस्कृत हुनुभएको छ।

धादिङको सिद्धलेक गाउँपालिका वडा नं. १, बलमडाँडामा सञ्चालित पी. एण्ड जी. मौरीपालन उद्योगका सञ्चालक सिंखडाले धादिङ जिल्लाको तर्फबाट ‘उत्कृष्ट नवप्रवर्तन उद्यमी पुरस्कार’ प्राप्त गर्नुभएको हो।

“औद्योगिक वातावरण सुधार : दिगो अर्थतन्त्रको आधार” भन्ने मूल नाराका साथ मंसिर ९ गते हेटौँडास्थित प्रदेश सुशासन केन्द्रको सभाहलमा आयोजित विशेष समारोहमा बागमती प्रदेशका १३ जिल्लाका उत्कृष्ट उद्यमी र १ जना सर्वोत्कृष्ट गरी कुल १४ जना उद्यमीहरूलाई सम्मान गरिएको छ।

कार्यक्रममा सर्वोत्कृष्ट उद्यमीलाई नगद २ लाख रुपैयाँ र जिल्लागत उत्कृष्ट उद्यमीहरूलाई जनही नगद ७५ हजार रुपैयाँसहित खादा, फूलमाला र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो।

ललितपुर महानगरपालिका–१७ मा सञ्चालित अन्नपूर्ण खाद्य उद्योगकी सञ्चालक अन्नपूर्ण कुमारी थापा बागमती प्रदेश सर्वोत्कृष्ट उद्यमी घोषित हुनुभएको छ। त्यस्तै, जिल्लागत उत्कृष्ट उद्यमीका रूपमा रामेछापको गोकुलगंगा गाउँपालिका–४ स्थित पुष्पाञ्जली नेपाली हाते कागज उद्योगका विश्वराम घिमिरे, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–५ स्थित अरनिको कृषि तथा पशुपालन फर्मका शारदा घले, सिन्धुलीको तीनकन्या गाउँपालिका–९ स्थित लाङ्घाली जुनार उद्योगका शान्त बहादुर सिन्जाली मगर, काठमाडौँको तारकेश्वर गाउँपालिका–३ स्थित सौगात आधुनिक कृषि फर्मका सौगात थापा र नुवाकोटको म्यागङ गाउँपालिका–२ स्थित सानो कल्लेरी कृषि फर्मका उर्जि तामाङ पुरस्कृत हुनुभएको छ।

यसैगरी, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित शर्मा एकीकृत कृषि तथा पशुपन्छी फर्मकी इन्दिरा धिताल, ललितपुरको गोदावरी नगरपालिका–११ स्थित दाहाल कार्पेट उद्योगकी लक्ष्मी थापा मगर, चितवनको भरतपुर महानगरपालिका–५ स्थित फाइटोकेयर ईन्टरनेशनल प्रा.लि.की सरिता खनाल, काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–१ स्थित लेकाली पुस्ताकारी उद्योगका वीर बहादुर लामा, भक्तपुर नगरपालिका–३ स्थित क्रियटिभ उड कार्भिङका कृष्णगोपाल गारु, दोलखाको बिगु गाउँपालिका–६ स्थित रेनु झोला तथा ट्राउजर उद्योगकी कमला थामी र रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित राजन्या कृषि तथा पशुपन्छी फर्मका चुडामणी पौडेलले पनि उत्कृष्ट उद्यमीको सम्मान प्राप्त गर्नुभएको छ।

उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापतिको सभाध्यक्षता तथा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। समारोहमा प्रदेश सरकारका विभिन्न मन्त्रालयका मन्त्रीज्यूहरू, पूर्वमन्त्रीज्यूहरू, प्रदेश नीति तथा योजना आयोगका पदाधिकारी, हेटौँडा उपमहानगरपालिकाका प्रमुख मिना लामा लगायतको विशिष्ट आतिथ्यता रहेको थियो।