हतकडीसहित कैदी भगाउने इन्स्पेक्टरलाई थुनामा राखेर अनुसन्धान

842 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

kaidi_farar_633933578_456356135काठमाडौं : डिल्लीबजार कारागारका एक कैदीलाई भगाएको आरोपमा कारागारका सुरक्षा प्रमुख निरीक्षक रविन्द्रकृष्ण रञ्जितलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ। उनलाई हिराशतमा राखेर अनुसन्धान गर्न आइतबार जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।
लागु औषध मुद्दामा १५ वर्ष जेल सजाय तोकिएका कैदी पासाङ शेर्पालाई भगाएको काण्डमा निरीक्षक रञ्जितको भूमिका देखिएपछि उनलाई हिराशतमा लिएको हो। फागुन २६ गते शेर्पालाई आँखा अस्पतालमा उपचारका लागि लैजाने बहनामा उनले भगाएका थिएअन्नपूर्ण पोष्ट डट कमले खबर लेखेको छ ।
प्रहरीको सुरक्षा लापरबाहीले लागूऔषध मुद्दामा डिल्लीबजार सदरखोरमा कैद भुक्तान गरिरहेका पासाङ शेर्पा हतकडीसहित फरार भएका थिए। आँखाको समस्या देखिएपछि शेर्पालाई उपचारका लागि त्रिपुरेश्वरस्थित आँखा अस्पताल लगिएको थियो।
हबल्दार सिकेन्द्र यादव, जवानहरू करण महरा र खोमराज पंगालीको सुरक्षा पहरामा अस्पताल पु:याइएका शेर्पा उपचारपछि भागेका हुन्। करिब आधा घन्टाको उपचारपछि बाहिर ल्याएर शेर्पालाई लैजान ट्याक्सी खोज्ने क्रममा उनी हतकडीसहित भागेको बयान हबल्दार यादवले दिएका छन्।
शेर्पा भागेपछि करिब एक घन्टापछि मात्रै सुरक्षाकर्मीले मातहतको प्रहरी युनिटमा खबर गरेका थिए। शेर्पालाई २०६८ भदौ १ गते लागूऔषध नियन्त्रण ब्युरोले एक किलो ६३ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो।
शेर्पाविरुद्ध २०६९ असोज २२ गते काठमाडौं जिल्ला अदालतले १५ वर्ष जेलसजाय र पाँच लाख जरिबाना सुनाएपछि डिल्लीबजार सदरखोरमा राखिएको थियो। शेर्पाबाट बरामद खैरो हेरोइनको बजारमूल्य ६७ लाख रुपैयाँ थियो।
आयुक्त कार्यालयले घटनाको छानबिनका लागि एसएसपी सुरेशविक्रम शाहको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति बनाएको छ। समितिका सदस्यमा डीएसपी राजकुमार लम्साल, डीएसपी मोहन परियार र प्रहरीनिरीक्षक अम्बर कार्की छन्।
छानबिन समितिले डिल्लीबजार कारागारबाट एक महिनायता कति कैदीबन्दी बाहिरभित्र गरे, त्यसको सूचना माग्ने भएको छ।उपचारको बहानामा कैदी भागेको यो पहिलो घटना भने होइन। गत असोज ६ गते बन मुद्दामा १५ वर्ष कैद र एक लाख जरिबाना तोकिएका चिनियाँ नागरिक नख्खु कारागारबाट पाटन अस्पतालमा उपचार गर्ने बहानामा भागेका थिए।
नख्खु कारागारबाट पाटनमा ल्याइएका ती चिनियाँलाई सुरक्षाकर्मीले साथी भेट्न दिएर खाजा खाइरहेका बेला उनी हतकडीसहित भागेका थिए। उनी अझै फरार छन्।
त्यसैगरी २०६८ साउन ११ गते केन्द्रीय कारागार सुन्धरामा कैद भुक्तान गरिरहेका टेन्सन भन्ने डेनी लामा प्रहरीलाई नै पाँच हजार दिन्छु भन्दै मिलोमतोमा वीर अस्पतालमा उपचारको बहानामा हतकडीसहित फरार भएका थिए। प्रहरीले लामालाई भने पक्राउ गरेको छ।
नक्कली भारतीय मुद्रा र खैरो हेरोइन कारोबारको अभियोगमा केन्द्रीय कारागारमै कैद भुक्तान गरिरहेका पाकिस्तानी नागरिक मोहम्मद जमिल सहिद गंगालाल हृदय केन्द्रबाट प्रहरीलाई झुक्याएर शौचालयको झ्यालबाट २०६७ चैत १३ गते भागेका थिए।
त्यतिबेला महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीले जमिलको निगरानीमा खटिएका असई यज्ञबहादुर केसीसहित पाँचजना सुरक्षाकर्मीलाई निलम्बन गरेको थियो। जमिल अझै पनि प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमै छन्।