पोखरामा धादिङका पत्रकारहरू संगठित

555 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पोखरा C360_2016-04-13-16-28-28-775 (1) -धादिङ जन्मथलो र पोखरालाई कर्मथलो बनाई कास्कीका विभिन्न संचारमाध्यममा आबद्ध पत्रकारहरु संगठित भएका छन् । जिल्ला बाहिरका पत्रकारहरु पोखरामा संगठित भएको यो पहिलो हो ।

C360_2016-04-13-16-28-28-775 (1)नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रुद्रप्रसाद भट्टको समुपस्थितिमा पोखरामा बुधबार सम्पन्न भेलाले धादिङ पत्रकार समाज, पोखरा गठन गरेको छ । समाजको अध्यक्षमा रञ्जन अधिकारी सर्वसम्मत चयन भएका छन् । मूलपानी–७, धादिङ निवासी अधिकारी पोखराको आदर्श समाज दैनिक र बिग एफएममा आबद्ध छन् । सात वर्षअघि रेडियो अन्नपूर्णबाट उनले पत्रकारिता सुरु गरेका थिए । समाजको उपाध्यक्षमा बसेरी, धादिङका रमेश तिमिल्सिना, सचिवमा आगिन्चोक–३, धादिङका हरि पन्त, सह–सचिवमा नीलकण्ठ–१, धादिङका गंगालाल गुरुङ र कोषाध्यक्षमा सुनौलाबजार–२, धादिङकी मीना राना मगर चयन भएका छन् । उपाध्यक्ष तिमिल्सिना पोखराको माछापुच्छ«े एफएम, सचिव हरि पन्त गोल्डेन न्यूज दैनिक, सह–सचिव गंगालाल रेडियो लेखनाथ र कोषाध्यक्ष मीना रेडियो जननीमा कार्यरत छन् ।

यसैगरी समितिको सदस्यहरुमा धादिङ नीलकण्ठ नपाकी सफलता आचार्य, नीलकण्ठ नपा–२ की टीका थापा मगर, सुनौलाबजार–२ की दुर्गा राना मगर, ढोला–१ का अजय तामाङ, मूलपानीकी पुनम थापा मगर, चरौंदीका कुमार बस्नेत, धुँवाकोटका जय सारु मगर चयन भएका छन् । पदाधिकारी सहित १५ जना सदस्य रहने समितिमा ३ जना सदस्य पछि थप गर्ने बताइन्छ ।

समाजको प्रथम बैठकले सल्लाहकारमा मैदी–२ निवासी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रुद्र प्रसाद भट्ट, ज्यामरुङ घर भएका केदार धमलालाई मनोनित गरेको छ । साथै, समितिको पदेन सल्लाहकारमा धुँवाकोट निवासी धादिङ–पोखरा सम्पर्क समितिका अध्यक्ष झम्कबहादुर सारु मगर रहेका छन् ।

भेलामा बोल्दै प्रमुख अतिथि धादिङ–पोखरा सम्पर्क समितिका अध्यक्ष झम्कबहादुर सारु मगरले धादिङका पत्रकारहरु संगठित भएर नयाँवर्ष संगै धादिङवासीका लागि सुखद् सन्देश फैलाउन सफल भएको भन्दै खुशी व्यक्त गरे । उनले धादिङ पत्रकार समाज समितिका लागि पनि महत्वपूर्ण भएकाले समाजको रचनात्मक काममा सदैव सहयोग गर्न तत्पर रहेको बताए । ‘समाजलाई सकारात्मक ढङ्गले अघि बढाउन पत्रकारको भूमिका महत्वपूर्ण हुन्छ’,उनले भने–‘धादिङवाट पोखरामा आएर संचारमाध्यममा आवद्ध हुनु खुशीको कुरा हो । आफ्नो पेशा भन्दा अझै माथि उठेर संगठित भई अघि बढ्नु अझै स्वागतयोग्य कदम हो ।’ उनले पत्रकारमाथि हुने अपमान र आक्रमणप्रति समेत दुःख व्यक्त गरे । पत्रकार राज्यको चौथो अंग भएको र पत्रकारिता सम्मानित पेशा भएकाले आफ्नो हक अधिकारका लागि संगठित रुपमै लड्न उनले आग्रह गरे ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रुद्र प्रसाद भट्टले धादिङका पत्रकारको विचार जुनसुकै भएपनि संगठित भएर आवाज उठाउँदा विचार र वादलाई छाडेर अघि बढ्न सुझाव दिए । आफ्नो हक अधिकार, पेशा र संगठनको सुरक्षाका लागि एकतावद्ध भएर अघि बढ्न पनि उनले आग्रह गरे । उनले भने–‘धादिङका पत्रकारहरुले गलत कामलाई गलत र सही कामलाई सही भन्न सक्नुपर्छ ।’

भट्टले आफू सबै पत्रकारहरुको छाता संस्था पत्रकार महासंघमा रहेपनि धादिङका पत्रकारहरुका बारेमा अझ विशेष ढङ्गले सोच्ने स्पष्ट पार्दै रले उनले आफू जहाँ पुगेपनि आफ्नो संगठनको पहिचान नभुल्न आग्रह गर्दै पोखरामा रहेपनि धादिङ जिल्लाका गतिविधिमा समेत चासो देखाउनुपर्नेमा जोड दिए ।

पत्रकार केदार धमलाले पत्रकार समाज गठन भएकोमा खुशी व्यक्त गरे । उनले भने–‘यो काम धेरै अघि आवश्यक थियो । ढिलै भएपनि राम्रो काम भएको छ, यो सकारात्मक काम हो ।’ विभिन्न उद्देश्यले पोखरा आएका धादिङवासी संचारमाध्यममार्फत अघि बढ्नु अझ् खुशीको कुरा भएको उनको भनाई थियो ।