उद्धार गरेको भनिएका गोरखाका२१५ बालबालिका हराए

680 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौ, असार ३ – भूकम्प प्रभावित गोरखाबाट उद्धार गरी राजधानी ल्याइएका २ सय १५ बालबालिका हराएका छन् । केन्द्रीय बालकल्याण समितिका अनुसार गोरखाको उत्तरी ल्हो गाविसस्थित ल्हो गुम्बाबाट ल्याइएका ती बालक कहाँ छन्, पत्तो लागेको छैन ।

‘भिक्षु पढाउन गुम्बामा राखिएका बालकहरू हराएका छन्,’ समितिका अध्यक्ष डिल्लीराज गिरीले भने, ‘गुम्बाका पदाधिकारीले अभिभावकलाई जिम्मा लगाएको भन्छन्, तर प्रस्ट विवरण दिन सकेका छैनन् ।’ भूकम्प गएपछि सुरुमा उनीहरूले ४ सय बालक गुम्बामा रहेको बताएका थिए । त्यहाँका बालकका लागि आश्रयस्थल बनाइएको काठमाडौंको थानकोटमा हाल १ सय ७५ जना मात्र छन् ।

केन्द्रीय बालकल्याण समितिकी नमुना भुसालले भनिन्, ‘वास्तवमा कति थिए ? ती कहाँ–कहाँ राखिएका छन्, कसैले बताउँदैन ।’ थानकोटमा राखिएका बालकहरू पनि सबै गुम्बाका भिक्षु नभएको भुसालले बताइन् । ‘गुम्बाबाहिर गाउँका बालकहरू पनि छन्,’ उनले भनिन्, ‘तर सञ्चालकले गुम्बाकै भिक्षु भएको दाबी गरेका छन् ।’ त्यही गुम्बाट उद्धार गरी ल्याइएका भनिएका १५ बालकलाई धादिङ प्रहरीले नियन्त्रणमा लिएर उद्धार गरेको थियो ।

प्रहरीले भूकम्प प्रभावित स्थलबाट विभिन्न प्रयोजनका लागि ओसारपसार गरिएका ३ सय ३७ बालबालिकाको उद्धार गरिसकेको छ । उद्धारमा सरकारी तथा गैरसरकारी संस्थाले समेत मद्दत गरेका छन् । प्रहरीको महिला, बालबालिका सेवा निर्देशनालयका वरिष्ठ प्रहरी उपरीक्षक कृष्णप्रसाद गौतमले बालबालिका र महिलाको तस्करी रोक्न प्रहरीले विशेष सतर्कता अपनाएको बताए । उनका अनुसार तेस्रो मुलुकमा बेचिन नदिन सीमाक्षेत्र र बढी भीडभाड हुने राजधानी बाहिरका सहरमा विशेष निगरानी बढाइएको छ ।

त्यस्तै, पूर्वको भूकम्प प्रभावित जिल्ला ओखलढुंगाबाट उद्धार गरेर नेपाल बाल संगठनमा ल्याइएका २९ बालबालिकामध्ये २२ जना सम्पर्कबाहिर छन् । तिनलाई ओखलढुंगा जिविसका पूर्वसभापति महेश कर्मोचाले ल्याएका थिए । बाल संगठनको सेल्टर भएको सिफलको भवन नै भूकम्पका कारण धराशायी भएको बालकल्याण समितिले जनाएको छ । ‘अभिभावक भएका बालबालिकालाई अलग्याउन पाइँदैन,’ समितिका निर्देशक तारक धितालले भने, ‘त्यसमाथि उनीहरूको भवन आफैंमा धराशायी थियो ।’ बालकल्याणले संगठनलाई पत्राचार गर्दै तत्काल ती बालबालिकालाई ओखलढुंगा नै फिर्ता पठाउन निर्देशन दिएको उनले बताए । संगठनले लिएर आउने कर्मोचाले नै फिर्ता लगेको बताए पनि ती बालबालिका जिल्ला बालकल्याण समितिको सम्पर्कमा पुगेका छैनन् ।

कर्मोचाले भने अलपत्र परेका बालबालिकालाई उद्धार गरिएको बताए । उनको दाबीअनुसार बाबुआमा गुमाएका ६ बालबालिका बालसंगठनसँगै छन् । ‘बाबुआमा भएका १६ बालबालिकालाई काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको कान्तिपुर एकेडेमी हाइस्कुलमा भर्ना गरिएको छ,’ उनले भने, ‘सात जनालाई अभिभावकले बुझेर घर लगेका छन् ।’

ती बालबालिकाको अवैध ओसारपसारप्रति समितिले आपत्ति जनाएको छ ।

यसअघि विभिन्न प्रयोजनमा राजधानीलगायत स्थानमा बालबालिका ओसारपसार गरिरहेको अवस्थामा समिति र प्रहरीको संयुक्त प्रयासमा उद्धार गरिएको थियो । तीमध्ये कतिपयलाई अभिभावकको जिम्मा लगाइएको छ । वैशाख १६ गते रुकुमको मैकोट गाविसबाट राजधानी ल्याइएका ४ देखि १४ वर्षसम्मका बालबालिका धर्मस्थलीमा अलपत्र फेला पारेपछि प्रहरीले उद्धार गरेर परिवारको जिम्मा लगाएको छ । उनीहरूलाई त्यहाँ ल्याउने विवेक बुढालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

यस्तै वैशाख २४ गते धादिङको झार्लाङ र री गाविसबाट अवैध रूपमा ल्याइएका ४५ बालबालिकालाई नेपाल प्रहरी र बालकल्याण समितिले थानकोटबाट उद्धार गरेका थिए । अनधिकृतरूपमा राजधानी ल्याइरहेको सूचना पाएपछि धादिङमै रोक्ने प्रयास गरिएको तर नसकिएको जनाइएको छ । ललितपुरको निर्मल सेकेन्डरी इंग्लिस स्कुलले ती बालबालिकालाई पढाउने भन्दै ल्याएको थियो ।

यससँगै दोलखाको लापिलाङ गाविसबाट भारतको पेस्तालोजी चिल्ड्ेरन भिलेज देहरादूनमा पढाउने भन्दै १९ बालबालिका राजधानी ल्याइएको थियो । अनुमतिबिना ल्याएको भन्दै महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले तिनको उद्धार गर्दै ३ नेपाली र दुई भारतीय नागरिकलाई पक्राउ गरेको थियो । उनीहरूलाई जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा चलाउन नमिल्ने भन्दै छाडिदियो ।

त्यस्तै, भूकम्पमा आमाबुवा दुवै गुमाएका ४ बालबालिकालाई सिक्किमको गुम्बा लैजाँदै गर्दा प्रहरीले उद्धार गरेको छ । नुवाकोटमा आमाबुवा गुमाएका ४ र अर्का एकसहित ५ बालबालिकालाई सिक्किम लैजाँदै गर्दा उद्धार गरेर राखिएको छ । अनाथ बालबालिकालाई ललितपुरको नेपाल युथ फाउन्डेसनको सेल्टरमा राखिएको छ । आमाबुवा भएकालाई परिवारका सदस्यको जिम्मा लगाइएको छ । यससँगै रसुवाबाट तनहुँको बालगृहमा लैजान तयार पारिएका २ बालबालिकालाई जिल्ला बालकल्याण समिति रसुवाले रोकेको छ ।

पतञ्जलि योग पीठबाट बालबालिकालाई पढाउने भनेर काभ्रे र काठमाडौंका विभिन्न स्थानमा बालबालिकाहरू जम्मा गरिएको पाइएको छ । काभ्रेमा जम्मा गरिएका २२ बालबालिकालाई जिल्ला प्रशासन कार्यालयले मंगलबार अभिभावकको जिम्मा लगाएको छ । काठमाडौंको मण्डिखाटारमा समेत उसले बालबालिकालाई राखेको समितिले जनाएको छ ।

बालगृहलाई मोबाइल गृहका रूपमा सञ्चालन गर्ने सूर्यबहादुर बुढाप्रीत समातिएका छन् । भूकम्प प्रभावित जिल्लाबाट लमजुङ लगेर बालगृह सञ्चालन गरेको थाहा पाएपछि जिल्ला प्रशासन कार्यालयले उनलाई पक्राउ गरेको हो । उनले उद्धार गरेर लमजुङ लगेका १० बालबालिका राहत सामग्री थाप्न जिल्ला प्रशासनमा लाइनमा बसेका थिए । उनले यसअघि पनि काभ्रे, काठमाडौं र ललितपुरमा बालगृह चलाएका थिए ।

समितिका अध्यक्ष गिरीले भूकम्पपश्चात् विभिन्न बहानामा बालबालिकाको अवैध ओसारपसार भइरहेको बताए । ‘खानलाउन दिने भन्दै ल्याउने गरेको पाइयो,’ उनले भने, ‘बाबुआमा भएका बालबालिकालाई कुनै पनि हालतमा उनीहरूबाट अलग्याउन पाइँदैन ।’ बालबालिकालाई एक जिल्लाबाट अर्कामा लैजानु पर्दासमेत प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने जिल्ला बालकल्याण समितिको सिफारिसमा मात्र पाइने व्यवस्था छ ।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयकी सहसचिव राधिका अर्यालले बालबालिकाको बेचबिखन र तस्करी हुन नदिन मन्त्रालयले कोसिस गरिरहेको बताइन् । उनका अनुसार मन्त्रालयले मंगलबार बैठक बसेर अर्को व्यवस्था नभएसम्म नयाँ बालगृह सञ्चालनमा रोक लगाएको छ । ‘बालगृहका नाममा बालबालिकामाथि अपराधहरू हुनसक्ने भएकाले यस्तो निर्णय गरिएको हो,’ उनले भनिन्, ‘अहिले सञ्चालनमा रहेका बालगृहको भौतिक स्थिति परीक्षण गरेर मात्र सञ्चालन अनुमति दिइने छ ।’

साथै, भूकम्पपीडित बालबालिकालाई धर्मपुत्रपुत्री बनाएर लैजान सक्ने भन्दै तीन महिनाका लागि त्यो व्यवस्थासमेत रोकिएको उनले बताइन् । समितिका निर्देशक धितालले भूकम्प प्रभावित जिल्लाका बालबालिकालाई उद्धारका नाममा चिलले कुखुराको चल्ला टिपे जसरी टिप्नु गलत भएको बताए ।