दाउरा बेचेरै ३ करोड भन्दा बढी आम्दानि, जनता अझै दाउरा किन्दै

529 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं ५ चैत, । भारतीय नाकाबन्दीका बेला काठमाडौं दाउरा युगमा फर्कियो, सरकार आफैंले राजधानीमा दाउरा बेचेर ग्यास नपाएका उपभोक्तालाई सहज पनि गराइदियो ।

Wood-16हाल ग्यास आपूर्ति तुलनात्मक रुपमा सहज भएपछि सरकारसँग दाउरा किन्ने सर्वसाधारण अब छिटपुट मात्रै छन् । ३ ठाउँमा डिपो राखेर दाउरा बेचेको टिम्बर कपोरेशन अफ नेपाल (टीसीएन)ले अहिले एउटा डिपोबाट मात्र दाउरा बेचिरहेको छ ।

स्वयम्भु, पशुपति र भक्तपुरका दाउरा डिपोबाट अहिले सर्वसाधारणलाई दाउरा बेच्न बन्द गरिएको छ । ललितपुरको बालकुमारीस्थित डिपोबाट भने सर्बसाधारणले अझै दाउरा किन्न सक्ने टीसीएनका महाप्रबन्धक विरेन्द्र यादवले अनलाइनखबरलाई जानकारी दिए ।

३ करोड बढी कमाइ

सरकारले नाकाबन्दीको बेला दाउरा बेचेर ३ करोड रुपैयाँ भन्दा बढी कमाएको छ ।  कात्तिकमा दाउरा बेच्न थालिएयता मात्रै २० लाख किलो दाउरा बिक्री भएको छ । नाकाबन्दी कायमै रहँदा दैनिक साढे २८ हजार किलोसम्म दाउरा बिक्री भएको थियो । त्यसबेला टीसीएनले दैनिक औसत ४ लाख ३० हजार रुपैयाँ बराबरको दाउरा बिकेको थियो ।

सरकारले प्रतिपरिवार सय केजीसम्म दाउरा बिक्री गरिरहेको छ । दाउराको मूल्य किलोको १५ रुपैयाँ तोकिएको छ । संस्थागत रुपमा दाउरा लैजानेलाई भने किलोको १७ रुपैयाँ लिइएको छ ।

‘अब त सर्वसाधारण दाउरा किन्न आउनै छाडिसके भन्दा पनि हुन्छ,’ महाप्रवन्धक यादवले भने, ‘दिनमा औसत १०/१५ जनाले मात्रै दाउरा किन्छन् ।’

नाकाबन्दीका बेला ग्यास र मट्टीतेल नपाएपछि बिहान-बेलुकीको छाक टार्न राजधानीबासीको सहारा दाउरा बनेको थियो ।

‘अप्ठेरो बेलामा काम गर्न पाएको गर्व लागेको छ । भूकम्पपछि पनि पशुपति डिपोबाट १५ लाख रुपैयाँको दाउरा निशुल्क बाँडेका थियौं’ यादवले भने-‘नाकाबन्दीका बेलामा पनि सर्वसाधरणलाई लाभ हुने गरी काम गर्न सक्यौं ।’

सरकारले तराईका विभिन्न स्थानमा वर्षौदेखि घाटगद्दी गरिएका (थुपारेको) दाउरा काठमाडौं ल्याएर बिक्री गरेको हो ।

अझै ७ चट्टा ल्याईंदै

दाउरा बिक्रीको सुरुवात गौशालाको पशुपति र ललितपुरको बालकुमारी डिपोबाट भएको थियो । पछि सर्वसाधारणको सहजताका लागि भन्दै भक्तपुरको कमेरेटार र स्वयम्भुको भगवानपाउमा पनि नयाँ डिपो स्थापना गरिएको थियो । अहिले बालकुमारी मात्र बिक्री खुला छ भने अन्यत्र बन्द गरिएको छ ।

टीसीएनले अब ७ चट्टा दाउरामा मात्रै सर्वसाधारणको बिक्रीका लागि ल्याउने योजना बनाएको छ । त्यो दाउरा बिकिसकेपछि दाउरा बेच्न बन्द गरिने महाप्रवन्धक यादवले बताए जुम एन पि मा खबर छ ।