फेसबुकबाट सुरु भएको कृषि अभियान गोष्ठीमा परिणत

614 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

जीवन सुवेदी÷

पोखरा १ कार्तिक-कृषि पेशा अपनाउनेहरुको लहर नै चलेको छ अहिले । कसैले लगानीका लागि कृषि क्षेत्र निकै राम्रो छ भनेकै भरमा पनि कृषि क्षेत्रमा प्रवेश गर्नेहरुको कमी पनि छैन पछिल्लो समयमा । कृषि क्षेत्रमा लागेर प्राप्त गरेका सफलता र त्यसमा देखिएका चुनौतीहरु एक कृषकले अर्को कृषकलाई भन्न सकेका छन् कि छैनन् होला ? त्यो पनि पूर्व मेचीका कृषकले पश्चिम बर्दियाका कृषसंग प्रत्यक्ष भेटेर अनुभव साटासाट गर्न कत्तिको पाएका होलान् ? हिमाली क्षेत्रमा गर्न सकिने कृषि प्रणालीबारे तराईका कृषलाई कति चासो हुँदो हो ? हो यस्तै आम सवालहरुको ख्याल गर्दै कृषि क्षेत्रमा केही गरौँ भन्ने सोच बनाउनुभएका कृषि विज्ञ डा राजेन्द्र देवकोटाको प्रयासमा पोखरामा शनिबारदेखि दुईदिने कृषि उद्यम गोष्ठी सुरु भएको छ । जर्मनीबाट प्रांगारिक कृषिमा पि एच डी गर्नुभएका देवकोटाले विदेश पलाएन भएका १५ प्रतिशत यूवाहरुलाई नेपालमै केही गर्न सकिन्छ भन्ने सोच जगाउनका लागि यस किसिमको कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
कृषिलाई आधुनिकीकरण र सूचना प्रविधि संग जोड्नुपर्छ भन्ने मान्यताअनुरुप सामाजिक सञ्जाल फेसबुक मार्फत पुर्वदेखि पश्चिम र तराईका विभिन्न जिल्लादेखि पहाडी क्षेत्रका कृषकहरुलाई पोखरामा भेला गर्ने उहाँको यस कार्यको सहभागीहरुले पनि खुलेर प्रशंसा गरेका छन् । उद्यमीहरुका कृषि कर्म, सफलता, चुनौती, प्रविधिको प्रयोग, विउ विजनको उपचार, न्युनतम लगानीमा उच्च प्रतिफलयूक्त बाली र नेपालमा कुन क्षेत्रमा कुन खेतीको विस्तार गर्न सकिन्छ भन्ने विषयमा गोष्ठी केन्द्रित गरिएको छ । साथमा कृषिमा देखिएका चुनौतीहरुबारे पनि विज्ञहरुसंग परामर्श गरिएको छ ।
उद्यमी कृषकहरुले राखेका सफलताका कथा र देखिएका चुनौतीहरुका कारण स्वयं उपस्थित अन्य र कृषी उद्यमीहरुलाई जानकारी र वलियो समाधान बनेको सहभागीहरुको भनाई छ । नेपालमा भर्खर सुरु भएको किवी खेती होस या हिमाली क्षेत्रमा हुने चौँरी पालन, तराई क्षेत्रमा गरिने केराखेती देखि, सिताके च्याउखेती, कुखुरा पालन, बंगुरपालन लगायत थुप्रै क्षेत्रका कृषकहरुले आ आफ्ना सफलताका कथाहरु व्यक्त गरेका छन भने व्यवसायमा देखिएका चुनौतीहरुका बारेमा पनि जिज्ञासा राख्ने अवसर पाएका छन् । उद्यमीका जिज्ञासाहरुको समाधान पनि विज्ञहरुमार्फत नै गरिएको छ । कृषि विकास बैँकका पूर्व प्रवन्धक शिव अधिकारी, पश्चिम क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेका प्रमुख डा रामचन्द्र अधिकारी, कृषि तथा बन विश्व विद्यालय रामपुर चितवनका प्राध्यापक डा.मोहन शर्मा, कृषि विकाश कार्यालय कास्कीका बागवानी अधिकृत मनोहर कडरिया लगायतले उद्यमीहरुका समस्याको समाधान प्रयास गर्नुभएको छ । साथमा आईटिको क्षेत्रमा अध्ययनरत विद्यार्थी हरुले कृषि क्षेत्रका समस्या र समाधानको उपाय कसरी गर्न सकिन्छ भनेर आप्mनो विचार तथा जानकारीहरु समेत प्रस्तुत गरेका छन् ।
सँधै सरकार वा गैर सरकारी संस्थाको भरमा गोष्ठी र तालिम हुने आम परम्रालाई तोड्दै यस गोष्ठीमा देशभरका कृषि उद्यमीहरु स्वयं आफ्नै लगानीमा पोखरामा भेला भएका हुन् । पोखरा बाहिरका व्यक्तिहरुले दुईदिनको आवासीय सुविधा सहित रु पाँचहजार गोष्ठीकै लागि खर्चेका छन् भने पोखराका व्यक्तिले रु पच्चीस सय रुपैयाँ खर्च गरेर गोष्ठीमा सहभागी भएको अभियन्ता डा राजेन्द्र देवकोटाले बताउनुभयो । कार्तिक दुईगते पोखरा घोषणापत्र जारी गर्दै सकिनले लक्ष्य राखिएको सो गोष्ठीमा देशभरबाट जम्मा भएका करिब एक सय जनाको सहभागिता रहेको छ । सामाजिक सञ्जालको प्रभावले यति महत्वपूर्ण कार्यक्रम हुन सफ भएकोमा सबै सहभागी यतिबेला दंग परेका छन