रु पाँच हजार राशिको चौतारी पुरस्कार घोषणा

1981 पटक पढिएको

सम्पादक: Dhading News

press chautariइलाम, २२ माघ । प्रेस चौतारी नेपाल इलाम शाखाले आफ्नो स्थापना दिवसका अवसरमा आज ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार’ को घोषणा गरेको छ ।

वार्षिक रूपमा प्रदान गर्ने गरी चौतारीले रु पाँच हजार राशिको पुरस्कार घोषणा गरेको हो । चौतारीका जिल्ला अध्यक्ष कोकिला ढकालको अध्यक्षतामा बसेको बैठकले स्थापना दिवसका अवसरमा जिल्लाका एक क्रियाशील पत्रकारलाई सो पुरस्कार वितरण गर्ने जनाइएको छ ।

सिर्जनशील पत्रकारिता पुरस्कार मगरलाई

कावासोती – प्रेस चौतारी नेपाल नवलपरासी शाखाले ‘चौतारी सिर्जनशील पत्रकारिता पुरस्कार २०७२’ बाट ‘रेडियो परासी’मा कार्यरत राजकुमार रेस्मी मगरलाई पुरस्कृत गरेको छ ।

नेकपा (एमाले)का केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङले चौतारीको १८औँ स्थापना दिवसका अवसरमा परासीमा आयोजित कार्यक्रममा उहाँलाई रु १५ हजार, दोसल्ला र प्रमाणपत्रले सम्मान गर्नुभयो ।

आठ वर्षदेखि रेडियो पत्रकारितामा संलग्न मगर ‘रेडियो परासी’मा स्थापनाकालदेखि कार्यरत हुनाका साथै नेपाल पत्रकार महासङ्घ नवलपरासीका कोषाध्यक्ष तथा चौतारी नवलपरासीका पूर्वसचिवसमेत हुनुहुन्छ ।

पाँच वर्ष अगाडि जहदा गाविसका समाजसेवी एवम् एमाले नेता दीपेन्द्र अधिकारीले आफ्ना ज्येष्ठ सुपुत्र युवा उद्यमी शक्तिका स्मृतिमा रु दुई लाख र चौतारी नवलपरासीका पूर्वअध्यक्ष कुलप्रसाद शर्माले आफ्ना बुबाआमाको सम्झनामा सोही कोषमा रु २५ हजार सहयोग गरी स्थापना गरिएको सो पुरस्कार अक्षयकोषमार्फत हरेक वर्ष एक जनालाई प्रदान गरिन्छ ।

कार्यक्रममा चौतारी नवलपरासी शाखाका अग्रज पत्रकार शान्ता भण्डारीलाई सम्मान गरिएको थियो । लामो समयदेखि बिरामी पत्रकार भण्डारीको हाल सुमेरु अस्पताल काठमाडौँमा उपचार भइरहेको चौतारी नवलपरासीका अध्यक्ष विद्रोही गिरीले जानकारी दिनुभयो ।