आज इद इद उल फित्र मनाइँदै

533 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 काठमाडौँ : मुस्लिम धर्मालम्बीहरूले बिहीबार पवित्र चाड इद उल फित्र मनाउँदै छन्। मुस्लिम धर्मालम्बीहरूले एक महिना लामो रमादान पर्व(रोजा) पुरा भएको खुसियालीमा इद उल फित्र मनाउने गर्छन्।  करिब एक महिना कठिन ब्रत गर्दै विभिन्न इस्लामिक ग्रन्थ पाठ गरी बस्ने प्रचलन रहेको छ । उक्त समयमा नराम्रा काम गर्न नहुने र नराम्रा कुरा सुन्न र हेर्न पनि नहुने कडा नियम छन्। रमादान महिना गरिब, दीनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट अल्लाहले इस्लाम धर्ममा यस महिनाको विशेष व्यवस्था गरेको मानिन्छ। इद उल् फित्रका अवसरमा एक आपसमा खुसियाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ। यो दिनमा मुस्लिम समुदायहरू पवित्र भइ नयाँ नयाँ सफा पवित्र लुगा लगाई मस्जिदमा गएर नमाज पढने परम्परा रहेको छ।  मुस्लिम समुदायको पवित्र पर्व ईदउल फित्रको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

ready-for-eid_7yy3REIF5Lयस्तै, इदका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली इस्लाम धर्मावलम्बी दिदी बहिनी तथा दाजुभाइमा सुखशान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छन्। धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा मनाइने इद उल फित्रजस्ता विशेष पर्वले देशभित्र बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषी र समुदायबीच आपसी मेलमिलाप, सद्भाव र भाइचाराको प्रवद्र्धन गर्दै आफ्ना ऐतिहासिक एवम् मौलिक संस्कृति र परम्पराको संरक्षण तथा सम्वद्र्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याएको राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा उल्लेख गरेकी छन्।  यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीको महान् पर्व इदुल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहेका मुस्लिम समुदायका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।  प्रधानमन्त्रीले शुभकामना सन्देशमा यस पर्वले हामी सम्पूर्ण नेपालीमा शान्ति, समृद्धि, भ्रातृत्व, सद्भाव, सहिष्णुता र एकताका लागि प्रेरणा प्रदान गरोस् भनी शुभेच्छा व्यक्त गरेका छन्। विभिन्न धर्म, संस्कृति, वेषभूषा, रहनसहन र पहिचानको विविधताले हाम्रो मुलुक सुसज्जित रहेको र यहाँका हरेक जातजातिका आ–आफ्नै मौलिक संस्कृति र पहिचान रहेको प्रधानमन्त्री कार्यालयद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

हामी नेपालीले सदियौँदेखि एकअर्का समुदायका धर्मसंस्कृति र परम्पराको सम्मान गर्दै आएका र इतिहासदेखि कायम रहँदै आएको हामीबीचको सद्भावयुक्त संस्कृतिको निरन्तरता आवश्यक रहेको सन्देशमा उल्लेख गरिएको छ। उपराष्ट्रपति नन्दबहादुर पुनले इस्लाम धर्माबलम्वीहरूको महान् पर्व इद (इद उल फित्र)को अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण इस्लाम धर्माबलम्बीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।  इदका अवसरमा शुभकामना सन्देश दिँदै उनले यस पर्वको माध्यमबाट नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अझ बलियो बनाउन नेपालका सम्पूर्ण जातजाति, भाषाभाषी र धर्म संस्कृतिका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गरेका छन् थाहा खबरले समाचार लेखेको छ ।