विद्यालयलाई जग्गा दिए ओडारको बास

508 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,मंसिर १४ – वरिपरि वनमाराको बाक्लो झाङ । झाङभित्र एउटा सानो ओडार । त्यही ओडारमा गोपाल परियारले विगत ६ वर्षदेखि रात बिताउँदै आएका छन् । दिनभरि अर्काको मजदुरी गर्ने गोपालले रात बिताउन हरेक दिन सोही ओडारको साहरा लिने गरेका छन् ।

सलाङ–५निबुवाटारमा रहेको सो ओडार गोपालको आश्रय स्थल बनेको छ । गोपाललाई रात बिताउन त्यही ओडारै प्यारो लाग्छ ।
‘भन्न त काम गरेको ठाउँमा बस्न भन्छन् । तर चाडै उठ्नुपर्छ । उनीहरुले हल्लीखल्ली गर्दा निद्रा पर्दैन ,’ उनी भन्छन्,‘दिनभरि काम गरेकाले ज्यान दुखेको हुन्छ । त्यही भएर ओडारमा आयो मस्त सुत्यो ।’

५७ वर्षीय गोपाल खाना भने काम गरेको घरमै खान्छन् । दिनभरि काम गरेबापत चार सय रुपैयाँ उनको कमाई हो । काम नगरेको दिन त्यही पैसाले खान्छन् ।

गोपाल पहिला हुनेखाने नै थिए । गाउँमा उनको जग्गा,जमिन र घरसमेत थियो । आफ्नो बाबुको मृत्युपछि परिवारमा आफू मात्र रहेकाले काकाबाले सम्पत्ति लुटेको उनको आरोप छ । उनले काकासँग मुद्दा लडेर दुई रोपनी जग्गा पनि पाएका थिए । उनले सो जग्गामध्ये एक रोपनी स्थानीय पञ्चमुखी प्रावि(हालको मावि)लाई २०३७ तिरै दान गरे । बाँकी जग्गा साहुले हडपेको उनले बताए । गोपालले जग्गा दान गरेको सो विद्यालयका प्रधानाध्यापक डिल्ली पाठकले समेत बताए । उनले भने,‘मैले स्कुल पढ्दाताकै उनले जग्गा दान गरेका हुन्।’ उनले विवाह पनि गरेका थिए । तर,श्रीमतीले विवाह गरेको १५ महिनामै छाडेर गएपछि उनी एक्लो भए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।