हुलाकी मार्गबाट भारतले हात झिक्यो

463 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

चैत २३ – कम मूल्यमा ठेक्का प्रस्ताव गरेका ठेकेदारहरु बीचैमा काम छाडेर भाग्न थालेपछि भारतले हुलाकी सडक निर्माणको जिम्मेवारीबाट हात झिकेको छ । नेपालको चुरे क्षेत्रलाई तराईसँग जोड्ने ६ सय ७ किलोमिटरको यो मार्ग निर्माण गर्न भारतले करिब ८ अर्ब रुपैयाँ अनुदान दिएको छ । ठेक्कापट्टासमेत उ आफैंले र्ने गरी सन् २०१० मा पहिलो चरणको निर्माण थालिएको थियो । अहिले निर्माणस्थलबाट धमाधम ठेकेदार भागेपछि भारतले आफ्नो जिम्मेवारीको काम नेपाल सरकारलाई सुम्पेको हो ।‘अनुदान लिन कबोल गरेको रकम उपलब्ध गराउने प्रतिवद्दता जनाउँदै भारतले हुलाकी मार्गको बाँकी काम नेपाललाई नै पूरा गर्न आग्रह गरेको छ,’ सडक विभागका महानिर्देशक माधवकुमार कार्कीले आइतबार भने,‘काम छाडेर भागेका पाँच खण्डका ठेकेदारसँग सम्झौता रद्द भइसकेको छ ।’ सरकारले दुई चरणमा पूरा गर्ने गरी पूर्वदेखि पश्चिमसम्म हुलाकी सडक निर्माण तथा मर्मतको योजना बनाएको थियो । पहिलो चरणमा ६ सय ७ किलोमिटर सडक खण्डमा बाँडेर निर्माण तथा मर्मत गर्ने योजना थियो । त्यसमध्ये ५ खण्डका ठेकेदार काम छाडेर भागेपछि भारतले त्यो जिम्मेवारीबाट हात झिक्दै नेपाल सरकारलाई सुम्पेको हो ।