धादिङमा बेमौसमी झरीले काटेको धान खेतमै भिज्दा भयो नोक्सानी
377 पटक पढिएको
धादिङ,१९ कात्तिक २०८१ । तिहार लगत्तै धान भित्र्याउने तयारीमा रहेका धादिङका किसानलाई सोमबार आएको वेमौसमी झरीले नोक्सानी पु¥याएको छ ।
बेमौसमी झरीका कारण धादिङको अधिकांश भूभागमा पाकेको धानबालीमा क्षति पुगेको छ । सोमबार विहानै परेको झरीका कारण काटेर भित्र्याउने बेलाको धानबालीमा क्षति पुगेको हो। पाकिसकेको धानबाली क्षति भएपछि किसानहरु चिन्तित भएका छन्।
सोमबार दिउँसो धान थन्क्याउने तयारी गर्र्दा गर्दै काटेको धान खेतमै पानीले डुवेको नीलकण्ठ ९ का हरिशरण नेपालले वताउनुभयो । विहान हल्का बर्षा भएको थियो, दिउँसो खेताला लगाएर धान थन्क्याउने तयारी गर्दा गर्दै धान खेतमै डुवेको नेपालले वताउनुभयो ।
जिल्लाको अधिकांश ठाउँमा धान काट्ने बेला भइसकेको छ ।कतिपय ठाउँमा तिहार शुरु भएपछि धान काटिएको थियो । बेमौसमी झरीले काटेको धान भिजेर नष्ट हुनुका साथै काट्ने बेला भएको धानमा समेत क्षती पुगेको सिद्धलेक गाउँपालिका वडा नम्बर ७ अमिलछापका लक्ष्मण खतिवडाले वताउनुभयो ।
जिल्लाको धुनिबेसी नगरपालिका क्षेत्रमा पनि सोमबारको झरीले धानवालीमा नोक्सानी पु¥याएको धुनिबेसी नगरपालिका वडा नम्बर ९ का बिक्रम जंग रानाले जानकारी दिनुभयो ।
गजुरी गाउँपालिका वडा नम्बर ८ का अस्मिता ढुंगानाका अनुसार उहाँहरुको खेतमा पनि काटेको धान पानीले भिजाएको छ । वेमौसमी खेतीले धेरैलाई पिडा दिएको छ । गजुरीकै सुधिर खरेपनि चार दिन अघि काटेको धान भित्र्याउन नपाउँदै पानीले भिजाएर नोक्सानी भएको बताउनुहुन्छ ।
सोमबारको वर्षाले जिल्लाको धुवांकोट लगायत अधिकांश क्षेत्रमा धानबालीमा क्षति पु¥याएको नीलकण्ठ नगरपालिका १४ धुंवाकोटका वोधपसाद नेपालले बताउनुभयो ।
जिल्लाकै ठूलो फाँट रहेको नीलकण्ठ नगरपालिका वडा नम्बर ७ को तल्लोबेसीमा धेरैले धान काटेर राखेको र सोमबार त्यो धान थन्काउने योजना रहेकोमा झरीले सबै वर्वाद पारिदिएको स्थानीय नवराज पोखरेलले वताउनु भएको छ ।
जिल्लाको १३ वटै स्थानीय तहको कुल १३ हजार ६०० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ।
वर्षाले खेतमा लगाएको धानसँगै बारीमा लगाएको कोदो बालीमासमेत क्षति पु¥याएको छ। जिल्लाका अधिकांश किसानले लगाएको धान तथा कोदो बालीमा वर्षाले क्षति पु¥याएपछि किसानलाई चिन्ता थपिएको छ।
जिल्लाको अधिकांश स्थानमा सोमबार साँझ सम्म पनि बर्षा जारी रहेको छ ।
- फाईल तस्बिर