चिया पसलदेखि सामाजिक सञ्जालसम्म त्रिशूलीको ‘पन्टुन पुल’कै चर्चा

78 पटक पढिएको

१३ मंसिर २०८३, शनिबार ०८:१९ सम्पादक: धादिङ न्यूज

धादिङ – धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ बाबरीघारीबाट सिद्धलेक गाउँपालिकाको परेवाटार बगर जोड्ने गरी त्रिशूली नदीमा जडान भइरहेको नयाँ पुल अहिले धेरैको चासोको विषय बनेको छ। फुर्केखोलाको पक्की पुल भदौ १० को भोटेकोशी बाढीले बगाएपछि त्यसको विकल्प खोज्दै जाँदा अहिले पन्टुन पुल जडान हुन लागेको हो। धादिङको लागि नयाँ यो पन्टुन पुलले यतिबेला सामाजिक सञ्जालदेखि राजनीतिक वृत्त, चिया पसलदेखि चोक चौतारासम्म आजभोलि यही पुलको चर्चा हुने गरेको छ। आशा, जिज्ञासा, आक्रोश, शंका मिश्रित छलफलसँगै पुलको निर्माण कार्य पनि अघि बढिरहेको छ।

सामान्य पक्की पुलजस्तो जमिनमा पिलर गाडेर नबनाइने यो पुल पानीमा तैरिने डब्बाहरूलाई आपसमा जोडेर तयार पारिएको हो। गजुरीबाट फुर्केखोला नपुग्दै जलदेवी मन्दिरनजिक जडान भइरहेको यो पुल मौसम र उपकरणले साथ दिए मंसिर १३ गते आईतबार देखि  सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। पुल सञ्चालनमा आएपछि धादिङ सदरमुकामसहित जिल्लाका आठ स्थानीय तह र गोरखाका केही भागका बासिन्दाले भोग्दै आएको यात्राको सास्ती केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।

प्राविधिकहरूका अनुसार यो पुलको कुल भारवहन क्षमता २० टन छ। तर, लामो समय प्रयोगविहीन अवस्थामा रहँदा संरचनाका केही भाग पुराना र कमजोर भएकाले सुरुवाती चरणमा पुलको पूर्ण क्षमताअनुसार सवारी चलाइने छैन। नदीको तीव्र बहाव र दायाँबायाँ सहारा दिने पिलरविहीन संरचना भएकाले उच्च सतर्कता अपनाएर सवारीसाधन वारपार गराइने प्राविधिकहरूको भनाइ छ।

प्रारम्भिक चरणमा ठूला तथा भारी मालवाहक सवारीसाधनलाई पुलबाट आवतजावत गर्न दिइने छैन। यात्रुवाहक बस पुल तर्नुअघि यात्रुहरूलाई ओरालेर खाली बस चालकसहित मात्र पार गराइने व्यवस्था मिलाइएको छ। एम्बुलेन्स तथा अन्य साना सवारीसाधनलाई भने सामानको भार सीमित राख्दै गति नियन्त्रण गरेर वारपार गराउने तयारी छ।

यो पन्टुन पुल बर्दियाको कोठियाघाटबाट ल्याइएको हो। कर्णाली नदीको गेरुवा किनारस्थित कोठियाघाटमा चीनबाट खरिद गरिएको यो पुल २०५४ सालदेखि ६९ सम्म सञ्चालनमा थियो। त्यहाँ पक्की पुल बनेपछि लामो समयदेखि यो प्रयोगविहीन अवस्थामा थन्किएको थियो।

बाढीले फुर्केखोलाको पक्की पुल बगाएपछि सुरुमा फेरी सञ्चालन गर्ने विषयमा पनि छलफल भएको थियो। त्यसै क्रममा कान्तिपुर टेलिभिजनका उपसम्पादक तथा धादिङ संवाददाता पोषनाथ अधिकारीले सहकर्मीहरूमार्फत बर्दियामा थन्किएको पन्टुन पुलबारे जानकारी पत्ता लगाएका थिए। दशैंपछि धादिङका जनप्रतिनिधि र पत्रकार बर्दिया पुगेर अवस्था बुझेपछि  सिँचाइ कार्यालयसँगको समन्वयमा पुल ल्याउने प्रक्रिया अघि बढाइएको हो।

ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैको नेतृत्व तथा जिल्लाका १३ वटै पालिकाको सहकार्यमा पुल ल्याउने काम भएको हो। विभागीय स्वीकृति र प्रशासनिक तथा कानुनी प्रक्रिया पूरा भएपछि राजापुर सिँचाइ व्यवस्थापन आयोजनाले पुल धादिङ जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गरेको थियो। कुल १४५ मिटर लम्बाइ रहेको यो पुलमा ३३ वटा डब्बा छन्, जसमध्ये जडानस्थलको दूरी तुलनात्मक रूपमा कम भएकाले सबै डब्बा खपत नहुने देखिएको छ।

बर्दियाबाट ल्याइएका डब्बाहरूलाई मर्मत र रंगरोगन गरी मंसिर ६ गतेदेखि जडान सुरु गरिएको हो। जडानको प्राविधिक कामका लागि बर्दियाको राजापुर सिँचाइ व्यवस्थापन कार्यालयबाट १२ जनाको टोली खटिएको छ। प्राविधिक शशिधर वाग्लेका अनुसार चेन र विन्डलासको सहायताले डब्बाहरूलाई आपसमा जोडेर एंकरमार्फत निश्चित स्थानमा अड्याइन्छ भने खोलाको तीव्र बहावका कारण जडानमा क्रेनको समेत प्रयोग गरिएको छ। दुवैतर्फ पहुँचमार्ग बनाउने काम पनि अन्तिम चरणमा पुगेको वाग्लेले जानकारी दिए।

सुरुमा ७ देखि १० दिनभित्र काम सक्ने लक्ष्य राखिए पनि उपकरणमा आएको समस्या, पहुँचमार्ग निर्माण र प्राविधिक कठिनाइले प्रक्रिया लम्बिएको थियो। ज्वालामुखी गाउँपालिका अध्यक्ष दनैका अनुसार कात्तिक २० गते अभियान सुरु भएको मंसिर १२ गते शनिवार ३३ दिन  पुगेको छ। पुल ढुवानी, जडान र व्यवस्थापनको खर्च धादिङका १३ वटै स्थानीय तहले साझा रूपमा व्यहोर्ने सहमति गरेका छन्।

यो अस्थायी पुल हिउँदयाममा पानीको बहाव कम हुने समयलाई लक्षित गरी जडान गरिएको हो। आगामी चैत मसान्तसम्म मात्र पुल सञ्चालन गर्ने र वर्षा सुरु हुनुअघि वैशाखको पहिलो सातातिरै खोलिने योजना छ।

फुर्केखोलाको पुल बगेपछि धादिङका आठ स्थानीय तह र गोरखाका केही भागका बासिन्दाले पृथ्वी राजमार्ग पुग्न १८ किलोमिटरभन्दा लामो मासटार–परेवाटार कच्ची सडक प्रयोग गर्नुपरेको छ। कच्ची सडकमा सवारीको अत्यधिक चाप र ढुवानी खर्च बढ्दा दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढेको छ। पन्टुन पुलले तत्कालका लागि साना सवारीको चाप घटाए पनि स्थायी मोटरेबल पुल निर्माण र वैकल्पिक सडक स्तरोन्नतिको काम छिटो अघि बढाउन स्थानीय तह र सरोकारवालाले सरकारसँग माग गरेका छन्।