पहिरोमा थुनिएका १४ को उद्धार

502 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

असार १९, २०७३-

  • ‍अशक्तहरूको उद्धार हुन सकेन
  • खाद्यान्नलगायत राहत सामग्री पुर्‍याइने
  • २ गाविसका ७ बस्ती स्थानान्तरणको पहल

पहिरोमा थुनिएका २१ मध्ये १४ जनाको शनिबार उद्धार गरिएको छ । रीगाउँ ९ चेप्राङ बस्तीमा चारैतिर पहिरो आएर २१ जना स्थानीयवासी १६ गते रातिबाट बस्तीमै थुनिएका थिए ।

Rigaun_9_cheprang-768x512प्रहरी हवल्दार रुद्रबहादुर कुम्हाल र जवान सन्दीप कुुम्हालले आइतबार बिहान ८ बजेबाट २ बजेसम्म १४ जनालाई भीरबाटै हिँडाएर जोखिमपूर्ण ढंगले उद्धार गरेका हुन् । हिँड्न नसक्ने ४ बालक र तीन जना अपांगलाई बस्तीकै सुरक्षित स्थानमा राखिएको एसएसपी शरदकुमार खत्रीले बताए । उद्धार गरिएकालाई ३ घण्टाको समय लगाएर रीगाउँ ७ स्थित ताजिम्ब्राङ ल्याइपुर्‍याइएको उनले जानकारी दिए ।
अशक्तमध्ये ७६ वर्षीय नीम लामा र बुद्धिमाया तामाङ बिरामी भएको, १० वर्षीय सुजीता तामाङ र दिनेश तामाङ अपांग रहेकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । उद्धारमा खटिएका प्रहरी हवल्दार कुम्हालले फोनमा भने, ‘भीरमा बामे सर्न नसक्ने र डर मान्नेबाहेक अरू सबैलाई सुरक्षित रूपमा ल्यायौं, सरसामान सबैले रित्ता घरमै छोडेका छन् ।’
प्रजिअ विश्वप्रकाश सुवेदीले शनिबार दिनभर बसेको जिल्ला दैवीप्रकोप व्यवस्थापन समितिको आपतकालीन बैठकले सबै परिवारलाई रीगाउँ ४ स्थित मेलेडाँडामा सेनाले निर्माण गर्न थालेको सामूहिक आवासमा तत्काल व्यवस्थापन गर्ने निर्णय गरेको थियो इकान्तिपुरले समाचार  लेखेको छ ।
यस्तै जिल्ला दैवी प्रकोप व्यवस्थापन समितिले गत वर्षको भूकम्प र त्यसपछिका परकम्पले बसोबासका लागि अत्यन्त जोखिम मानिएका लापा र रीगाउँका ७ बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने निर्णय गरेको छ ।
लापा २ का चपाङचेत र छुद्राङ, रीगाउँका ग्रामाङ, चेप्राङ, अन्डर र करङ गाउँका ४ सय घरधुरीलाई तत्काल सुरक्षित स्थान खोजी गरी स्थानान्तरणको निर्णय गरेको हो । स्थानीय विकास अधिकारी भगवान अर्यालको संयोजकत्वमा स्थान पहिचान, खोजी र छनोट गर्ने निर्णय भएको छ ।