धादिङको गजुरी लगायत देशका विभिन्न स्थानबाट १३ नक्कली डाक्टर पक्राउ

728 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ–डाक्टर जस्तो अति संवेदनशील पेशामा संलग्न रहेको व्यक्तिनै नक्कली शैक्षिक योग्यता देखाएर उपचारमा संलग्न रहेको खुलासा भएपछि  धादिङको राजमार्ग क्षेत्रमा संचालित अस्पताल   शंकाको घेरामा परेको छ । शुक्रवार धादिङको गजुरी स्थित निजी अस्पतालबाट एक नक्कली चिकित्सक पक्राउ परेपछि अस्पतालको नाममा सर्वसाधरणको ज्यान खतरामा पारेर व्यवसायीहरुले लुटिरहेको खुलासा भएको हो ।

doctor-528x330अरूलाई परीक्षा दिन लगाएर एमबिबिएस उत्तीर्ण गरेका नक्कली चिकित्सकहरू देशभरिका अस्पतालमा कार्यरत रहेको खुलेको छ । काठमाडौं तथा तराईका विभिन्न अस्पतालमा कार्यरत १३ जना त्यस्ता नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ ।एसएलसी र प्लस टुको नक्कली सर्टिफिकेट बनाउने, त्यसैको आधारमा चीनमा एमबिबिएस पढ्ने र नेपालको लाइसेन्स परीक्षामा अरूलाई जाँच दिन लगाएर पास गरेर डाक्टर हुनेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धेरैजसो नवलपरासीदेखि झापासम्मका अस्पतालमा कार्यरत चिकित्सकहरू छन् । पक्राउ परेका चिकित्सकको एसएलसी र प्लस टुको नक्कली सर्टिफिकेट रहेको खुलेको छ । सोही नक्कली सर्टिफिकेटका आधारमा उनीहरूले चीनबाट एमबिबिएस पढेका थिए ।धादिङको गजुरी अस्पतालमा कार्यरत  सप्तरी घर भएका मनोज कुमार साह पक्राउ पक्राउ परेपछि धादिङका अन्य अस्पतालमा पनि यस्ता नक्कली चिकित्सक हुन सक्ने प्रहरीको भनाई छ ।

चीनमा एमबिबिएस पढ्न प्रवेश परीक्षा उत्तीर्ण गर्नु नपर्ने र सर्टिफिकेट भए पुग्ने भएकाले यसरी उनीहरूले नक्कली सर्टिफिकेटका आधारमा एमबिबिएस पढेका थिए ।

पक्राउ परेका चिकित्सकहरूको विभिन्न तहको सर्टिफिकेट नक्कली रहेको खुलेपछि उनीहरूलाई पक्राउ गरिएको सिआइबीका निर्देशक डिआइजी हेमन्त मल्ल ठकुरीले बताए ।

गत असारको पहिलो साता प्रहरीले चिकित्सक दर्ता प्रमाणपत्र ९लाइसेन्स० परीक्षामा संलग्न दुईजना नक्कली परीक्षार्थीलाई सेनाको शिक्षण अस्पतालबाट पक्राउ गरेको थियो । शिक्षण अस्पतालका डा. सुशील मण्डल र डा.निरज शर्मा अरूको परीक्षा दिने क्रममा पक्राउ परेका थिए ।

चीनबाट एमबिबिएस पढेर फर्किएका सरोज साह र नवीनकुमार यादवले पटक–पटक परीक्षा दिँदा पनि पास गर्न नसकेपछि उनीहरूलाई पैसा दिएर लाइसेन्सको परीक्षा दिन लगाएका थिए ।

जनकपुरबाट चार चिकित्सक पक्राउ

उता जनकपुरबाट पनि शुक्रबार मात्रै चार चिकित्सक पक्राउ परेका छन् । काठमाडौँबाट खटिएको सीआईबीको टोलीले उनीहरुलाई सोधपुछ गर्नु छ भन्दै पक्राउ गरेको गरेको हो । पक्राउ पर्नेमा जनकपुरका विभिन्न अस्पताल तथा क्लिनिकमा कार्यरत डा। कल्याण विश्वास, सन्तोष यादव, भगवान सहनी र शैलेन्द्रकुमार महतो रहेको धनुषाका प्रहरी उपरीक्षक रामदत्त जोशीले जानकारी दिए ।

एसएलसी र प्लस टुको सर्टिफिकेट नै नक्कली

पक्राउ परेका चिकित्सकको एसएलसी र प्लस टुको नक्कली सर्टिफिकेट रहेको खुलेको छ । सोही नक्कली सर्टिफिकेटका आधारमा उनीहरूले चीनबाट एमबिबिएस पढेका थिए । चीनमा एमबिबिएस पढ्न प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्दैन । सर्टिफिकेट भए पुग्ने भएकाले उनीहरूले नक्कली सर्टिफिकेटका आधारमा एमबिबिएस पढेका थिए ।

अरू चिकित्सकलाई पैसा दिएर परीक्षा

एमबिबिएस पढेकै आधारमा नेपालमा काम गर्न पाइँदैन । नेपाल मेडिकल काउन्सिलले लिने लाइसेन्स परीक्षा पनि उत्तीर्ण गर्नुपर्छ । पक्राउ परेकाहरूले अरू चिकित्सकलाई पैसा दिई आफ्नो परीक्षा दिन लगाएर लाइसेन्स निकालेका थिए । सोही लाइसेन्सका आधारमा उनीहरूले अस्पतालमा काम गर्दै आएका थिए ।

अझै धेरै चिकित्सक नक्कली रहेको आशंका

पक्राउ परेका चिकित्सकको बयानको आधारलाई लिएर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । नक्कली सर्टिफिकेटका आधारमा एमबिबिएस पढी तराईलगायतका विभिन्न अस्पतालमा धेरै संख्यामा चिकित्सक कार्यरत रहेको प्रहरी आशंका छ।