किशोरावस्थामा धूमपानप्रतिको आकर्षण र असरहरू

759 पटक पढिएको

सम्पादक: Dhading News

 UKRAINE CHILDREN SMOKERSकिशोरावस्था भन्नाले १० देखि १९ बर्षसम्मको अवस्थालाई जनाउँछ भने धूमपान भन्नाले चुरोट, बिँडी, सिगार, हुक्का, कक्कड, खैनीजस्ता सुर्ती तथा सुर्तीजन्य पदार्थको सेवन गर्नुलाई बुझिन्छ । यस उमेरमा किशोरहरुमा  शारीरिक तथा मानसिक परिवर्तनहरु आउछन्, जस्तै – बढी चन्चल हुने, नक्कल गर्न बढी रुचाउने वा नयाँ कुरा सिक्न उत्सुक हुने, साथीहरुसँग बढी घुलमिल हुने हुन्छन् । यस्तो अवस्थामा आफ्नो लागि के राम्रो, के नराम्रो आफैं छुट्याउन नसक्ने भएकाले उनिहरु धूमपानको कुलतमा सजिलै फस्न सक्छन् । फेरि सुर्तीजन्य पदार्थका नराम्रा असर तत्कालै नदेखिने र उनिहरुले पनि रमाइलोको लागि सुर्तीजन्य पदार्थको सेवन गर्दै जाँदा पछि गएर कुलतबाट छुटाउन धेरै गाह्रो पर्दछ । जसको फलस्वरुप उनीहरु भविष्यमा फोक्सो, श्वासनली, मुख, मुटु, पेट, आँखा, मष्तिस्कसम्बन्धी खतरनाक रोगहरुबाट ग्रसित हुन्छन् । त्यसको असरहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा परिवार, समाज र देशलाई समेत पर्दछ । नेपाल पनि  अत्याधिक धूमपान सेवन गर्ने देशमा गनिन्छ । धूमपान गर्नेहरुमा प्रायः किशोरावस्थाबाट धुम्रपान गर्न सुरु गरेकाहरु छन् । धूमपानले धेरै प्रकारका स्वास्थ समस्या निम्त्याउछ, जसको कारण मानिस अकालमा नै मृत्युको मुखमा पर्छन् । धूमपानको कारणबाट मानिसलाई २५ प्रकारका रोगहरु लाग्ने कुरा विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ । विश्वमा यसको कारणबाट प्रतिवर्ष ५४ लाख मानिसहरुको मृत्यु हुने गर्दछ भने नेपालमा १५००० मानिसहरुको मृत्यु धूमपान  तथा सुर्तिजन्य पदार्थ सेवनका कारणबाट लाग्ने रोगहरुबाट हुने गर्दछ । एक अध्ययन अनुसार एक खिल्ली चुरोट सेवन गर्ने व्यक्तिको ७ मिनेट आयु घट्ने गर्दछ । धूमपान तथा सूर्ती सेवनबाट तत्कालै हुने समस्याहरु– खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, दम बढ्ने, कसै कसैलाई वाक वाक लाग्ने, पेट दुख्ने, रुची घट्ने, दुब्लाउदै जाने, यौन चाहनामा ह्रास आउने आदि स्वास्थ्य समस्या देखिन्छ भने दीर्घकालिन समस्याहरुमा दाँत बिग्रने, औला पहेलो हुने, स्याँ स्याँ (दम बढ्ने) तथा अन्य श्वासप्रश्वास सम्बन्धी जीर्ण रोगहरु, रगत तथा रक्त नलीमा असामान्य परिवर्तन हुने, मुटुको रोग, मस्तिष्कमा रक्तश्राव, क्यान्सर आदि स्वास्थ्य सम्स्या देखिन्छन् । धूमपान गर्ने व्यक्तिले हावामा फालेको धुवा उसका वरपर रहेका व्यक्तिले लिन्छन् । यसरी हावामा फालिएको धुवा लिने व्यक्तिलाई निस्क्रिय धूमपानकर्ता भनिन्छ । चुरोटबाट निस्कने धुवाँ मध्ये २५ प्रतिशत धूमपान गर्ने व्यक्तिले शरीरभित्र तान्छ र बाँकी ७५ प्रतिशत हावामा फाल्ने गर्छ । धूमपान गर्ने व्यक्तिले निकालेको धुवाले धूमपान नगर्ने निस्क्रिय धूमपानकर्तालाई पनि उत्तिकै समस्या उत्पन्न गराउँछ भन्ने चर्को बहस पनि आजकाल हुन थालेको छ । हावामा फालिएको धुँवामा धूमपान गर्ने व्यक्तिले तानेको धुवामा भन्दा दुईगुणा निकोटिन, तीन गुणा टार, पाँच गुणा भन्दा बढी कार्वनमोनोअक्साईड र ५० गुणा भन्दा बढी क्यान्सरजन्य रसायनहरु हुन्छन् । धूमपानको लत लागि सकेपछि छोडन त्यति सजिलो हुँदेन । निश्चय नै यसको लागि आत्मबलको खाँचो पर्दछ । जसले आफ्नो मन र इन्द्रियलाई नियन्त्रण गर्न सक्दैन, उसले चाहेर पनि धूमपान तथा सूर्तीजन्य पदार्थहरुको सेवन त्याग्न सक्दैन । धूमपान गर्ने धेरै जसोलाई सोध्दा उनीहरुलाई यसले गर्ने हानीबारे  थाहा हुँदाहुँदै र छोड्ने इच्छा समेत हुँदाहुँदै पनि छोड्न सकिरहेका हुँदैनन् । उनीहरुको एउटै गुनासो के छ भने धूमपान छोड्नलाई पर्याप्त तरीका तथा सूचना र जानकारीमूलक सामग्रीहरु भेटिदैनन् । त्यसैले धूमपान छोड्न चाहनेले उपयुक्त योजना बनाउनु आवश्यक छ । धूमपान छोड्न निरन्तरता दिनका लागि आफैले यसबाट हुने हानीको कल्पना गर्ने, धूम्रपान छाड्दा प्राप्त गर्ने फाइदाबारे सोच्ने, धूमपान आरामसँग छोड्दै जाने र छाड्न सक्छु भन्ने आत्मबलको विकास गर्ने, धूमपान गर्ने अन्य व्यक्तिहरुलाई पनि धूम्रपान त्याग्न सल्लाह दिने आदि । त्यसैले किशोरावस्था एक गतिशिल अथवा कुनैपनि कुराहरु चाँडै सिक्ने अवस्था भएको हुनाले यस अवस्थामा उनिहरुलाई बिशेष निगरानीमा राख्ने वा उनीहरुलाई धुम्रपानका असरहरुका बारेमा राम्ररी बुझाउन आवश्यक छ ।  साथै नेपाल सरकारको तर्फबाट पनि धुम्रपानको असरबारे बारे हरेक सहर, बजार अनि गाउँगाउँमा जनचेतना जगाउनु आवश्यक छ । –