दुर्घटना न्यूनीकरणका लागि गल्छी बजार व्यवस्थापन समितिको कडा कदम : अतिक्रमित संरचना ७ दिनभित्र हटाउन निर्देशन, महेशखोलादेखि गल्छीसम्मको फुटपाथ खाली गरिने

18 पटक पढिएको

१३ मंसिर २०८३, शनिबार १२:३० सम्पादक: धादिङ न्यूज

धादिङ । गल्छी चोक र आसपासको बजार क्षेत्रमा दैनिकजसो सवारी दुर्घटना बढ्दै गएपछि त्यसको न्यूनीकरण तथा बजार क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन गल्छी बजार व्यवस्थापन समिति सक्रिय बनेको छ ।

बजार क्षेत्रको अव्यवस्थित पार्किङ, जथाभावी सवारी आवागमन र सडक अतिक्रमणले दुर्घटनाको जोखिम बढाएको भन्दै समितिको आयोजनामा बसेको बैठकले ट्राफिक व्यवस्थापन र बजार सुधारका लागि विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको हो ।

समितिको निर्णय अनुसार गल्छी बजार क्षेत्रमा रहेको बिजुलीको पोलसम्म अतिक्रमण गरी बनाइएका घर तथा टहराहरू ७ दिनभित्र हटाउन आवश्यक पहल गरिने भएको छ। तोकिएको समयसीमाभित्र अटेर गरी नहटाएमा त्यस्ता संरचना भत्काइने तथा सडक र पेटीमा राखिएका व्यवसायिक एवं अन्य सामानहरू समेत जफत गरिने समितिले जनाएको छ ।

उल्लिखित स्थानका संरचनाहरूको नापजाँच गरी हटाउने कार्य मंसिर १२ गते शनिवार देखि सुरु गरिएको छ। सोही अभियान अन्तर्गत महेशखोलादेखि गल्छी बजारसम्मको फुटपाथ पूर्ण रूपमा खाली गरिने निर्णय समेत बैठकले गरेको छ।

यसैगरी, गल्छी चोकबाट नुवाकोट जाने सडकमा हुने अव्यवस्थित सवारी पार्किङलाई व्यवस्थित गर्न अबदेखि नुवाकोट जाने टिकट काउन्टरभन्दा अगाडि मात्र सवारी रोक्ने व्यवस्था मिलाइने भएको छ।

सुरक्षित सडक, व्यवस्थित बजार र दुर्घटनामुक्त गल्छी निर्माणका लागि स्थानीय व्यवसायी, सवारी चालक, सर्वसाधारण तथा सम्बन्धित सरोकारवाला निकायलाई सहकार्य र सहयोग गर्न समितिले आग्रह गरेको छ ।