ल्हाक्र्याल लामालाई सभासद बनाएर आन्दोलनमा कस्तो उर्जा आउला कमरेड ?
543 पटक पढिएको
-विष्णु रिजाल
एमाओवादीले संविधानसभामा रिक्त एक सिटमा ल्हाक्र्याल लामालाई सभासद् बनाएपछि अहिले सबभन्दा चर्को विरोध उसैका कार्यकर्ताले गरिरहेका छन् । अघिल्लो संविधानसभामा एमालेबाट सभासद् रहेका ल्हाक्र्याल एमालेले एकपटक समानुपातिकबाट सभासद् भएकालाई नदोहोर्याउने नीति पारित गरेपछि चुनावको मुखमा रातारात एमाओवादीमा छिरेका थिए ।
उनलाई त्यहाँ समानुपातिक सूचीमा पनि राखियो तर निर्वाचनमा एमाओवादीको आकार खुम्चिएका कारण उनले त्यतिबेला मौका पाएनन् । एमाओवादी पराजित हुनुमा अरु धेरै कारणहरुका अलावा उसका कार्यकर्ताले भन्दै आएका छन्, पार्टी ठूलो बनाउने नाममा झारपात भित्र्याइयो, त्यसबाट पार्टीको आकार ठूलो नभएर सुन्निएको रहेछ । चुनावमा त्यही परिणाम देखियो ।
एमाओवादीले आन्दोलन घोषणा गरेको छ । नेताहरुको कार्यविभाजन गरेर मोर्चामा खटाएको छ । र, भनिँदैछ, जो आन्दोलनमा आउँदैन, त्यसको सदस्यता खारेज गरिनेछ । अझ उक्त पार्टीका अध्यक्ष पुष्पकमल दाहाल आफ्नै टाउकोबाट रगत बगाउन तयार रहेको भन्दै कार्यकर्तालाई उत्तेजित पारेर सडकमा निकाल्ने भगीरथ प्रयत्नमा छन् । यस्तो बेलामा विवादास्पद ल्हाक्र्याललाई सभासद् बनाउन किन खोजियो होला ? यसबाट आन्दोलनमा कस्तो ऊर्जाको अपेक्षा एमाओवादी नेतृत्वले गरेको होला ? आइतबार ल्हाक्र्याल सभासद् नियुक्त भएयता सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा व्यक्त प्रतिक्रिया मात्रै हेर्दा पनि एमाओवादी नेतृत्वले आफ्नो निर्णय कस्तो रहेछ भन्ने थाहा पाउनुपर्ने हो ।
सबभन्दा बढी दुःख पाएका कार्यकर्ता एमाओवादीका छन् । मूल नेतृत्वले भारतको दिल्ली र नोयडा वरपर आरामदायी जीवन बिताइरहेको बेला तिनले गाउँघरमा त्रासदीपूर्ण जीवन बिताएका छन् । राम्रो नराम्रो आफ्नो ठाउँमा छ, तिनले लडेका छन्, भिडेका छन् । कतिले हातखुटटा गुमाएका छन्, कतिले सन्तान गुमाएका छन्, कतिले अभिभावक गुमाएका छन् । अवसर आउँदा प्राथमिकतामा ती नपर्दा स्वाभाविक रुपमा आक्रोश उत्पन्न हुन्छ । हेमन्त वलीहरुलाई पाखा लगाएर रविन्द्रप्रताप शाहहरुले अवसर पाउँदा नेतृत्वको विवेकमाथि स्वाभाविक प्रश्न उठ्छ । हिजो ज्यान दिन तयार भन्दा ज्यान लिन प्रयासरतहरु कसरी एमाओवादीको प्राथमिकतामा पर्छन् ?
एमाओवादीका एकजना कार्यकर्ता छन्, गंगाबहादुर लामा । कहिलेकाहीँ उनीसँग बागबजारतिर भेट पनि हुन्छ । युद्धमा लागेर खुटा गुमाएका ती योद्धाले आफ्ना दुःखका सुस्केरालाई समेटेर एउटा किताव पनि लेखेका छन् । त्यस्ता कार्यकर्ताको सायद आज प्रचण्डसँग भेट पनि दुर्लभ हुन्छ होला ।
राजतन्त्र छउञ्जेल हालीमुहाली गरेका सूर्यबहादुर सेन ओलीदेखि एमाओवादीविरुद्ध सैनिक कारवाहीका योजनाकार कुमार फुदोंगसम्मले एमाओवादीबाट सभासद् हुने मौका पहिल्यै पाइसकेकै हुन् ।
ल्हाक्र्याल लामाका कारण एमालेमा पनि ठूलो विवाद भएको थियो । ०६४ सालको संविधानसभाको निर्वाचनका बेला उनको नाम समानुपातिक सूचीमै राख्नु हुँदैन भनेर एमालेका जनजाति कार्यकर्ताले ठूलै दवाव दिएका थिए । उनी शंकास्पद व्यक्ति हुन् र उनी एमालेसँग आवद्ध नै छैनन् भन्ने आवाज नेतृत्वसम्म पनि नपुगेको होइन । तर, के कारणले हो, उनी एमाले नेतृत्वको नजरमा परे र सभासद् भइछाडे । उनको प्रगति त्यतिमा सीमित भएन । जब झलनाथ खनाल प्रधानमन्त्री बने, त्यसपछि उनले दुनियाँलाई नै आश्चर्यमा पर्ने गरी अर्थराज्यमन्त्री पड्काए । पार्टीमा त खनालले कुनै कुरा पनि छलफल गर्दैनथे नै, स्वयम् उनलाई साथ दिइरहेका नेताहरुले पनि त्यो कुरा थाहा पाएनन् । त्यतिबेला निकै प्रश्न उठेपछि खोइ, रविलक्ष्मी चित्रकार (खनालपत्नी) ले बनाउनुभएको रहेछ, हामीलाई थाहा भएन भन्ने जवाफ सुन्न पाइन्थ्यो । पछि साह्रै भएपछि उनी राजीनामा दिन बाध्य भएका जिथए ।
आज तिनै पात्र पुष्पकमल दाहालका लागि पनि प्रिय बनेर सभासद् चयन भएका छन् ।
आवरणमा उनी भिक्षु जस्ता देखिन्छन् । पोशाक पनि त्यस्तै लगाउँछन् । तर, उनका धन्दा एक होइन, अनेक छन् । होटलदेखि अनेक अरु क्षेत्रमा उनको लगानी छ । भारतदेखि अमेरिकासम्मका विभिन्न प्रकारका संस्थाहरुमा उनको संलग्नता छ । सारमा, उनीसँग अकूत पैसा छ । अदृश्य स्रोतबाट जम्मा भएको त्यही पैसाको मोहनीमा आफूलाई क्रान्तिकारी पार्टी भन्नेका नेताहरु पनि परेका देख्दा आज सबभन्दा बढी चित्त एमाओवादीका कार्यकर्ताको दुःखेको छ ।
जब नेतृत्व प्रत्यक्ष रुपमा आर्थिक पक्षसँग जोडिन्छ, तब उसमाथिको आस्था स्वतः स्खलित हुन्छ । हिजो बाबुराम भटराई प्रधानमन्त्री हुँदा हिसिला यमीले बालुवाटारमा गड्यौला धन्दा नचलाएको भए सायद उनकै सहयात्रीले साथ छोड्ने थिएनन् । अनि पुष्पकमल दाहालको आर्थिक जीवन पारदर्शी भएको भए उनीमाथि यति धेरै आरोप पनि लाग्ने थिएनन् । अजय सुमार्गीदेखि मीनबहादुर गुरुंग र उपेन्द्र महतोसम्मको उनको सामिप्यता कुन वर्गीय प्रेम अन्तर्गत पर्छ ?
सबै गतिविधि हेर्दा लाग्छ, पुष्पकमल दाहाललाई कुनै मनोबैज्ञानिक त्रासले लखेटिरहेको छ । शाहीकालीन मुख्यसचिव लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाउन दाहालको कुन इन्द्रिय किन सक्रिय भयो होला ? रुक्मांगद कटवाललाई कारबाही गर्दा जनआन्दोलनको दोषीको हवाला दिने दाहालले त्यही जनआन्दोलनका दोषीलाई नै अख्तियारमा राख्ने के बाध्यता पर्यो होला ?
आज पार्टीले एउटा मात्र अवसर पाउँदा ल्हाक्र्यालले प्राथमिकता पाउनुपर्ने आर्थिक लाभबाहेक अरु कुनै कारण देखिँदैन । विभिन्न देशका नागरिकता धारणा गरेको, गुप्चतर संस्थाहरुसँग हिमचिम रहेको, अपारदर्शी र रहस्यमय जीवनशैली भएको एकजना विवादास्पद पात्रका पछाडि एमाओवादी सती जानुपर्नाको अरु कारण के हुन सक्छ र ?
पुष्पकमल दाहालले अर्को वर्षबाट एमाओवादीको नेतृत्व छोड्ने घोषणा गरेका छन् । यस आधारमा हेर्दा उनी अब राजनीतिको शीर्ष स्थानमा रहने छैनन् । राजनीति सकिँदै जान थालेपछि नेताहरुमा अन्तिममा आफ्ना लागि केही गरिहालौँ भन्ने हुँदोरहेछ जस्तो लाग्छ । झलनाथ खनालले पार्टी सचिवलाई हटाएर आफ्नो स्वकीय सचिवलाई त्यसै मन्त्री बनाएका होइनन् होला ।
निष्कर्षमा भन्दा, पुष्पकमल दाहालमा राजनीतिक पक्ष गौण र आर्थिक पक्ष हाबी हुँदै गएको देखिन्छ । उनका अपारदर्शी आर्थिक सम्बन्धका कडीहरु यसरी नै एकपछि अर्को गर्र्दै खुस्किँदै गएका छन् । थाहा छैन, यस यात्राको अन्तिम पटाक्षेप कहाँ पुगेर हुने हो ?
– काठमाण्डु टुडे डट कमवाट