नलाङमा तिमिल्सिना बन्धुहरुको कुलमाता मंगलाशयनी मन्दिरको निर्माण

1392 पटक पढिएको

सम्पादक: Dhading News

timilsina mandir नलाङ–धादिङको नलाङ गाउँ विकास समिति वडा नम्वर ७ बैरेनी पहरेमा निर्माण सम्पन्न भएको तिमिल्सिना बन्धुहरुको कुलमाता मंगलाशयनी मन्दिरको सोमवार उद्घाटन गरिएको छ । मन्दिर निर्माण समितिका संयोजक जगन्नाथ शर्मा तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मौद्गल्य बंश प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष एवं तिमिल्सिना समाज नेपालका संरक्षक विष्णुहरी तिमिल्सिनाले सोमवार मन्दिरको उद्घाटन गर्नुभएको हो । धादिङका तिमिल्सिना बन्धुहरुले कुल पुजा गर्ने दिन अनन्त चतुर्दशीका अवसरमा निर्माण सम्पन्न भएको मन्दिरको उद्घाटनका साथै कुल पुजा पनि गरिएको हो । मन्दिर निर्माणका लागि ३ लाख ६७ हजार ८ सय २७ रुपैँया खर्च भएको र मन्दिर निर्माणका क्रममा विभिन्न ठाउँका तिमिल्सिना बन्धुहरु र अन्य व्यक्तिहरु समेतबाट चन्दा सहयोगबाट ३ लाख ८० हजार २ सय १२ रुपँैया संकलन भएको तिमिल्सिना समाज धादिङका सल्लाहकार दामोदर तिमिल्सिनाले जानकारी दिनु भयो ।
यसैविच सो मन्दिरमा सोमवार नै माता मंगलाशयनि र शिव पार्वती तथा गणेशको मुर्ति प्रतिस्थापन गरिएको छ । कार्यक्रममा विशेष अतिथि रहनुभएका दुग्ध विकास संस्थानका महाप्रबन्धक गंगा तिमिल्सिनाले माता मंगलाशयनीको र आत्म मिलन सहकारी संस्थाका पूर्व अध्यक्ष एवं तिमिल्सिना समाज नेपालका सल्लाहकार माधवराज तिमिल्सिनाले शिव पार्वती र गणेशको मुर्ति प्रतिस्थापन गर्नुभएको थियो । यसअघि नलाङ ७ बैरेनीबाट मन्दिर भएको स्थल पहरेसम्म मुर्तिको साथमा कलस यात्रा समेत गरिएको थियो । मन्दिर उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि विष्णुहरी तिमिल्सिनाले धादिङको नलाङमा तिमिल्सिना बन्धुहरुले मन्दिर निर्माण गरी एकै ठाउँमा कुल पुजा गर्ने परम्पराको शुरुवात गर्नुभएको भन्दै प्रशंसा गर्नुभएको थियो । साथै यस कार्यबाट अन्य ठाउँका तिमिल्सिना बन्धुहरुले पनि पाठ सिक्नुपर्ने उहांको धारणा थियो । साथै कार्यक्रमका अवसरमा उहाले मौद्गल्य बंश प्रतिष्ठानको तर्फबाट मन्दिर निर्माणको लागि संकलन गरिएको ५२ हजार ८ सय ६० रुपैँया मन्दिर निर्माण समितिका संयोजक जगन्नाथ शर्मा तिमिल्सिनालाई हस्तान्तरण गर्नुभयो । यसैविच मन्दिर निर्माण गरी उदाहरणीय कार्य गरेको भन्दै प्रतिष्ठानका तर्फबाट उहाले तिमिल्सिना समाज नलाङ इकाई लाई र मन्दिर निर्माणको कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको भन्दै तिमिल्सिना समाज धादिङका सल्लाहकारहरु दामोदर तिमिल्सिना र टंकनाथ शर्मा तिमिल्सिनालाई व्यक्तिगत रुपमा प्रशंसा पत्र पनि प्रदान गर्नुभएको थियो । कार्यक्रममा धादिङका विभिन्न स्थानमा बसोबास गर्दै आउनुभएका तिमिल्सिना बन्धुका साथै गोरखा, नुवाकोट, चितवन तथा काश्कि र काठमाण्डौबाट समेत तिमिल्सिना बन्धुहरुको समेत सक्रिय सहभागिता रहेको थियो । मन्दिर उद्घाटन कार्यक्रममा तिमिल्सिना समाज नेपालका पूर्व अध्यक्ष शान्तिकुमार तिमिल्सिना, समाजका केन्द्रिय उपाध्यक्ष जगन्नाथ तिमिल्सिना, आत्ममिलन सहकारी संस्थाका अध्यक्ष कपिल तिमिल्सिना, केन्द्रिय सदस्य विद्या तिमिल्सिना, जनक तिमिल्सिना, तिमिल्सिना समाज गोरखाका अध्यक्ष विदुर तिमिल्सिना लगायतको आतिथ्य रहेको थियो ।