५८ वर्षदेखि निरन्तर लाग्दै आएको नीलकण्ठ–१२ पशुपति मन्दिरको बालाचतुर्दशी मेला यस वर्ष पनि भव्य रूपमा लाग्ने (भिडियो सहित)

43 पटक पढिएको

१३ मंसिर २०८३, शनिबार १९:२२ सम्पादक: धादिङ न्यूज

धादिङबेसी । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थित पशुपति मन्दिरमा परम्परागत रूपमा लाग्दै आएको बालाचतुर्दशी मेला यस वर्ष पनि विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमका साथ आयोजना गरिने भएको छ । पशुपति मन्दिर व्यवस्थापन समितिले मंसिर १२ गते शनिबार मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी मेलाको तयारीबारे जानकारी गराएको हो ।

तत्कालीन साङकोष, सांखु र मुरलीभन्ज्याङ गाउँपञ्चायतको संगम स्थल तथा विन्दुकेशरा र आँखु खोलाको दोभान नजिकै अवस्थित यस मन्दिरमा वि.सं. २०२३ सालदेखि औपचारिक रूपमा बालाचतुर्दशी मेला लाग्न थालेको हो । मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष बद्रीप्रसाद लम्सालका अनुसार तत्कालीन राजा महेन्द्रबाट लिखित स्वीकृति लिएर २०२३ सालमा मेलाको सुरुवात गरिएको ऐतिहासिक प्रमाण भेटिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै पूर्व अध्यक्ष लम्सालले २०२३ सालअघि सदियौँदेखि उक्त स्थानमा भगवान् शिवको पूजा आराधना हुँदै आए पनि बालाचतुर्दशी मेला भने राजाको अनुमतिपछि मात्र सुरु भई हालसम्म निरन्तर चलिरहेको बताउनुभयो । त्यस समयमा बालाचतुर्दशी मेला सञ्चालन गर्न राजाबाट अनुमति लिनुपर्ने चलन रहेको र तत्कालीन पण्डित तथा बुद्धिजीवी जीवनाथ लम्साल र षडानन्द कोइरालाले राजाबाट लिखित अनुमति ल्याई मेला बसाल्न सुरु गरेको बुढापाकाहरूको भनाइ छ ।

हरेक वर्ष झैँ यस वर्ष पनि बालाचतुर्दशीको अघिल्लो रात दिवंगत आफन्तको नाममा रातभरि जाग्राम बसी बत्ती बाल्ने, भजनकीर्तन गर्ने तथा फूलको डोली मन्दिरमा चढाउने जस्ता धार्मिक कार्यहरू हुने भएको छ । मंसिर २१ गते बिहान शतबीज छरेसँगै मेला समापन हुनेछ ।

जात्रालाई शान्तिपूर्ण र व्यवस्थित बनाउन मन्दिर व्यवस्थापन समिति, नीलकण्ठ नगरपालिका, वडा नम्बर १२ कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा नेपाल प्रहरीसँग समन्वय गरी आवश्यक सुरक्षाको व्यवस्था मिलाइने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मिलन भण्डारीले जानकारी दिनुभयो । गत वर्षको उपस्थितिलाई हेर्दा यस वर्ष मेलामा १५ हजारभन्दा बढी भक्तजन आउने अनुमान गरिएको समितिले जनाएको छ ।

बालाचतुर्दशीको धार्मिक महत्व हिन्दु धर्मावलम्बीहरूको महत्वपूर्ण चाडमध्येको एक बालाचतुर्दशी पर्व प्रत्येक वर्ष हेमन्त ऋतुको मार्गकृष्ण चतुर्दशीका दिन दिवंगत पितृहरूको उद्धार तथा सम्झनामा शतबीज छरेर मनाइन्छ । त्रयोदशीको साँझ विभिन्न शिवालयमा गई दीप प्रज्वलन गर्ने र रातभरि जाग्राम बसी भोलिपल्ट अर्थात् चतुर्दशीको दिन बिहानै शतबीज रोपण गर्ने धार्मिक परम्परा छ ।

शिवालयमा छरिने शतबीजमा मुख्यतः धान, जौ, गहुँ, चना, तिल, कागुनु र मकैका साथै केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती, निबुवा, बिमिरो, अमला लगायतका फलफूल र फूलहरू समावेश गर्ने गरिन्छ । यस दिन देशभरका शिवालय मन्दिरहरूमा शतबीज छर्ने श्रद्धालुहरूको बाक्लो घुइँचो लाग्ने गर्दछ ।