भोटेकोशी बाढीपीडितलाई घर बनाउन ८ लाखसम्म अनुदान दिने सरकारको तयारी, धादिङका पीडित पनि लाभान्वित हुने
129 पटक पढिएको
धादिङ, ११ मंसिर २०८३ । भोटेकोशी बाढीबाट घरबास गुमाएका विस्थापित परिवारलाई स्थायी आवास निर्माणका लागि सरकारले प्रतिपरिवार ६ देखि ८ लाख रुपैयाँसम्म अनुदान दिने तयारी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बिहीबार बसेको कार्यकारी समितिको बैठकले प्रभावित जिल्लाको वर्गीकरणअनुसार अनुदान रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
प्राधिकरणको निर्णयअनुसार विपद्बाट पूर्ण क्षति भएका घरहरूको पुनर्निर्माणका लागि ‘क’ वर्गमा पर्ने हिमाली जिल्लाका पीडितलाई प्रतिपरिवार ८ लाख रुपैयाँ, ‘ख’ वर्गका पहाडी जिल्लाका पीडितलाई प्रतिपरिवार ७ लाख रुपैयाँ र ‘ग’ वर्गका तराई जिल्लाका पीडितलाई प्रतिपरिवार ६ लाख रुपैयाँ अनुदान प्रदान गरिनेछ । यो अनुदान वितरणको बाटो खोल्न विद्यमान कार्यविधिसमेत संशोधन गरिने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको उक्त महत्त्वपूर्ण बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, गृहमन्त्री सुधन गुरुङ, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताकोसमेत सहभागिता रहेको थियो ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार प्राधिकरणको निर्णयबमोजिमको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने सम्पूर्ण तयारी पूरा भइसकेको छ । एक पटकका लागि बाढीपीडितलाई घर निर्माण गर्न रकम दिने प्रस्ताव आगामी मन्त्रिपरिषद् बैठकबाट पारित गर्ने तयारी भइरहेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
सरकारको यो निर्णयबाट भोटेकोशी तथा त्रिशूली नदी तटीय क्षेत्रका रसुवा, नुवाकोट र धादिङलगायतका प्रभावित जिल्लाका बाढीपीडित प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । विपद्मा घर गुमाएका तर सम्बन्धित जिल्लाभित्रै आफ्नै सुरक्षित जग्गा बाँकी रहेका पीडित परिवारलाई सोही स्थानमा घर निर्माण गर्न अनुदान रकम उपलब्ध गराइनेछ । तर, बाढीले घरसँगै जग्गासमेत बगाएका वा पूर्ण क्षति पुगेका भूमिहीन पीडित परिवारलाई भने सरकारले एकीकृत आवास कार्यक्रममा समाहित गरी बसोबासको व्यवस्था मिलाउने योजना तयार पारेको छ ।
गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी र त्यसले त्रिशूली नदीमा निम्त्याएको भीषण कटानका कारण धादिङको गल्छी, गजुरी,बेनीघाट रोराङ, र सिद्धलेक गाउँपालिकाका नदी तटीय क्षेत्रका दर्जनौँ परिवार घरबारविहीन भएका थिए । बाढी गएको तीन महिना बितिसक्दा पनि स्थायी आवासको टुङ्गो नलाग्दा धादिङसहित प्रभावित जिल्लाका पीडितहरू कष्टकर जीवन बिताइरहेका छन् ।







