चैत ७ देखि त्रिशूली बचाउ अभियान

699 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

trisuli
धादिङ । नेपाल एसोसिएशन अफ् र्याफ्टिङ एजेन्टस् (नारा)ले चैत ७ गते अर्थात् मार्च २० तारिखका दिन त्रिशूली नदी बचाउ राष्ट्रिय अभियानको आयोजना गर्ने भएको छ । बिहिबार राजधानीमा पत्रकार सम्मेलन गरि नाराले विगत वर्षहरुमा जस्तै यस वर्ष पनि त्रिशूली नदी बचाउ अन्तर्गत चितवन जिल्ला स्थित फिस्लिङ–कुरीनघाट खण्डमा सरसफाई र सरोकार पक्षसँग अन्तक्रिया गर्ने जनाएको छ ।

पर्यटकीय दृष्टिले र्याफ्टिङका लागि विश्वकै उत्कृष्ट मानिने त्रिशूली नदीलाई प्रदुषण मुक्त बनाउने योजना अनुरुप विगत तीन वर्ष अघि देखि नाराले यस किसिमको सरसफाई अभियान सञ्चालन गर्दै आएको पनि नाराले जनाएको छ । विगत वर्षहरुमा धादिङ खण्ड अन्तर्गत त्रिशूली नदीमा अभियान संचालन गरिएको थियो । त्रिशूली नदी बचाउनुपर्छ र प्रदुषणमुक्त पार्नुपर्छ भनेर सबैमा सचेतना जगाउन, जलयात्राको आकर्षक गन्तव्य बनाउने, वातावरण पर्यावरणलाई जोगाउने, सरकार र सरोकार निकायलाई नदीसम्बन्धि दिगो नीति तथा योजना बनाउन सहयोग पु¥याउने लगायत उदेश्यका साथ अभियान अगाडि बढाईएको नाराको भनाइ छ ।

सरसफाईमा पर्यटन व्यवसायीहरु र पर्यटकीय संस्थाहरुको प्रतिनिधि सहित धादिङ, गोरखा, चितवन र नुवाकोटका सीडीओ, एलडीओ, उच्च तहका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, एनजीओ, आईएनजीओका प्रतिनिधि र स्थानीयहरु र संचारकर्मीको उल्लेख्य सहभागीता रहने बताईएको छ ।

कार्यक्रममा नाराका महासचिव शेखर बहादुर थापाले त्रिशूली नदीलाई बागमती र विष्णुमती जस्तो हुन नदिनका लागि पनि वेलैमा यस्तो अभियान संचालन गर्नु आवश्यक रहेको भन्दै नाराले उक्त कार्यको सुरुवात गरेको बताए ।