वर्षासँगै गएको पहिरोले बजारै बगायो

651 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

Flood-at-surkhet_923921908फोटो :बाढी र पहिरोले बगाएको कालीकोट र दैलेखको सिमानामा रहेको दहीखोला बजार ।
कर्णाली राजमार्ग ठप्प, एकको मृत्यु, एक बेपत्ता
सुर्खेत: पहिरोसँगै आएको बाढीले दैलेख र कालीकोटको सिमानामा रहेको दहीखोला बजार बगाएको छ । भीषण वर्षासँगै पहाडबाट झरेको पहिरोले दहीखोला बजार बगरमा परिणत भएको छ । शुक्रबार साँझ असिनापानी बर्सिएपछि दहीखोलामा बाढी आएको थियो अन्नपूर्ण पोष्टमा खबर छ ।
खहरे खोलामा आएको बाढीले एकजनाको ज्यान लिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार पहिरोमा पुरिएर ३५ वर्षीया गीता थापामगरको ज्यान गएको हो । उनको शव शनिबार सुरक्षाकर्मीले निकालेका थिए । बाढी आएपछि दैलेख सिहासैन ९ का रंग विक बेपत्ता भएका छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी वीरबहादुर वलीले बताए । पहिरो र बाढीले बजारमा रहेका दैलेखतर्फका ८ र कालीकोटतर्फका सात घर बगेका छन् ।
अत्यधिक वर्षाका कारण बजारभन्दा माथि रहेको लेकबाट झरेको पहिरो र दहीखोलामा आएको बाढीले हेर्दाहेर्दै बजार बगाएको हो । बजारमा व्यवसाय गर्दै आएका व्यापारी गोकर्ण रावतले पहाडबाट खसेको पहिरोसँगै खोलामा आएको बाढी बजारमा पसेको बताए । उनले भने, ‘साँझ एकाएक ठूलो पानी पर्‌यो । माथि लेकबाट झरेको पहिरोले दहीखोला बौलायो । भाग्यले बजारका धेरैजना भाग्न सफल भयौं तर हामीले हेर्दाहेर्दै बजार बग्यो ।’
पहिरोमा छोरी गुमाएकी धनादेवी थापाले भनिन्, ‘साँझपख माथि लेकमा पहिरोको ठूलो आवाज आयो । हामी घरबाट निस्केर भाग्यौं । हामीले हेर्दाहेर्दै दैवले छोरी गीतालाई लग्यो । चाहेर पनि बचाउन सकेनौं ।’ बजार नै बगेपछि स्थानीय बासिन्दा बिचल्लीमा परेका छन् । सडकमा काम गर्न पुगेका मजदुर र स्थानीय बासिन्दा गरी एक सयभन्दा बढीले भागेर ज्यान बचाएका थिए ।
मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका अनुसार पहिरोका कारण कर्णाली राजमार्गलाई क्षति पुगेको छ । राजमार्गअन्तर्गत धेरै ठाउँमा सडक पुरिएको छ । शुक्रबारबाट कर्णाली राजमार्गमा यातायात सेवा ठप्प छ । सडकको पहिरो हटाउन केही दिन लाग्ने प्रहरीले जनाएको छ । यातायात अवरुद्ध भएपछि सुर्खेतबाट जुम्लाका लागि छुटेका र जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेका दर्जनांै सवारीसाधन र यात्रु अलपत्र परेका छन् ।
मध्यपश्चिमका प्रहरी प्रमुख डीआईजी माधव नेपालले एक्कासि आएको बाढी र पहिरोबाट करोडौंको क्षति पुगेको बताए । साँझमै भएकाले बजार बगे पनि मानिस भने भाग्न सफल भएको उनले बताए । ‘राति भएको भए ठूलो मानवीय क्षति हुने रहेछ’, नेपालले भने, ‘बजारका घर बगेका छन् । हालसम्म एकजनाको मृत्यु भएको र एकजना बेपत्ता भएको पाइयो ।’
क्षेत्रीय प्रहरी कार्यालयका अनुसार कालीकोट र दैलेखबाट प्रहरी र नेपाली सेनाले दहीखोलामा उद्धारकार्य जारी राखेका छन् । घटनास्थल पुगेका दैलेखका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले खोला सानो भए पनि पहाडबाट ठूलो पहिरो खसेका कारण बजार नै बगेको बताए । उनका अनुसार बजारका अधिकांश घर बगेका छन् भने केही घर पुरिएका छन् ।
पहिरोले कर्णाली नदी आधा मिटर थुनिएको स्थानीय बासिन्दाले बताए । बाढीले दुईवटा ट्याक्टर र एउटा मोटरसाइकल पनि बगाएको छ । कर्णाली राजमार्ग सञ्चालनमा आएपछि दहीखोला बजार बनेको हो ।