पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक सुचारु

1578 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

12662658_10206639394157532_2244158203450378947_nचितवन : सडक बिस्तार गर्ने क्रममा सुख्खा पहिरो खसेर बिहीबार रातिदेखि अवरुद्ध नारायणगढ मुग्लिन सडक सञ्चालनमा आएको छ ।
बिहीबार राति देखि अबरुद्ध हुन पुगेको सो सडकखण्ड अन्तर्गत चितवनको चण्डीभञ्ज्याङ गाविसस्थित कालीखोलानजिकको सडक शुक्रबार मध्याह्नबाट सञ्चालनमा आएको हो  ।
एस्काभेटर र डोजरको सहायताले पहिरो पूर्णरुपले पन्छाएपछि सडक मध्याह्नबाट दुईतर्फीरुपमा पुनः सञ्चालनमा आएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय भरतपुरका प्रमुख प्रहरी निरीक्षक राजन भेटवालले बिहीबार राति साढे आठ बजेबाट अवरुद्ध सडक शुक्रबार पौने १२ बजेदेखि पुनः सञ्चालनमा ल्याइएको जानकारी दिए ।
‘सडक बिस्तार गर्ने क्रममा कालीखोलानजिक सुख्खा पहिरो झरेर बाटो अवरुद्ध भएको रहेछ’ शुक्रबार बिहानै कालीखोला पुगेका भेटवालले भने, ‘अहिले बाटो पुनः सञ्चालनमा आइसकेपनि रातिदेखिको यातायात अवरोधका कारण लामो जाम परेको छ ।’
नारायणगढ मुग्लिन सडकखण्ड स्तरोन्नति आयोजनाले सडक चौडा बनाउने क्रममा पहाड काट्ने काम भइरहेकोले सुख्खा पहिरो गएको प्रहरी निरीक्षक भेटवालले जानकारी गराए ।
सडकखण्ड स्तरोन्नतिको काम तीब्र पारिएपछि केही दिनयता काठमाडौँ जान पश्चिम तथा पूर्वबाट छुटेका सवारीहरु हेटौँडाहुँदै त्रिभुवन राजपथबाट ओहोरदोहोर गरिरहेका छन् ।
पोखरा काठमाडौँको पृथ्वी राजमार्गमा भने कुनै समस्या परेको छैन । नारायणगढ पोखरा ओहोरदोहोर गर्ने यात्रुवाहक तथा मालवाहक सवारी नारायणगढदेखि मुग्लिनसम्मको सडकखण्डमा ठाउँठाउँमा केही समय रोकिँदै सञ्चालनमा आएका छन् ।
दैनिक दुई घण्टा यातायात बन्द
सडक फराकिलो पार्ने काम भइरहेको नारायणगढ–मुग्लिन सडकखण्डमा काम गर्ने समय छुट्याउन दैनिक दुई घण्टा सवारी साधनलाई रोक लगाएको छ ।
सवारी साधन चलेकै अवस्थामा काम गर्न सहज नहुने भन्दै ट्राफिक व्यवस्थापनको लागि दिउँसोको समयमा दुई घण्टा आवतजावत बन्द गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरीलगायतसँग छलफल गरी बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा बढीमा दैनिक दुई घण्टा तत्कालको लागि बन्द गरेर सडक बिस्तारको काम गरिएको नारायणगढ–मुग्लिन सडक स्तरोन्नति आयोजनाका प्रमुख चन्द्रनारायण यादवले बताए ।
आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सम्भव भएसम्म वैकल्पिक मार्गबाट सवारी आवागमन गर्न अनुरोध गरेको छ ।
गएको वैशाखमा ठेक्का सम्झौता भएर काम गर्न थालेको उक्त सडकखण्डको काम अबको दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको यादवले बताए ।