पुनःनिर्माण महाअभियान द्रुत गतिमा

521 पटक पढिएको

सम्पादक: Dhading News

imagesकाठमाडौँ, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनःनिर्माण अभियानलाई द्रुत गतिमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

भूकम्प गएको नौ महिनापछि महाअभियानका रूपमा सुरु गरिएको पुनःनिर्माणलाई जनस्तरमै लैजान ढिलाइ आइरहेका बेला प्रधानमन्त्रीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उपलब्ध सहयोग रकम ग्रहण गर्दै भन्नुभयो, “भूकम्पपीडितको उद्धार, राहत र पुनःस्थापनाका कामलाई तीव्रता दिएका छौ, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण गठन गरी काम थालिएको छ, त्यसलाई थप गति दिन सरकार प्रतिबद्ध छ ।”

प्रधानमन्त्री ओलीले भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा लक्षित कार्यक्रमलाई क्रमशः अन्य प्रभावित जिल्लामा पनि व्यवस्थित र पारदर्शी ढङ्गले विस्तार गरिने उल्लेख गर्दै सरकारी कोषमा जम्मा भएको रकम दुरुपयोग हुन नदिइने र सही ढङ्गले सदुपयोग हुने विश्वास दिलाउनुभयो ।

एक फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले देशमा जातजाति, भूगोलका नाउँमा ससाना व्यक्तिगत स्वार्थका निम्ति राष्ट्रिय नोक्सानी गर्ने प्रवृत्ति देखापरेको अहिलेको अवस्थामा शान्ति, सद्भाव र एकताका पक्षमा राधा माधव समिति, श्यामाश्यामा धाम भक्तपुरले थालेको अभियानको सराहना गर्नुभयो ।

धामका तर्फबाट कोषमा रु २१ लाख सहयोग प्रदान गरिएको छ । समितिका उपाध्यक्ष गोपालप्रसाद सापकोटाको नेतृत्वमा गएको टोलीले सहयोग रकमको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको थियो ।