गजुरीमा फोहोर व्यवस्थापन अभियान थालिने

418 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

2 (4)गजुरी- बढ्दो शहरीकरण, जनसंख्याको चाप र आधुनिकतासंगै बढेको फोहोर व्यवस्थापनको लागि सरोकारवालाहरुबीच अन्तक्र्रिया गरिएको छ ।
गजुरी गाउँ विकास समितिको कार्यालयसंगको सहकार्यमा सहायता नेपालले दिगो फोहोर व्यवस्थापनको लागि अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको हो । बजार तथा नदी क्षेत्रमा दिनानुदिन बढ्दै गएको फोहोरमैला व्यवस्थित गर्न नसक्दा मानव स्वास्थ्यमा पर्न सक्ने संभावित खतराबाट मुक्त गराउँदै गजुरी नमूना गाविसलाई सरसफाईको क्षेत्रबाट पनि नमूना गाविस बनाउने लक्ष्य सहित फोहोर व्यवस्थापन अभियान थालिएको गाविस सचिव मनचन्द्र धरालाले बताउनुभयो ।
फोहोर व्यवस्थापनको दिगोपनाका लागि पुनःप्रयोगलाई प्रवद्र्धन गर्दै फोहोरलाई मोहोरमा परिणत गराउने तर्फ ध्यान दिनुपर्ने अन्तक्र्रितामा सहभागी राजनीतिक दल र नागरिक अगुवाहरुले सुझाव दिएका छन् ।
फोहोरको दिर्घकालिन व्यवस्थापनको लागि फोहोरमैला प्रशोधन केन्द्र निर्माण गरीने र कुहिने र नकुहिने फोहोर छुट्याएर त्यसको व्यवस्थापन गरिने सहायता नेपाल गजुरीका अध्यक्ष राजकुमार गिरीको भनाई छ । स्थानीय सरोकारवालाहरुसंगको समन्वय र गाविसको सहकार्यमा तत्कालको लागि गजुरी बजार र आसपासको फोहोर व्यवस्थापन गरिने छ ।
गजुरी र यस आसपासका क्षेत्रका नदी , नाला ढलमा परिणत हुन नदिन स्थानीयकै सक्रियतामा अभियानको रुपमा गाउँ शहर सरसफाई अभियान चलाइने सहायता नेपालका कार्यकारी निर्देशक लक्ष्मण रेग्मीले जानकारी दिनुभयो ।