नेपाल संवत् ११४७ सुरु, नेवार समुदायद्वारा आज धूमधामका साथ म्हः पूजा गरिँदै

50 पटक पढिएको

२५ कार्तिक २०८३, मंगलवार ०६:४४ सम्पादक: धादिङ न्यूज

काठमाडौं, २४ कात्तिक । नेपालको मौलिक संवत्‌का रूपमा रहेको नेपाल संवत् ११४७ आज देशभर विविध कार्यक्रम आयोजना गरी नयाँ वर्षका रूपमा उत्साहपूर्वक मनाइँदैछ। यस अवसरमा नेवार समुदायले नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नुका साथै आत्मशुद्धिका लागि म्हः (आत्म) पूजासमेत गर्दैछन्।
लिच्छविकालका राजा राघवदेवको शासनकालमा सुरु भएको नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् हो। लिच्छविकालअघि यहाँ शक संवत् प्रचलनमा थियो। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ.सं. ८८०) मा गरिब जनताको ऋणमोचन गरी सामाजिक सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै यो संवत् सुरु गराएका थिए।
नेपालको नामबाट नामाकरण गरिएको यस संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको थियो। यसलाई पुनः राष्ट्रिय मान्यता दिलाउन विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै निरन्तर अभियान सञ्चालन हुँदै आएको थियो। तत्पश्चात्, गरिब जनताको ऋणमोचन गराई मौलिक संवत् सञ्चालनमा पुर्‍याएको उच्च योगदानको मूल्याङ्कन गर्दै तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले विसं २०५६ मा शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए। त्यस्तै, विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए।
काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखाको भीमेश्वर लगायत नेवार समुदायको बाहुल्यता रहेका देशका विभिन्न स्थानमा यो नयाँ वर्ष विशेष रूपमा मनाउने गरिन्छ। यस अवसरमा काठमाडौंलगायतका क्षेत्रमा कार्तिक कृष्ण औँसीका दिन पुरानो बहीखाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाता सुरु गर्ने परम्परासमेत कायम छ।
नेपाल संवत्को नयाँ वर्षका अवसरमा नेवार समुदायले आज आफ्नै शरीर वा आत्माको पूजा गर्ने पर्व ‘म्हः पूजा’ धुमधामका साथ मनाउँदै छन्। धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार मानिसको आत्मा सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आफ्नै आत्मालाई सन्तुष्ट र प्रसन्न राख्न यो पूजा गर्ने परम्परा बसेको हो।
आत्मालाई सन्तुष्ट र प्रसन्न राख्न सके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने तथा मानव जीवन सार्थक हुने धार्मिक विश्वास रहिआएको छ। यस वर्ष सोमबार र आज मंगलबार गरी दुई दिन प्रतिपदा तिथि परेकाले नेपाल संवत्को नयाँ वर्ष र म्हः पूजा मनाउने दिनमा केही स्थानमा सामान्य भिन्नता देखिएको छ। केही स्थानमा सोमबार नै नयाँ वर्ष मनाइएको थियो भने अधिकांश नेवार समुदायले आज म्हः पूजा गरी नयाँ वर्षको उत्सव मनाइरहेका छन्।