खाना र नाना दोब्बर महँगो

545 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

राष्ट्र बैंकका प्रवक्ता भन्छन्, ‘खर्च कटौती गरौं’


काठमाडौं, –
यस वर्षको पुस महिना नेपालीका लागि निकै महँगो बनेको छ । पुसमा खान र लगाउने लुगा (नाना) का लागि गर्ने खर्च दोब्बर बढेको हो ।पुस महिनाको कमाइ गत वर्षको जति मात्रै हो भने दैनिकी अझ कष्टकर बनेको छ । गत वर्षको भन्दा यस वर्ष उपभोग्य वस्तुको मूल्य झन्डै दोब्बरले बढेपछि उपभोक्ताको दैनिकी कष्टकर बनेको हो । दैनिक उपभोग्य वस्तुहरूमा दाल, गेडागुडी, घिउ, तेल, मसला, मासु, माछा, लत्ता कपडा, जुत्तालगायतको मूल्य उच्च दरले बढेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकले यस वर्षको पुस महिनामा उपभोग्य वस्तुको मूल्य गत वर्षको भन्दा दोब्बर भएको देखाएको छ ।

दैनिक उपभोग्य वस्तुको मूल्य यति धेरै बढेको विगत आठ वर्षमा पहिलो पटक हो । सन् २००८ मा विश्वव्यापी रूपमा इन्धनको मूल्य अत्याधिक बढेर खाद्यान्न अभाव भएपछि नेपालमा पनि दैनिक उपभोग्य वस्तुको मूल्य अत्याधिक बढेको थियो ।

सो समयमा दैनिक उपभोग्य वस्तुको मूल्य १३ दशमलव ८ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीका अनुसार त्यसयता दैनिक उपभोग्य वस्तुको मूल्य यति धेरै बढेको थिएन । ‘दैनिक उपभोग्य वस्तुको मूल्य सन् २००८ यता सबैभन्दा धेरै बढेको छ, गत १२ वैशाखको भूकम्प र असोजदेखि दक्षिणका व्यापार नाकाहरूमा भएको अवरोधको कारण मूल्यवृद्धि उच्च बनेको हो,’ प्रवक्ता पंगेनीले राजधानीसँग भने । मूल्यवृद्धि उच्च भएको कारण सर्वसाधारणलाई दैनिकी चलाउन कठिन हुने भन्दै खर्च कटौती गर्न पनि उनले सुझाव दिए ।

गत वर्षको पुस महिनाको मूल्य वृद्धि ६ दशमलव ८ प्रतिशत थियो । यो वर्षको पुस महिनामा उपभोग्य वस्तुको मूल्य १२ दशमलव १ प्रतिशतले बढेको छ । दैनिक उपभोग्य वस्तुमा पनि खाद्य तथा पेय पदार्थको मूल्य १५ दशमलव २ प्रतिशतले बढेको छ । गैरखाद्य तथा सेवा समूहमा पर्ने वस्तुको मूल्य गत वर्षको पुसको भन्दा ९ दशमलव ७ प्रतिशतले बढेको छ । अत्याधिक मूल्यवृद्धि भएका वस्तुहरूमा दैनिक उपभोग्य वस्तुको संख्या अधिक छ । यसले सर्वसाधारणको भान्छा निकै महँगिएको देखाउँछ । दैनिक उपभोग गरिने दालजन्य पदार्थ र गेडागुडीको मूल्य गत वर्षको पुसको भन्दा यस वर्षको पुस महिनामा ४६ दशमलव ९ प्रतिशतले बढेको छ । तरकारी तथा दालमा प्रयोग गर्नैपर्ने घिउ तथा तेलको मूल्य ३१ दशमलव ३ प्रतिशतले बढेको छ ।

यस्तै भान्छामै प्रयोग हुने मसलाको मूल्य १७ दशमलव ६ प्रतिशत, मासु तथा माछाको मूल्य १६ दशमलव ८ प्रतिशत र लत्ता कपडा तथा जुत्ताको मूल्य १३ दशमलव ७ प्रतिशतले बढेको छ । तराईमा जारी लामो बन्द हडताल तथा आपूर्ति व्यवस्थामा आएको व्यवधानजस्ता अन्तर्निहित कारणहरूले मूल्यवृद्धि उच्च भएको राष्ट्र बैंकको भनाइ छ । तराई क्षेत्रका नाकाहरूमा आवागमन सहज हुँदै गएबाट गत भदौ महिनादेखि सुरु भएको मूल्य वृद्धिको दबाब कम हुँदै जाने अपेक्षा अधिकारीले गरेका छन् ।

महँगीको मार सबैभन्दा बढी काठमाडौं उपत्यकाका उपभोक्ताले खेप्नुपरेको छ । गत पुस महिनामा काठमाडौं उपत्यकाको मूल्यवृद्धि गत वर्षको पुस महिनाको भन्दा १३ दशमलव ८ प्रतिशतले बढेको छ । यस्तै, पहाडमा १२ दशमलव १ प्रतिशतले, तराईमा १० दशमलव ७ प्रतिशतले र हिमालमा १० प्रतिशतले मूल्य बढेको छ । गत वर्षको पुस महिनामा काठमाडौं उपत्यकामा ६ दशमलव ९ प्रतिशत, पहाडमा ७ दशमलव १ प्रतिशत र तराईमा ६ दशमलव ६ प्रतिशतले मूल्य बढेको थियो ।

दैनिक उपभोग्य वस्तुको मूल्य भारतको भन्दा नेपालमा दोब्बर बढी महँगो भएको छ । गत पुस महिनामा भारतको उपभोक्ता मूल्यवृद्धि ५ दशमलव ७ प्रतिशत छ भने नेपालको यस्तो मूल्य वृद्धिदर १२ दशमलव १ प्रतिशत छ । योअनुसार नेपालको भन्दा भारतको उपभोग्य वस्तुको मूल्यवृद्धिदर ६ दशमलव ४ प्रतिशतले कम छ । गत वर्षको सोही अवधिमा यस्तो अन्तर १ दशमलव ६ प्रतिशत थियो । गत वैशाखमा गएको विनाशकारी भूकम्पको अन्तराल प्रभाव, तराईको आन्दोलन र दक्षिणका व्यापार नाकाहरूमा भएको अवरोधका कारण नेपाल र भारतबिच मुद्रास्फीति दरको अन्तरमा वृद्धि हुन गएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

-शिव सत्याल / राजधानी