गल्छी–८ कुखुरेचौरमा १५ लाख रुपैयाँको लागतमा बुद्ध पार्क निर्माण गरिने
43 पटक पढिएको
धादिङ, ९ मंसिर । धादिङको गल्छी गाउँपालिका वडा नं. ८ स्थित कुखुरेचौरमा करिब १५ लाख रुपैयाँको लागतमा बुद्ध पार्क निर्माण गरिने भएको छ।
गल्छी–८ स्थित श्री साउनेपानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजन मगरको अध्यक्षतामा मंसिर ७ गते बसेको बैठक तथा आम भेलाले पर्यटकीय स्थल कुखुरेचौरमा बुद्ध पार्क निर्माण गर्ने सर्वसम्मत निर्णय गरेको हो।
एमसीए–नेपाल परियोजनाअन्तर्गत साझेदार संस्था इकोकोड/आइडीएस नेपाल तथा रूपान्तरण नेपालमार्फत सामुदायिक वनलाई सहयोगस्वरूप प्राप्त हुने १० हजार अमेरिकी डलर (नेपाली करिब १५ लाख रुपैयाँ) बराबरको रकमबाट पार्क निर्माण गर्न लागिएको समितिले जनाएको छ।
प्राप्त हुने सहयोग रकमलाई विभिन्न साना तथा टुक्रे योजनामा विभाजन गरी खर्च गर्दा पारदर्शिता कायम गर्न कठिन हुन सक्ने विषयलाई मध्यनजर गर्दै आम भेलाले एकीकृत योजनाका रूपमा बुद्ध पार्क निर्माण गर्ने निर्णय गरेको हो।
बुद्ध पार्क निर्माण भएसँगै कुखुरेचौरको पर्यटकीय आकर्षण बढ्नुका साथै स्थानीय क्षेत्रको पहिचान, पर्यटन प्रवर्द्धन र समग्र विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।







