खाजा खान नपाएपछि चेपाङ बालबालिकाले विद्यालय छाडे

468 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_0216धादिङ-गत वर्षहरुमा विद्यालयमा खाजा कार्यक्रम लागू गरिएको थियो तर यस वर्ष विद्यालयमा खाजा खान नपाएपछि चेपाङ बालबालिकाले विद्यालय छाडेका छन् ।

घरमा समेत खानेकुरा नभएर विद्यालयको खाजा कार्यक्रमकै कारण आफ्नो जीवन धान्दै आएकी धुषा गाविस–७ सोलडाँडाकी उर्मिला चेपाङ यस वर्ष विद्यालय आइनन् ।

उर्मिला मात्र होइन उनकी दिदी बहिनी एक भाइसमेतले विद्यालयमा खाजा खान पाइन छाडेपछि विद्यालय जान नै छाडेका छन् । घरमा खानेकुरा छैन उनीहरुको जग्गामा फलेको अन्नले मुस्किलले तीन महिनालाई समेत खान पुग्दैन । त्यसैले उनको परिवार पाल्नका लागि बाबुआमा सधैँ ज्याला मजदुरीमा जाने भएकाले बालबालिकाको खाना विद्यालयको भरमा रहेका महारुद्र प्राविका प्रधानाध्यापक अप्सरा पाण्डेले बताउनुभयो ।

उर्मिला चेपाङ र उनको भाइबहिनीमात्र होइन महारुद्र प्राविमा अध्ययन गर्ने ईश्वर चेपाङ पनि विद्यालयको खाजाको भरमा बाँचिरहेका थिए । विद्यालयले खाजा नदिएपछि यो वर्ष विद्यालय आएका छैनन् । ईश्वरको आमाको मृत्यु भइसकेको छ भने उनका बुबाले अर्को विवाह गरी बेवास्ता गरेपछि उनी खानेकुरा खोज्नका लागि गाउँमा माग्न हिँड्न बाध्य छन् । सकेको काम गर्छन् र मागेर खान्छन् ।

बुद्धिमाया चेपाङ पनि दुई भाइ र एक बहिनीसहित विद्यालय छाडेका छन् । घरमा खानेकुरा नभएको र विद्यालयले समेत खाजा नदिएपछि उनी पनि खानका लागि विद्यालय छाड्न बाध्य भएका हुन् ।

बेनीघाट गाविस– ५ लामीडाँडास्थित महारुद्र प्राविमा भर्ना भएका ६० जनामध्ये ४७ जना चेपाङ समुदायका रहेका छन् ।

कक्षा २ सम्म अध्यापन हुने सो विद्यालयमा गत वर्ष जिल्ला शिक्षा कार्यालयले खाजा कार्यक्रमका लागि रकम पठाएको थियो । खाजा खान पाएपछि घरमा खानेकुरा नहुने बालबालिका सबै विद्यालय आउने गरेका थिए तर यस वर्ष खाजा नपाएपछि उनीहरु खानेकुरा खोज्न अन्यत्रै जानुपरेका कारण विद्यालय छाडेका प्रधानाध्यापक पाण्डेको भनाइ छ ।