सुनिताले नेपाल पुगेर फोन गर्दा मेरा आँखा रसाए

815 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बालकृष्ण श्रेष्ठ

balkrisna shrestha– आठ वर्षअघि मास्टर्स कम्युनिकेसन इञ्जिनियरिङ अध्ययनका लागि फिनल्यान्ड आएको थिएँ । त्यसको एक वर्षपछि सफ्टवयर इञ्जिनियरिङको रुपमा दूरसञ्चार कम्पनीमा काम सुरु गरें । यहाँ आउनुको मुख्य उद्देश्य अध्ययन थियो, त्यो पूरा भयो । त्यसपछि म नियमित ड्युटीमा समय बिताउँछु ।

परदेशमा भएर होला देश र आफन्तसँग जोडिन इन्टरनेटमा पर्याप्त समय बिताउँछु । देश विदेशका कुरा थाहा पाउन नियमित समाचार पढ्छु ।

एकदिन ‘सिरियामा नेपाली चेली बन्धक’ भन्ने समाचार भेटेँ । समाचार पढ्दै गएँ सुनिता मगर धादिङकी रहिछन् । म पनि धादिङकै भएकाले होला त्यो समाचारले झनै मेरो ध्यान तान्यो । समाचार पढेर नसक्दै मनमा अनेक खुल्दुली जन्मायो । पूरा समाचार पढिसकेपछि एकछिन् लामो सास फेरें । मलाई लाग्यो अब केही गर्नुपर्‍यो ।

sunita (1)त्यसपछि धादिङबाट सुनिताको नम्बर मागेँ । निक्कै लामो प्रयासपछि सुनिताको नम्बर प्राप्त भयो । नम्बर पाउनासाथ फोन गरेँ । सुनिताले फोन त उठाइन्, तर सानो स्वरमा बोलिन । बुझ्न साह्रै गाह्रो भयो । ठूलो स्वरले बोल्न भनें, तर उनले बोल्नै मानिनन् । विचरालाई साहुले सुन्ला भन्ने डर रहेछ । सुन्यो भने कुटपिट गर्ने, खान नदिने साह्रो पार्दो रहेछ । पछि फेरि उनले साहुलाई छलेर मिसकल गरिन् । मैले तत्काल फोन फर्काएँ । सुनिताले सबै बास्तविकता बताइन् ।

साह्रै गाह्रो रहेछ अहिले सम्झिँदा पनि मेरो आङ सिरिङ्ग हुन्छ । त्यसपछि युएन र युएनएचआरसीमा उद्धारको लागि इमेल र फोन त गरेँ । तर कुनै प्रतिक्रिया जनाएनन् । सिरिया हेर्ने इजिप्ट दूतावासमा पनि सम्पर्क गर्ने प्रयास गरें, तर सफल हुन सकेन । फेरि सिरिया नेपाल सरकारले मान्यता नदिएको ठाउँ । दूतावासले खासै सहयोग गर्ला भन्ने नलागेपछि सरकारी निकायबाट साथ पाउने आश हरायो । जति सक्दो आफैं प्रयास गर्छु भन्ने लाग्यो । फेरि सुनितालाई फोन गरेँ, साह्रै पीडा पोखिन् । त्यसपछि साहुको घर छाडेर भाग्न लगाएँ । उनी सिरियामा रिसिभ गर्ने दलालकोमा पुगिन् । जुन दलालले उनलाई सिरियामा रिसिभ गरेर काम गर्ने घरसम्म पुर्‍याएको थियो ।

सुनिता दलालकोमा पुगेपछि भने बल्ल फोनमा खुलेर कुरा गर्न पाईयो । सुनितासँग निरन्तर कुरा हुन थाल्यो । सुनिताले पनि दलालमार्फत साहुसँग कुरा गरिरहिन् ।

फोनमै सुनिताले मसँग भनिन् ‘८ सय डलर भयो भने मलाई नेपाल जान टिकट काटिदिन्छ रे साहुले ।’

‘ल ठिकै छ ।’ सुनितालाई यति भनेर मैले फिनल्यान्डमा बस्ने नेपालीको सहयोगमा ८ सय डलर तत्काल जुटाएर पैसा पठाएँ ।

तर पैसा पठाएपछि पनि साहुले सुनितालाई नेपाल जान दिने कुरै गरेन । फेरि अड्को थाप्न सुरु गर्‍यो । पाँच हजार डलर दलालले लगेको छ भन्दै २ हजार डलर सुनिताको तलव कटाएर बाँकी तीन हजार डलर माग्यो । त्यो पछि मलाई झनै अप्ठेरो भयो । पहिला ८ सय डलर माग्यो त्यो त साथीहरुसँग जुटाएर जसोतसो पठाएँ ।

अब तीन हजार डलर कसरी जुटाउने होला ? नजुटाउँ त नेपाली चेलीको त्यो पीडा कसरी हेर्ने ? तीन हजार डलर पठाएपछि फेरि के अड्को थाप्ने होला जस्तो पनि लाग्यो । तर जे भएपनि गर्नै पर्‍यो भनेर म तीनहजार डलर जुटाउने चटारोमा लागें । नेपाली चेलीको उद्धारका लागि यसरी पैसा संकलन गरिएको छ, पैसा पठाइसकेपछि पनि सुनितालाई नेपाल जान दिएन भने सहयोग गर्ने साथीहरुलाई म के जवाफ दिउँ । यो कुराले मलाई धेरै चिन्ता  भयो । तर त्यो अवस्थामा रहेकी चेलीको उद्धार हुन्छ भने तीन हजार डलर जुटाउन के गाह्रो भनेर फेरि तातिएँ ।

नेपाली संचारमाध्यमबाट सुनिताको बारेको समाचार आईरहेको थियो । समाचार मगर संघ हङकङकी सभापति चन्द्रज्योती मगरले पढ्नु भएछ । त्यसपछि मलाई फोन गर्नु भयो । पहिलो फोनमै उहाँले तीन हजार डलर जुटाउने बाचा गर्नुभयो । मलाई अलि हलुका भयो । चन्द्रज्योती दिदीले निरन्तर फोन गरेर सुनिताको बारेमा चासो राख्नुभयो । दिदीले पनि तत्काल तीन हजार डलर पठाउनु भयो । अनि सुनितालाई नेपाल फर्किने बाटो खुल्ला भयो । सुनिता टिकट पर्खिरहेकी थिईन् । उनलाई साह्रै तनाव थियो ।

मलाई पैसा जुटाउने गाह्रो त एउटा थियो, तर त्यो भन्दा जटिल सुनितालाई बारम्बार फोन गरेर सम्झाउनु पनि थियो । दिनमा दशौं पटक फोन गरेर उनको अवस्थाका बारेमा बुझिरहन्थें । आफ्नो जागिर र तनाव पनि छँदै थियो । तर पनि चेली फर्काउने साहसबाट कति पनि विचलित भईन । तीन महिनाको दिनचर्या मेरो यसैमा बितिरहेको थियो । तनावले खाना रुच्दैनथ्यो, राती पनि अब के गर्ने होला भन्ने चिन्ता लागिरहन्थ्यो । यो दौडानलाई पार गर्न निक्कै कठिन भयो । साहुसँग मेरो सिधै कुरा हुन सकेन । मैले बोलेको उ नबुझ्ने, उसको कुरा मैले बुझिँन । दुई महिनादेखि सुनिता दलालकोमा बस्दै आएकी थिईन् । साहुसँग उमार्फत नै कुरा हुन्थ्यो । दलालको कुरा सुनिताले मलाई भन्थिन् ।

दलालको छोरीले अंग्रेजी अलिअलि जानेकाले कुरा गर्न अलिक सजिलो भयो । साहुले मागेको तीन हजार डलर र टिकटको ८ सय २० डलर पठाएपछि मैले मेरो ईमेल, भाईबरमार्फत टिकट पठाउन अनुरोध गर्थें । तर उ सुनेको नसुनै गथ्र्यो । दिनैपिछे किचकिच गर्दागर्दा बल्ल टिकट निश्चित गरेर पठायो । १५ जुलाई भनेपनि बेलाबेला कुरा फेरिरहने दलाल र साहुको व्यवहारले मलाई नेपाल नपुग्दासम्म विश्वास गर्न गाह्रो भएको थियो ।

जब उनले नेपाल पुगेर फोन गरिन त्यसपछि अनयाश मेरा आँखा रसाए । मैले सुरु गरेको यो अभियान त सफल भयो नै । सुनिता पनि अहिले परिवारसँग हाँसीखुसी छन् । सुनिताका आमा बाबाले हर्षका आशुँ झार्दै फोन गरेर खुसी साट्नु भयो । अर्कोतिर मलाई पनि एकजना चेलीले नवजीवन पाएको महशुस भयो । मलाई भित्रैदेखि यति धेरै खुसी लाग्यो कि शायद यो नै मेरो जीवनको सबैभन्दा ठूलो खुशी होला ।

-उज्यालोवाट 

(एनआरएन फिन्ल्याण्डका अध्यक्ष श्रेष्ठसँग  गरेको कुराकानीमा आधारित ।)