दुर्घटनामा जिम्मेवार सबै पक्षलाई कारवाही

659 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं,कात्तिक १० –  दसैं र तिहारको अवधिमा देशका बिभिन्न ठाउँमा गम्भीर दुर्घटना भएपछि सरकार कडा रुपमा प्रस्तुत भएको छ । यसबीचमा नुवाकोट, गोरखा र ओखलढुंगामा भएका दुर्घटना गम्भीर लापर्वाहीका कारण भएको ठहर गर्दै सरकारले कडाई गरेको हो ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको सम्बन्धित सरकारी पदाधिकारीको बैठकले दुर्घटनासँग सम्बन्धित चालक, व्यवसायी र सरकारका जिम्मेवार पदाधिकारीलाई समेत कार्वाही गर्ने निर्णय गरेको छ ।

बैठकले गरेको निर्णय यस्तो छ:

विगत केही दिन देखि देशका विभिन्न भागमा निरन्तर सवारी साधनहरुको दुर्घटनाबाट भएको अत्यधिक जनधनको क्षति प्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गम्भिर ध्यानाकर्षण भएको छ । यस्ता प्रकृतिका दुर्घटनाहरु चालकहरुको गम्भिर लापरवाही, त्यस क्षेत्रमा रहेका सुरक्षाकर्मी, यातायात व्यवस्था कार्यालय एवं यातायात व्यवसायीको कमजोर अनुगमन र नियमनका साथै सवारी साधनमा क्षमता भन्दा बढी यात्रु बोक्ने प्रवृत्तिको कारणबाट हुन गएको देखिन्छ ।

यसै क्रममा डोटी, नुवाकोट, गोरखा र ‌ओखलढुङ्गामा भएका सवारी दुर्घटनाको सम्बन्धमा मुख्य सचिव लीलामणि पौड्यालको कार्यकक्षमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शान्तराज सुवेदी, गृह सचिव सूर्य सिलवाल, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय सचिव तुलसी प्रसाद सिटौला लगायत यातायात तथा सुरक्षासँग सम्बद्ध उच्च अधिकारीहरु सहितको बैठकबाट तत्काल कारवाहीको लागि निम्नानुसार निर्णय भएको व्यहोरा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शान्तराज सुवेदीले बताउनुभयो।

१    नुवाकोट,‌ओखलढुङ्गा र गोरखामा भएको गाडी साधन दुर्घटना गम्भीर लापरवाहीको कारणले भएको देखिएकोले उक्त क्षेत्रको बाटोमा पर्ने सुरक्षा निकायका प्रमुख तथा जिम्मेवार पदाधिकारीलाई तत्काल जिम्मेवारीबाट हटाई कारवाही गर्ने ।

२    दुर्घटनामा संलग्न भएका सवारी चालकले लाइसेन्स लिएको अवधि एक बर्ष भित्रको भएमा निजको लाइसेन्स खारेज गर्ने र लाइसेन्स दिने जिम्मेवार निकायका पदाधिकारीलाई समेत कारवाही गर्ने ।‍

३    अस्थायी रुट परमिटको कारणबाट दुर्घटना भएको भएमा त्यस्तो रुट परमिटको स्वीकृत दिने जिम्मेवार अधिकारीलाई कार्य जिम्मेवारीबाट हटाई कारवाही गर्ने ।

४    यातायात व्यवसायी समितिले संस्थागत रुपमा सञ्चालन गरेको सार्वजनिक सवारी साधनहरुबाट दुर्घटना भएको भएमा त्यस्ता व्यवसायीहरुसँग आवद्ध सवारी साधन सञ्चालन गर्न तत्काल रोक लगाई सडक सुरक्षाको पूर्ण प्रत्याभूती भएपछि मात्र त्यस्ता संस्थाका सवारी साधन चल्न पाउने व्यवस्था गर्ने । यस्तो कार्यबाट सर्वसाधरण यात्रुलाई पर्न जाने मर्कालाई ध्यानमा राखी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले वैकल्पिक व्यवस्था मिलाउने ।

५    डोटी जिल्लामा भएको दुर्घटनाको यथाशिघ्र छानविन प्रतिवेदन प्राप्त गरी प्रतिवेदनमा देखिएका दोषीहरुलाई हदै सम्मको कानूनी कारवाही गर्ने ।

यसका साथै सचिव सुवेदीका अनुसार सडक दुर्घटना न्यूनीकरण गर्न चालकलाई उपलब्ध गराउने लाइसेन्स वितरण प्रणाली, चालकको उमेर तथा योग्यता, सवारी साधन सञ्चालन इजाजत पत्र रुट परमिट , सवारी साधन सञ्चालन हुने मार्गमा रहने सुरक्षा कर्मीहरुको दायित्व तथा जिम्मेवारी समेत स्पष्ट किटान गरी गृह एवं भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले कार्यान्वयनमा ल्याउने र भविष्यमा यस प्रकारका घटनाहरु नदोहोरिने सुनिश्चितता गर्ने निर्देशन समेत प्रधानमन्त्री कार्यालयले दिएको उज्यालो अनलाईनले खबर छापेको छ ।  ।

मिति : २०७१।७।९
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय।