बाढीपहिरोमा अभिभावक गुमाएका रसुवा, नुवाकोट र धादिङका विद्यार्थीलाई चिनियाँ राजदूताबासकाे छात्रवृत्ति प्रदान

56 पटक पढिएको

१२ मंसिर २०८३, शुक्रबार १५:३९ सम्पादक: धादिङ न्यूज

धादिङ, ११ मङ्सिर २०८३। भोटेकोशी बाढीका कारण अभिभावक गुमाएका रसुवा, नुवाकोट र धादिङका विपद् प्रभावित विद्यार्थीहरूलाई मंसिर ११ गते शुक्रबार एक कार्यक्रमका बीच छात्रवृत्ति प्रदान गरिएको छ।

धादिङको गल्छी गाउँपालिकास्थित बैरेनीमा रहेको सक्सेस एकेडेमीमा आयोजित ‘विपद् प्रभावित विद्यार्थीका लागि चिनियाँ राजदूत छात्रवृत्ति २०२६’ वितरण समारोहमा बाढीमा परी आमाबुबा वा कुनै एक अभिभावक गुमाएका विद्यार्थीहरूलाई प्रतिविद्यार्थी २० हजार रुपैयाँका दरले छात्रवृत्ति रकम तथा प्रमाणपत्र हस्तान्तरण गरिएको हो।

नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालय र नेपालस्थित चिनियाँ दूतावासको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले गरेको थियो। कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई, रसुवा नुवाकोट र धादिङ सह-आयोजकका रूपमा रहेका थिए।

यसअघि चिनियाँ राजदूत माओ मिङमार्फत शिक्षा मन्त्री समक्ष १ करोड १० लाख रुपैयाँ बराबरको प्रतीकात्मक चेक हस्तान्तरण गरिएको थियो। सोही बमोजिम राष्ट्रिय बालबालिका अधिकार परिषद् र सम्बन्धित शिक्षा इकाईबाट अद्यावधिक गरिएको विवरणका आधारमा यो छात्रवृत्ति वितरण गरिएको हो।

समारोहमा चिनियाँ राजदूत माओ मिङका साथै शिक्षा  मन्त्रालयका खेलकुद तथा विद्यालय महाशाखाका सहसचिव शिव कुमार सापकोटा, विद्यालय शिक्षा शाखा प्रमुख एवं उपसचिव शिव प्रसाद रेग्मी, नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष हरिशचन्द्र शाह तथा शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख कृष्ण कुमार श्रेष्ठको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा स्थानीय शिक्षा शाखाका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।