रुख ढलेर थिच्दा चालकको मृत्यु

363 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

तनहुँ, २५ वैशाख । शुक्रबार साँझ करिब ८ बजेको समयमा आएको हावाहुरीले रुख ढाल्दा पृथ्वीराजमार्गमा गुडिरहेको एक मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

यसरी मृत्यु हुनेमा जिल्लाको आँबुखैरेनी नगरपालिका–१ निवासी ३१ वर्षीय सोमबहादुर गुरुङ रहेका छन् ।

डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग१०प ८२६५ नम्बरको मोटरसाइकललाई तनहुँको बन्दिपुर नगरपालिका–६ नयाँ पुलमा अचानक रुख ढलेर थिच्दा गुरुङ सख्त घाइते भएका थिए ।

सख्त घाइते भएका गुरुङको डुम्रेस्थित लक्ष्मी अस्पतालमा सामान्य उपचारपछि पोखरा मणिपाल अस्पतालमा लैजाँदै गर्दा शुक्रबार राति ११ः३० बजेको समयमा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सोही मोटरसाइकलमा सवार आँबुखैरेनी नगरपालिका–१ निवासी वर्ष ३० का पारस गुरुङ सख्त घाइते भएका छन् । घाइते गुरुङको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।