धादिङमा असार महिनामा मात्रै २४ करोड खर्च

591 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

श्रावण २, २०७३- अघिल्लाे ११ महिनामा विकास बजेटबाट ६२ करोड खर्च गरेको जिल्ला विकास समिति र सो अन्तर्गतका कार्यालयहरुले आर्थिक वर्षको अन्त्यमा २४ करोड खर्च गरेको पाइएको छ । गत आर्थिक वर्षमा जिल्लामा प्राप्त पुँजिगत खर्चका लागि प्राप्त ८० करोड ४९ लाख मध्य जेठ मसान्त सम्म ३४ करोड ८९ लाख मात्र खर्च भएको थियो इकान्तिपुरमा समाचार छ ।

‘आर्थिक वर्षको अन्त्यमा धेरै कार्यक्रमको सम्झौता र भुक्तानी हुनाले असारमै धेरै बजेट परिचालन भएको देखिन्छ,’ जिल्ला स्थित कोष तथा लेखा नियन्त्रक यज्ञप्रसद ढकालले बताए । जिल्लामा गत आर्थिक वर्ष करिव १७ करोड रकम फिर्ता गएको छ भने ५२ करोड रुपैयाँ प्रशाासनिक खर्च भएको छ । गत वर्ष ३० करोडमा ८ करोड रकम फ्रिज भएको थियो । यसपाली भूकम्पकै कारण पुनर्निर्माणले बजेट वृद्धि गरेको कोष तथा लेखा नियन्त्रक ढकाल बताउँछन् ।

विकास निर्माणको मुल्यांकन र अनुगमन नभएरै रकम भुक्तानी दिने परम्पराले उत्तरी भेगमा अधिकांस योजनाहरु निर्माण नै नभए पनि भुक्तानी हुने गरेका छन् । सदरमुकाममै बसेर उपभोक्ता समितिको निर्माण लगायत सम्पुर्ण कागजातहरु तयार हुने गरेका छन् । आर्थिक वर्षको अन्तिममा उपभोक्ता समितिहरु सँगको सम्झौता र भुक्तानी प्रकृयाले ग्रामिण सडक निर्माण, मर्मतसँगै योजनाहरु वर्षातका कारण प्रयोग गर्न कठिन हुने गरेको छ ।