राष्ट्रिय गानका संगीतकार अम्बर गुरुङ रहेनन्

893 पटक पढिएको

२५ जेष्ठ २०७३, मंगलवार ०५:१८ सम्पादक: धादिङ न्यूज

image नेपाली राष्ट्रिय गानका संगीतकार तथा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति अम्वर गुरुङको ७९ बर्षको उमेरमा मंगलबार निधन भएको छ।

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका पब्लिक रिलेसन म्यानेजर विनोद अधिकारीले सघन उपचार कक्ष (आइसियू) मा उपचाररत गुरुङको राति दुई बजेर ३७ मिनेटमा निधन भएको पुष्टि गरे।

खानेकुरा खानेबित्तिकै बान्ता भइहाल्ने समस्या भएपछि गुरुङलाई गत सोमबार अस्पताल ल्याइएको थियो। गुरुङको उपचारमा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका क्रिटिकल केयर मेडिसिनका चेयरम्यान तथा इन्टरनल मेडिसिनका कन्सल्ट्यान्ट फिजिसियन, पल्मोनोलोजी तथा क्रिटिकल केयर बिशेषज्ञ प्रा.डा. अर्जुन कार्कीको टिम सँगै कन्सल्ट्यान्ट ग्याष्ट्रो इन्टेरोलोजिष्ट डा. बिबेक शर्मा, कन्सल्ट्यान्ट न्युरोलोजिष्ट डा. राजु पौडेल लगायतका डाक्टरहरु संलग्न थिए।

लामो समयदेखि मधुमेह उच्च रक्तचाप तथा पार्किन्सन्सको उपचार गराइरहेका गुरुङलाई गतसाता एस्पिरेसन न्युमोनिया, पेट तथा अन्न नलिको रक्तश्राव (युजिआई ब्लिडिङ) को उपचारकालागि भर्ना गरिएको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले जानकारी दिए।