भोकै, नाङ्गै सुत्छन् चेपाङ परिवार
643 पटक पढिएको
गजुरी-अन्नको नाममा एक डोको मकै । एक वर्षका लागि त्यति अन्नले आठजनाको परिवार पाल्नुपर्दछ । परिवारमा ज्याला मजदुरी गर्न सक्ने चारजना छन् । लगाउने एकसरो लुगाबाहेक अरू केही नहुँदा चिसो बढेसँगै चिसोमा कामेर रात कटाउनुपर्ने बाध्यता छ ।
दक्षिणी धादिङको जोगिमारा गाविस–१ लैताकका बुधराम चेपाङको परिवारलाई सधँैको दुःखले छाडेको छैन ।
उहाँको आठजनाको परिवारले पेटभरि खाना खान नपाएको महिनौँ भयो । बच्चाहरू निन्याउरो अनुहार लगाएर पिँढीमा एकमुठी बोडी केलाउँदै गर्दा उनका बुबा बुधराम भने कालो कराई माझ्दै हुनुहुन्थ्यो । कमाएर ल्याएको खानेकुरा सकिएपछि भोकभोकै बस्नुपर्ने भएकाले आधा पेटमै चित्त बुझाउनुपर्ने बाध्यता छ यो परिवारलाई ।
केही वर्षअघि खरले छाइएको उहाँको घर पानी परेको बेला आधा भित्रै चुहिने भएकाले केही भागमा गाउँलेले फालेको प्लास्टिक ल्याएर छानोको प्वालमा छेकिएको छ । तर केही दिनअघि परेको पानी भने घरभित्रै पसेर बस्न नसक्ने अवस्थामा पुगेको थियो । बुधरामले भन्नुभयो, त्यसरात २२ भाँडो पानी बाहिर फ्याँके ।
बुधरामको घरमा लगाउने लुगामात्र होइन आफ्नो ओछ्याउने र गुन्द्रीसमेत छैन । केही कालो भएको थाङ्नामात्र उनीहरूको सिरक डसना थिए ।
जाडो समय आयो । उनको बालबच्चा र श्रीमतीले नयाँ लुगा लगाउन नसकेको वर्षौं भयो । बुधरामले जाडोको समयमा आफूहरू अगेनामा आगो बाल्ने र अनि एक÷एक बच्चा च्यापेर ठूलामान्छे अँगेना छेउमा लस्करै सुतेर रात बिताउने गरेको बताउनुभयो ।
बुधराममात्र होइन, लैताकका खुमकुमारी चेपाङको परिवारको पनि उस्तै हालत छ । दुईजना बच्चालाई काखमा च्यापेर अगेनाको छेउमा सुतेर रात कटाउने गरेको उहाँ बताउनुहुन्छ ।
लैताकमा १० घर चेपाङ परिवारको अवस्था उस्तैखालको छ । उनीहरूले वर्षैभरि ज्याला गरेर खानुपर्छ भने अगेनाको वरिपरि सुतेर रात कटाउनुपर्ने बाध्यता छ ।
नेपाल चेपाङ सङ्घको सिफारिसमा नेपाल सरकारले चेपाङ आवास कार्यक्रमअन्तर्गतको घर केही पनि नभएका चेपाङले नपाएको गुनासो गर्दै ठूलाबडा र साहु चेपाङहरूले धेरैले यस्तो घर बनाउन पाएकाले बुधरामले बोल्न नसकेर नपाएको स्थानीय सामाजिक कार्यकर्ता गणेशबहादुर हमालले जानकारी दिनुभयो ।
आफूलाई घर दिने भन्नेलाई रक्सी खुवाउन नसकेको र पैसा दिन नसकेका कारण घर बनाउन पैसा नपाएको बुधराम चेपाङले गुनासो व्यक्त गर्नुभयो ।
लैताकमा रहेका ७५ घरमध्ये चेपाङहरूको ६५ घर रहेको छ । यीमध्ये १० घरपरिवार त आफ्नो बारीको उत्पादनले तीन महिनालाई खान पनि नपुग्ने अवस्था रहेको स्थानीय मुरली चेपाङले बताउनुभयो ।
भोकै रहेका परिवार र नाङ्गै सुत्न बाध्यले पेटभरि खाएर पानी नचुहिने घरमा सुत्न पाए भने त्यसैलाई स्वर्ग भन्ने थिए स्थानीय सामाजिक अगुवाले बताएका राससले खबर लेखेको छ ।