पुकुनका पिडितलाई सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

517 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Sushil Koirala 1धादिङ २७ फागुन ।  प्रधानमन्त्री सुशील कोइरालाले बीउका लागि राखेको विषाक्त गहूँ पिसेर बनाएको रोटी खाँदा मृत्यु भएका धादिङ पीडाका सञ्जबहादुर तामाङको परिवारका बाँकी सदस्यहरुलाई राहत र बिरामी परेका व्यक्तिहरुको स्वास्थ्योपचारमा सरकारले सहयोग गर्ने वचन दिनुभएको छ ।

बिषाक्त गहुंको पिठोवाट बनेको रोटी खाएर ज्यान गुमाएकाहरुको परिवारलाई सरकारको तर्फबाट  सहयोग गर्न प्रधानमन्त्री सुशिल कोईरालाको ध्यानकर्षण पछि उहांले सहयोग गर्ने वचनवद्धता व्यक्त गर्नु भएको हो । नेपाली कांग्रेस धादिङका सभापति एवम पुर्व सभासद रामनाथ अधिकारीको नेत्तृत्वमा गएको प्रतिनिधि मण्डलले बुधवार प्रधानमन्त्री कोईरालालाई भेटेर सहयोगका लागि माग गरेको हो ।  अधिकारीको नेतृत्वको प्रतिनिधिमण्डलले यस घटनाका सन्दर्भमा प्रधानमन्त्रीलाई दिएको ज्ञापनपत्र बुझ्दै सो वचन दिनुभएको हो । ज्ञापनपत्रमा यस घटनाबाट पीडित परिवारलाई आर्थिक सहयोग र बिरामीको स्वास्थोपचारको सम्पूर्ण व्यवस्था गर्नेसहित विषादीका बारेमा आमजनतालाई सही जानकारी दिने व्यवस्था गर्न माग गरिएको छ ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले बडो दुःखद घटना भएको उल्लेख गर्दै भन्नुभयो–“ नेपाली काँग्रेस पार्टी सभापति र सरकार प्रमुखका रुपमा पीडितलाई सक्दो सहयोग गर्नेछु । दुःखमा परेकालाई सहयोग गर्ने सरकारको दायित्व नै हो ।” उहाँले प्रश्न गर्दैैै भन्नुभयो–“यस्तो बेलामा सहयोग नगरे कहिले गर्ने ?”

बीउका लागि राखेको विषाक्त गहुँ पिसेर बनाएको रोटी खाँदा धादिङ पिँडा गाविस पुकुनका सञ्जबहादुर तामाङको परिवारका ६ सदस्यको सोमबार निधन भएको थियो । सोही घट्टमा पिसिएको गहुँ र कोदोको पीठोबाट बनाएको रोटी खाँदा थप ४१ बिरामी परेका छन् ।

प्रधानमन्त्री कोइरालाले मङ्गलबार साँझ एक समवेदना सन्देश दिँदै सो घट्नाले आफूलाई मर्माहत बनाएको बताउनु हुँदै दिवङ्गत हुनुभएकाको आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको थियो ।