त्रिभुवन विमानस्थल भन्सारका ३५ अधिकृतसहित १३७ कर्मचारीले मागे एकैसाथ सरुवा

92 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका १३७ जना कर्मचारीले सामूहिक सरुवा माग्दै भन्सार विभागमा निवेदन दिएका छन् ।

विभागका महानिर्देशकलाई सम्बोधन गर्दै मंगलबार ३५ अधिकृतसहितका कर्मचारीले एकैसाथ सरुवा मागेका हुन् । विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले पनि कर्मचारीहरुले सरुवा माग्दै निवेदन दिएको पुष्टि गरे ।

अनलाइनखबरलाई प्राप्त सरुवा माग्दै दिइएको निवेदनमा ‘६० किलो सुनका विषयलाई लिएर विभिन्न निकायबाट अनुसन्धान र छानबिनको वहानामा विनाकारण दुःख दिने र मानसिक रुपमा क्षतविक्षत बनाउने काम भएको’ भनिएको छ ।

राज्यबाट उपलब्ध स्रोत, साधनको अधिकतम उपयोग गरेर आफ्नो ज्ञान, सीप र क्षमताले भ्याएसम्म असल नियत र मनसायका साथ कार्यजिम्मेवारी पूरा गर्दै आएकामा अहिले विनाकारण दुःख दिने काम भएकाले कामकाज गर्न कठिनाइ भएको निवेदनमा उल्लेख गरिएको छ ।

‘घटनामा दोषी जो कोहीलाई कानुन बमोजिम कारबाही गरियोस् भन्ने कुरामा हाम्रो कुनै दुईमत रहेन तर, कर्तव्य पालनाका सिलसिलामा खटिएका कर्मचारीहरुमाथि अनावश्यक धरपकड गर्ने, प्रमाणबिना थुनामा राख्ने, संलग्नता भएका यथेष्ट प्रमाण नहुँदा नहुँदै समेत पक्राउ गरी दुःख दिने नियत देखिएको हुँदा कार्यालयमा उपस्थित भइ तोकिएको कार्यजिम्मेवारी पूरा गर्न हामी कर्मचारीहरुमा व्यक्तिगत मनोवैज्ञानिक त्रास उत्पन्न भएको छ’, निवेदनमा भनिएको छ ।

विनाकारण भोग्नु परेको मानसिक तनावका कारण घर, परिवार तथा समाजबाट समेत बहिष्कार हुने स्थिति सिर्जना भएको कर्मचारीहरुले उल्लेख गरेका छन् । ‘हामीसँग सरोकार राख्ने विभिन्न निकायले हामीप्रति हेर्ने दृष्टिकोण समेत पूर्ण रुपमा नकरात्मक हुँदै गएको अवस्था छ’, निवेदनमा भनिएको छ । (अनलाइन खबर)

सामुहिक सरुवा निवेदन हेर्न तल क्लिक गर्नुहोस्।
सामुहिक सरुवा निवेदन