देउवा पक्षमा खुलेका सिद्धलेक अध्यक्ष खतिवडालाई गगनको चुनौती : पद जोगाउने कि नैतिकताका आधारमा छाड्ने?

3 पटक पढिएको

१२ मंसिर २०८३, शुक्रबार ०६:५५ सम्पादक: धादिङ न्यूज

धादिङ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको चुनाव चिह्नबाट निर्वाचित भएर पार्टीको निर्णयविपरीत गतिविधि गर्ने जनप्रतिनिधिलाई पदबाट राजीनामा दिन आग्रह गरेपछि धादिङको सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडाको राजनीतिक तथा सार्वजनिक पदको विषय चर्चामा आएको छ।

नेपाली कांग्रेसबाट २०७९ सालको स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित खतिवडा पछिल्लो समय कांग्रेसभित्रको गगन थापा नेतृत्वको समूहका गतिविधिमा  देखिएका छैनन्। उनी पूर्वसभापति शेरबहादुर देउवा पक्षका भेला तथा बैठकमा सहभागी हुँदै आएका छन्। देउवा पक्षबाट महाधिवेशन प्रतिनिधिसमेत चयन भएका खतिवडा  देउवा पक्षमा खुलेर लागेका धादिङका जनप्रतिनिधिमध्ये एक हुन्।

धादिङमा बागमती प्रदेशसभा सदस्य गोविन्द लम्साल, सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडालगायत  सीमित जनप्रतिनिधि देउवा पक्षका गतिविधिमा देखिएका छन्।

सभापति थापाले मंगलबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सम्बोधन गर्दै कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएर अर्को राजनीतिक दलमा आबद्ध हुने वा पार्टीको आधिकारिक निर्णयविपरीत गतिविधि गर्ने जनप्रतिनिधिलाई पदबाट राजीनामा दिन आग्रह गरेका थिए। उनले पार्टीको विधान र निर्णय नमान्ने व्यक्तिले कांग्रेसको नाममा निर्वाचित पद ओगटेर बस्न नहुने बताएका थिए।

थापाले कांग्रेसको विधानअनुसार पार्टीको चुनाव चिह्न लिएर निर्वाचनमा उम्मेदवार बनेको व्यक्ति अर्को पार्टीमा प्रवेश गरेमा उसको कांग्रेस सदस्यता कायम नरहने उल्लेख गर्दै राष्ट्रियसभा, प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई अर्को पार्टीमा जाने निर्णय गरे पदबाट समेत राजीनामा दिन आग्रह गरेका थिए।

उनले बैठकमा भनेका थिए, ‘नेपाली कांग्रेसको विधानले भन्छ– कांग्रेसको चुनाव चिह्न लिएर लडेको मान्छे अर्को पार्टीमा लाग्छ भने त्यो कांग्रेसको सदस्य कायम रहँदैन।’थापाको यस्तो अभिव्यक्तिपछि सिद्धलेक गाउँपालिका अध्यक्ष खतिवडाको राजनीतिक गतिविधि र आगामी भूमिकालाई लिएर चासो बढेको छ।

भोटेकोशी बाढीले त्रिशूली नदीमाथिको फुर्केखोलास्थित पुल बगाएपछि धादिङका आठ स्थानीय तहको सडक सम्पर्क प्रभावित भएको थियो। त्यसको विकल्पमा अस्थायी पन्टुन पुल निर्माण गर्ने विषयमा जिल्लाका १३ वटै स्थानीय तहले सामूहिक पहल र समन्वय गरेका थिए। यही पुल निर्माण प्रक्रियामा अध्यक्ष खतिवडाको भूमिकालाई लिएर पनि विवाद उत्पन्न भएको थियो।

२०८३ कात्तिक १५ गते  धुनिबेसी नगरपालिकामा बसेको धादिङका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको बैठकले फुर्केखोलामा तत्काल अस्थायी पुल निर्माण गरी अवरुद्ध यातायात सेवा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो। उक्त बैठकमा सिद्धलेक गाउँपालिका अध्यक्ष खतिवडा आफैँ सहभागी नभई वडा नम्बर ५ का अध्यक्ष बुधे घलेलाई कार्यवाहक जिम्मेवारी दिएर पठाएका थिए।

भोटेकोशी बाढीले फुर्केखोलाको पक्की पुल बगाएपछि अस्थायी पन्टुन पुल राख्न धादिङका १३ वटै स्थानीय तहले सहमति गरेका थिए। धुनीबेँसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यको अध्यक्षतामा बसेको बैठकले पुल ल्याउने, जडान गर्ने र सञ्चालन गर्ने खर्च सबै स्थानीय तहले साझा रूपमा व्यहोर्ने निर्णय गरेको थियो।

बैठकले पन्टुन पुल ल्याउन आवश्यक समन्वयको जिम्मेवारी ज्वालामुखी गाउँपालिका अध्यक्ष यामनाथ दनैलाई दिएको थियो। तर उक्त बैठकमा सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडा सहभागी भएका थिएनन्। उनले वडा नं. ५ का अध्यक्ष बुधे घलेलाई कार्यवाहक जिम्मेवारी दिएर पठाएका थिए। गाउँपालिकाकी उपाध्यक्ष सविता अर्याल पनि बैठकमा सहभागी थिइन्।

१३ वटै स्थानीय तहको सहमति र सामूहिक पहलमा अघि बढेको पुल निर्माणको काम अन्तिम चरणमा पुग्दा अध्यक्ष खतिवडाले आफूलाई संयोजकको जिम्मेवारी नदिइएको भन्दै पुलबारे आफूलाई जानकारी नभएको आशयको अभिव्यक्ति दिएपछि विवाद उत्पन्न भएको थियो। यही विषयलाई लिएर अन्य जनप्रतिनिधिले उनको भूमिकामाथि प्रश्न उठाउँदै आएका छन्।

यस घटनाले कांग्रेसभित्र देउवा पक्षमा खुलेका खतिवडाको राजनीतिक गतिविधिसँगै जिल्लाका साझा विकास निर्माणका काममा उनको सहभागिता र जिम्मेवारीबारे पनि बहस सिर्जना गरेको छ।

जिल्लाका स्थानीय तहको सामूहिक पहलमा अघि बढाइएको पन्टुन पुल निर्माणको काम अन्तिम चरणमा पुग्दै गर्दा अध्यक्ष खतिवडाले आफूलाई संयोजकको जिम्मेवारी नदिइएको भन्दै पुल निर्माण प्रक्रियाबारे आफूलाई केही जानकारी नभएको आशयको अभिव्यक्ति दिएपछि उनको भूमिकामाथि प्रश्न उठेको हो।

बैठकमा सहभागी नभएका खतिवडाले पुल निर्माणको पहल र जिम्मेवारीका विषयमा असन्तुष्टि जनाउनु तथा निर्माण प्रक्रिया अघि बढिसकेपछि त्यसबारे अनभिज्ञता व्यक्त गर्नुले उनको भूमिकामाथि अन्य जनप्रतिनिधिले समेत प्रश्न उठाएका छन्। जिल्लाका स्थानीय तहको सामूहिक निर्णय र समन्वयमा अघि बढेको आयोजनामा व्यक्तिगत जिम्मेवारी र जस लिने विषयलाई लिएर विवाद देखिएको जनप्रतिनिधिहरूको भनाइ छ।

बर्दियाबाट पन्टुन पुल ल्याउनेदेखि निर्माणस्थलसम्म पुर्‍याउने र जडान गर्ने प्रक्रियामा जिल्लाका स्थानीय तह तथा सरकारी निकायबीच समन्वय भएको थियो। यस्तो सामूहिक पहलबाट अघि बढेको आयोजनाबारे अध्यक्ष खतिवडाको पछिल्लो अभिव्यक्तिले जिल्लाको राजनीतिक वृत्तमा थप बहस सिर्जना गरेको छ।

नेपाली कांग्रेसभित्र गगन थापा र शेरबहादुर देउवा पक्षबीचको विवाद चर्किंदै जाँदा दुवै पक्षमा खुलेर लागेका जनप्रतिनिधिको राजनीतिक भविष्यबारे पनि प्रश्न उठ्न थालेको छ। थापा नेतृत्वको कांग्रेसले पार्टीको आधिकारिक निर्णय र विधानविपरीत गतिविधि गर्नेलाई कारबाही गर्ने संकेत गरिरहेको छ भने देउवा पक्षले आफ्नो राजनीतिक गतिविधि र महाधिवेशनको तयारीलाई निरन्तरता दिइरहेको छ।

धादिङमा गोविन्द लम्साल र परशुराम खतिवडालगायत सीमित जनप्रतिनिधि देउवा पक्षमा देखिएपछि जिल्लामा कांग्रेसको आन्तरिक शक्ति समीकरणबारे पनि चासो बढेको छ। अब कांग्रेसभित्रको विवादले कस्तो रूप लिन्छ र त्यसले पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिको राजनीतिक तथा सांगठनिक भूमिकामा कस्तो प्रभाव पार्छ भन्ने विषय आगामी घटनाक्रमले स्पष्ट पार्नेछ।

अध्यक्ष खतिवडाको राजनीतिक सम्बन्धलाई लिएर पनि कांग्रेसभित्र असन्तुष्टि बढेको स्थानीय राजनीतिक वृत्तको भनाइ छ। गत स्थानीय निर्वाचनमा गठबन्धनबाट कांग्रेसका साझा उम्मेदवार बनेर निर्वाचित भएका खतिवडा असार ३१ गते पार्टीको आन्तरिक बैठकमा तरुण दलका क्षेत्रीय सभापति विशाल गिरीसँग भएको विवादपछि थप आलोचनामा परेका थिए। उक्त घटनापछि विशाल गिरी १६ दिन हिरासतमा  बसेका थिए। अध्यक्षनिकट मानिने सिद्धलेकका निवर्तमान कांग्रेस सभापति रामशरण गिरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि खतिवडाको राजनीतिक भूमिकालाई लिएर स्थानीय तहमा विभिन्न अड्कलबाजीसमेत भइरहेको छ।

खतिवडाको राजनीतिक गतिविधिलाई लिएर यसअघि पनि विभिन्न प्रश्न उठ्दै आएका थिए। उनी पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग नजिकिएको र सम्पर्क तथा उठबस बढाएको भन्दै राजनीतिक वृत्तमा चर्चा हुने गरेको छ। पद गुम्न सक्ने सम्भावनाका कारण रास्वपा प्रवेश नगरेको भन्ने आरोपसमेत उनीमाथि लाग्ने गरेको छ। यद्यपि यस विषयमा खतिवडाको आधिकारिक धारणा सार्वजनिक भएको छैन।

अध्यक्ष खतिवडासँग प्रतिक्रिया माग्दा जवाफ आएन

यस विषयमा सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडासँग धादिङ न्यूजले प्रतिक्रिया माग गरेको छ। “पन्टुन पुल निर्माण सम्पन्न हुनै लाग्दा आफूलाई निर्माण प्रक्रियाबारे कुनै जानकारी नभएको र कसैले समन्वय नगरेको भन्दै एक युट्युब च्यानललाई दिएको अभिव्यक्तिपछि उत्पन्न विवादबारे उनको धारणा माग गरिएको थियो।

त्यस्तै, नेपाली कांग्रेसका सभापति गगन थापाले देउवा पक्षमा लागेका जनप्रतिनिधिलाई पदबाट राजीनामा दिन आग्रह गरेको अभिव्यक्तिबारे पनि उनको प्रतिक्रिया माग गरिएको थियो। तर समाचार तयार पार्दासम्म अध्यक्ष खतिवडाबाट कुनै जवाफ प्राप्त हुन सकेन।