देउवा समूहको समानान्तर गतिविधिप्रति कांग्रेसको ध्यानाकर्षण, झण्डा र नाम दुरुपयोग नरोके कारबाही हुने
47 पटक पढिएको
काठमाडौं, १२ मंसिर २०८३ । नेपाली कांग्रेसले पार्टीको आधिकारिक नाम, चारतारे झण्डा तथा चुनाव चिन्ह ‘रुख’ को अनधिकृत प्रयोग नरोके पूर्वसभापति शेरबहादुर देउवा पक्षधर समूहमाथि विधान र कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ।
पार्टी केन्द्रीय कार्यसमितिको बैठकपछि महामन्त्री प्रदीप पौडेलले देउवा समूहका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जानकारी दिएका हुन्। बैठकले पार्टीको नाम अंकित लेटरप्याड, ब्यानर, छाप तथा आधिकारिक प्रतीकहरूको दुरुपयोग भइरहेको निष्कर्ष निकालेको महामन्त्री पौडेलले बताए।
महामन्त्री पौडेलका अनुसार केही व्यक्ति तथा समूहले पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग गर्दै भेला र महाधिवेशनका नाममा समानान्तर गतिविधि सञ्चालन गरिरहेका छन्। यस्ता कार्यले पार्टीको वैधानिक पहिचान र संस्थागत मर्यादामा आँच पुर्याउनुका साथै आम नागरिक तथा शुभेच्छुकहरूमा भ्रम सिर्जना गरेको कांग्रेसको ठहर छ।
केन्द्रीय कार्यसमितिले यस्ता अनधिकृत गतिविधि तत्काल बन्द गर्न र त्यस्ता कार्यक्रमलाई पार्टीको आधिकारिक गतिविधिका रूपमा प्रचारप्रसार नगर्न सम्बन्धित पक्षलाई सचेत गराएको छ। निर्देशन विपरीत पार्टीका प्रतीकहरूको दुरुपयोग जारी राखेमा पार्टीको विधान र प्रचलित नेपाल कानुनअनुसार कानुनी प्रक्रिया अगाडि बढाइने निर्णय बैठकले गरेको छ।







