युवाका लागि ५० करोडको कोष

573 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 उद्योग मन्त्रालयले युवाका लागि रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले  ५० करोडको कोष खडा गर्न लागेको छ । नयाँ सोच भएका तर पुँजीको अभावमा व्यवसाय सुरु गर्न नसकेका युवाहरुलाई लक्षित गरि उक्त कोष खडा गर्ने योजना अघि सारिएको उद्योग मन्त्रालयका सहसचिव जितबहादुर थापाले जानकारी दिए ।

घरेलु तथा साना उद्योग महासङ्घको आयोजनामा आज भएको ‘नेपालमा फलफूल तथा जुस व्यवसायको विकास’ विषयक कार्यशालामा उद्योग मन्त्रालयका सहसचिव थापाले  नेपालमा उत्पादित फलफूललाई अन्तर्राष्ट्रिय बजारमा कसरी निर्यात गर्ने भन्नेतर्फ ध्यान दिनुपर्ने बताउँदै  नेपालले पनि प्राङ्गारिक फलफूल उत्पादन गर्न सीप तथा अत्याधुनिक प्रविधिको ज्ञानलाई विस्तार गर्न आवश्यक रहेको उल्लेख गरे।

महासङ्घका अध्यक्ष सुरेश प्रधानले नेपालमा उत्पादित फलफूल भारतमा निर्यात गर्दै आइरहेको भए पनि भारतले खोज्ने गुणस्तर र परिमाण नेपालले पु¥याउन नसकेको तर्फ ध्यानाकर्षण गराए ।

कार्यक्रममा ‘सेन्टर अफ प्रमोसन अफ इम्पोर्टस् फ्रम डेभलपिङ् कन्ट्रिज्’का तर्फबाट कुलदीप शर्माले कार्यपत्र प्रस्तुत गर्दै सार्क मुलुकका साथै भारतीय बजारमा फलफूल व्यवसायको विकासबारे जानकारी दिए ।

नेपालले अहिले वार्षिक करिब ९५ हजार टन फलफूलमात्र निर्यात गर्दै आइरहेको छ । तर एक लाख ४० हजार टन विभिन्न खालका फलफूल उत्पादन गरी निर्यात गर्ने सम्भावना रहेको महासङ्घले जनाएको छ ।

नेपालमा विशेष गरी सुन्तला, जुनार, स्याउ, एलोभेरा, बेललगायतका फलफूलको उत्पादन बढी हुने गरेको छ ।

सन् २०१३ मा सार्कका आठवटै मुलुकमा गरिएको एक अध्ययनमा दश प्रकारका उत्पादनलाई साँझा उत्पादनका रुपमा मानेको छ । फलफूल उत्पादन र तयारी पोशाक उत्पादन तत्काल फाइदा लिन सकिने उत्पादन अन्तर्गत रहेका छन् ।

कार्यक्रममा नेपालमा फलफूल उत्पादन व्यवसायमा संलग्न १० सङ्घ संस्थाको सहभागिता रहेको थियो । उनीहरुले स्थानीय उत्पादनलाई सरकारले बेवास्ता गरेको गुनासो गरेका थिए । लगानी र आधुनिक प्रविधिमा स्थानीय उत्पादकको पहुँच नभएका कारण गुणस्तर कायम गर्न नसकिएको उनीहरुले बताए ।